दुधको राजधानीः हडिया गाउँ

दुधको राजधानीः हडिया गाउँ

उदयपुरको हडिया गाउँ, अचेल दुधको राजधानी जस्तो बनेको छ । अहिले वर्षेनी कम्तीमा तीन देखि चार करोड बराबरको दुध हडिया गाँउमा उत्पादन भइरहेको छ । यहाँको दुध उत्पादनमा मुख्य भुमिका खेल्ने सहकारी हो, जनउत्थान पशु तथा कृषि सहकारी । यो सहकारीको दुग्ध उत्पादन तथा बजारको अवस्था लोभलाग्दो छ ।

श्री जनउत्थान पशु तथा कृषि सहकारी संस्थाको स्थापना २०७३ सालमा भएको थियो । यस सहकारीका अध्यक्ष धमेन्द्र कुमार खड्का हुन् । यो सहकारीले मुख्य रुपमा दुग्ध संकलन केन्द्रको काम गर्दै आएको छ । हडिया गाउँमा जनउत्थान पशु तथा कृषि सहकारी निकै लोकप्रिय छ । यही सहकारीकै कारण धर्मेन्द्रले भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा सहजै वडा अध्यक्षसमेत जितेको बताउँछन् ।

सहकारीमा छलफल

कृषि सहकारीको सुरुवात गर्नुअघि यस गाउँमा व्यवसायिक कृषि सुरु नै गरिएको थिएन । अहिले व्यवसायिक कृषि ह्वात्तै बढेको छ । अध्यक्षका अनुसार सहकारी स्थापना गरेको एक वर्ष के गर्ने भन्नेमा निकै अलमल थियो । अध्यक्ष धर्मेन्द्र खड्काका अनुसार दुध उत्पादन गरेर बेच्ने लक्ष्यसहित सहकारीले व्यवसायिक पशुपालन सुरु ग¥यो । तर सहकारीले दुधका लागि बजार पाएन ।

एकातिर त्रियुगा नदीका कारण बर्षामा बाढी पहिरोको चपेटामा हडिया गाउँका बासिन्दाहरु सालीन्दा त्राहीमान् भएर बाँच्नुपर्छ । मध्यपहाडको यस क्षेत्रका मानीसहरु हिउँदमा त्रियुगाले सताउँदैन भनेर मात्र गाउँ छोड्न सक्दैनन् । बर्षेनी त्रियुगा नदीमा आउने बाढीको दुख खेप्नु यहाँका मानिसहरुको नियती नै बनेको छ । अर्कोतिर दुध विक्रि गर्न राजविराजसम्म सहकारीको टोली पुग्यो तर दुध विक्रि हुँदैन । बर्सौदेखि खेपीरहेको बाढी पहिरोको पीडामा घर व्यवहार चलाउने दुधले बजार नपाउँदा थपिएको दुखले उनीहरु निराश थिए ।

त्यसपछि उनीहरुले नगरपालिकाका मेयर दुर्गा थापासँग दुखको पोको फुकाए । उनै मेयरले ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) सँग जोडिदिए । त्यसपछि समृद्धि आयोजनको मुख्य कार्यलय इटहरीमा धर्मेन्द्र आफैले सम्पर्क गरे ।
समृद्धि आयोजना नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) बीच सन् २०१५ को डिसेम्बरमा सम्झौता भई कार्यान्वयनमा आएको हो ।
आयोजनाले सहकारीलाई उन्नत जातको घाँस र प्राविधिक सहयोगका लागि ८ लाख रकम अनुदान दियो । ऋणका लागि सहजिकरण गरिदियो र दुध प्रशोधनका लागि आवश्यक प्रविधि जुटाउनसमेत मद्दत गरिदियो ।

समृद्धि आयोजनाको सहजिकरणमा सहकारीले कृषकहरुको समूह निर्माण ग¥यो । समृद्धि आयोजनाले नै लक्ष्मी बैंकबाट सस्तो व्याजमा ४० लाख कृषि ऋण मिलाइदिने काम ग¥यो ।उक्त ऋण पशुपालन गर्न चाहने किसानहरुलाई प्रवाह गर्नुपर्ने थियोे । त्यसका लागि उनीहरुले गौरिगोसाइ पशुपालन कृषक समूह गठन गरे । पाँच जना किसानको एउटा समूह बनाएर जर्सी गाईका लागि ८० हजार र भैंसीका लागि ९० हजारका दरले ऋण प्रवाह गरियो ।

