यात्रुको दुर्व्यवहार भोगेका नेपाली उबर ड्राइभर शुभाकर खड्काका लागी २३ हजार डलर

यात्रुको दुर्व्यवहार भोगेका नेपाली उबर ड्राइभर शुभाकर खड्काका लागी २३ हजार डलर

अमेरिकाको सान फ्रान्सिस्कोमा यात्रुको दुर्व्यवहार भोगेका नेपाली उबर ड्राइभर शुभाकर खड्का का लागी जनस्तरवाटै सहयोग उठाउन थालिएको छ। उनका लागि २० हजार अमेरिकी डलर उठाउने अभियान चलेको थियो। बुधबार बिहानसम्म २३ हजार डलरभन्दा बढी रकम उठिसकेको छ।

गोफन्डमी डट ‌ओआरजी मार्फत् उनका लागि सहयोग उठाउन थालिएको हो। खड्का अहिले पनि तनाव डरमा रहेकाले उनी काममा फर्किन नसक्ने भएकाले सहयोग गर्न आग्रह गरिएको छ।

उनको गाडीमा चढ्न आएका तीन जना महिलामध्ये एकले मास्क लगाएकी थिइनन्।

मास्क नलगाएकी उनलाई खड्काले मास्क लगाउन भने। मास्क किन्न उनले एउटा ग्यास स्टेशनमा गाडी रोके।

उबरको मापदण्डअनुसार हरेक यात्रुले मास्क अनिवार्य लगाउनु पर्छ।

ती महिला यात्रुले भने मास्क लगाउन अस्वीकार गर्दै खड्कामाथि हातपात गरेकी थिइन्। उनले खड्काको फोन खोस्नुका साथै मास्क पनि निकालिदिएकी थिइन्।

आठ वर्षअघि अमेरिका गएका ललितपुरका खड्का सानफ्रान्सिस्को शहरमा गत आइतबार यात्रुको दुर्व्यवहारमा परेका थिए।

https://fb.watch/48q1G735-4/

यात्रुले दुर्व्यवहार गरेपछि खड्काले उनीहरूलाई गाडीबाट निकालिदिएका थिए। गाडीबाट निस्कने बेलामा ती यात्रुहरूले पिपर स्प्रे छर्केको समेत अमेरीकन संचारमाध्यमहरुले बताएका छन् ।

उबर र अर्को राइड सेयरिङ कम्पनी लिफ्टले ती यात्रुहरूलाई आजीवन आफ्नो कम्पनीको सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएका छन्।

एसियाली मूलका भएकाले खड्कामाथि हातपात भएको भन्दै अहिले यो घटनाले संसारभरि चर्चा पाइरहेको छ।

सानफ्रान्सिस्को प्रहरीले खड्कामाथि भएको हातपातको अनुसन्धान भइरहेको जनाएको छ।

पछिल्लो समय अमेरिकामा एसियन र अन्य आप्रवासीमाथिको दुर्व्यवहार बढ्दै गएको छ। केही दिनअघि सानफ्रान्सिस्कोमै एक जना एसियाली मूलका ९१ वर्षका वृद्धलाई पनि दुर्व्यवहार भएको थियो।

[email-subscribers-form id="2"]
TOP