अमेरिकाको न्यूयोर्क मा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु

अमेरिकाको न्यूयोर्क मा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु

बिबिसी । अमेरिकाको न्यूयोर्क राज्यको बफलो सहरमा एक १८ वर्षीय किशोरले अन्धाधुन्ध गोली चलाउँदा एउटा सुपरमार्केटमा १० जनाको मृत्यु भएको छ। प्रहरीले घटनास्थलबाटै किशोरलाई पक्राउ गरिसकेको छ। प्रहरीले उनको नाम खुलाएको छैन।

कुल १३ जनालाई गोली लागेकोमा अधिकांश व्यक्ति अश्वेत समुदायका भएको बफलोका प्रहरी प्रमुखले बताएका छन्। उक्त घटनालाई जातीय रूपमा प्रेरित घृणायुक्त अपराधको रूपमा अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार ती किशोरले आफूले गरेको आक्रमण अनलाइनमा प्रत्यक्ष प्रसारण गर्न क्यामराको प्रयोगसमेत गरेका थिए।

पत्रकार सम्मेलनमा एफबीआईको बफलो कार्यालयका प्रमुख स्टीभन बेलोङ्गियाले घटनालाई घृणा फैलाउने अपराध र जातीय रूपले प्रेरित हिंसक अतिवादजस्ता दुवै पक्षबाट हेरी अनुसन्धान गरिरहेको बताएका छन् ।

ती सन्दिग्ध कैयौँ घण्टा सवारी चलाएर उक्त सहरस्थित अश्वेत समुदायको बाहुल्य रहेको क्षेत्रमा पुगेका थिए।

उक्त सुपरमार्केटमा सुरक्षाकर्मीको रूपमा काम गर्ने एक सेवानिवृत्त प्रहरीले ती सन्दिग्ध आक्रमणकारीलाई गोली हान्ने प्रयास गरेका थिए। तर सन्दिग्ध आक्रमणकारीले हानेको गोली लागेर उनको मृत्यु भयो।

सन्दिग्ध आक्रमणकारीले निकै शक्तिशाली राइफल बोक्नुका साथै शरीरमा गोली छेक्ने कवच र हेल्मेट लगाएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रतिकार गरेपछि उनले आफ्नो हतियार समर्पण गरेका थिए।उनीविरुद्ध हत्याका अभियोगहरू लगाइएको छ। उनलाई स्थानीय समयानुसार शनिवार अबेर अदालतमा पेस गर्न लागिएको छ।

उनी‍विरुद्ध थप अभियोगहरू लगाउन सकिने एक सरकारी वकिलले बताएका छन्।

घटना हुँदा सुपरमार्केटमा काम गरिरहेकी शनेल ह्यारिसका अनुसार उनले ७० पटकभन्दा गोली चलेको सुनेकी थिइन्।

न्यूयोर्कका गभर्नरले सन्दिग्ध आक्रमणकारी आतङ्कवादी गतिविधिमा संलग्न एक श्वेत सर्वोच्चतावादी भएको बताएका छन्।

राष्ट्रपति जो बाइडनलाई घटनाबारे जानकारी दिइएको ह्वाइट हाउसले जनाएको छ।

[email-subscribers-form id="2"]
TOP