समृद्धि आयोजना उदयपुर हेर्ने फिल्ड स्टाफ रजनी दनुवारका अनुसार एउटा किसानले दुईवटा गाई वा भैंसी पाल्नै पर्ने योजना बन्यो । त्यतिवेला सहकारीले नस्ल सुधारिएका २० वटा गाई खरिद गरेको थियो । व्यवसायिक रुपमा गाईभैंसी पालन सुरु गरेपछि दुध धेरै उत्पादन भयो ।
सुरु सुरुमा दुधको बजारिकरणको समस्या थियो । उनीहरुले थुप्रै दुख भोगे । त्यो समयमा दिनको ४० लिटर दुध विक्रि गर्न पनि कठिन थियो । अहिले समृद्धि आयोजनाले दुधको बजारका लागि सहजिकरण गरिदिएको छ । अध्यक्ष खड्काका अनुसार यो वर्ष सहकारीले धरानमा मात्र एक करोडको दुध विक्रि गरेको छ ।

अहिले दुध बेचेरै यो सहकारीकामात्रे बार्षिक आम्दानी एक करोडभन्दा बढी छ ।

यस क्षेत्रमा अहिले अन्य समूहले पनि दुध उत्पादन र विक्रि गरिरहेका छन् । त्रियुगाका सहकारी र अन्य समूहले गरेको वार्षिक कारोबारलाई जोड्ने हो भने ३ करोड ५० लाख रुपैया बराबरको दुध विक्रि भएको अध्यक्ष बताउँछन् । यसरी दुधको सहज बजारले गाउँमा गाई र भैँसी पालन बढेको छ । गाईभैँसी पालनको बृद्धिले गोठे मल बढाएको छ । गोठे मल बढ्दा गाउँमा तरकारी, फलफुल र मुख्य बालीको उत्पादनसमेत बढेको छ । गाउँका किसानहरुको अर्थतन्त्रमा धेरै सुधार आएको छ ।
“बाह्रै महिना एकैनासले दुध विक्रि हुँदैन । दुध विक्रि नहुने सिजनलाई मिल्क होलिडे भनिन्छ । त्यस्तो मिल्क होलिडेको सिजनमा दुधलाई चिज र छुर्पी बनाएर बेच्ने गरेका छौँ ।” सहकारीका प्रबन्धक बिनोद कुमार रावतले भने ।

प्रबन्धक रावतका अनुसार अहिले यो सहकारीले दुग्ध किसानहरुको दुध संकलन गरेर बजारिकरण गर्ने काम गरिरहेको छ । दुग्ध उद्योग संचलन र किसानको ‘दुधको भ्यालु चेन्ज’ गरेर विक्रि गर्ने प्रवन्धका लागि सरकारले अनुदान सहयोग गरिदिने हो भने दुग्ध किसानले अहिलेभन्दा धेरै लाभ प्राप्त गर्ने देखिन्छ ।

सहजकर्ता मिना बञ्जाराका अनुसार अब कृषि क्षेत्रमा क्रान्ति ल्याउने हो भने सामूहिक र सहकारी कृषिको बाटो हिड्नुको विकल्प छैन । यसमा राज्यको प्रत्यक्ष सहयोग भने चाहिन्छ । राज्यले बाँडिरहेको कृषि अनुदान जनउत्थानजस्ता सहकारीहरुले सहजै पाउने प्रक्रिया के हो ? वास्तविक किसानले सहजै पाउने प्रक्रिया के हो ? यतातिर राज्यको ध्यान जान आवश्यक छ ।
मिना बञ्जारा समृद्धि आयोजनाले संचालन गर्ने फिक—१ तालीमकी सहजकर्ता हुन् ।उनि आफुले सकेका कुरा सहकारीका सदस्यहरुलाई सिकांउदै आएकी छन् ।

तर अधिकांश सहकारी पैसा लगानी गरेर व्याज खाने बाटोमा तीव्र गतिमा अग्रसर छन् । कृषि हाम्रो मुलुको समृद्धिको आधार हो । कृषि क्षेत्रको समलिकरण नगरी हामी समृद्धिको बाटोमा जानै सक्दैनौं । यसमा कृषि सहकारीको भूमिका महत्वपूर्ण हुन्छ ।

यसै कुरालाई पशुपालक किसानहरुलाई जोड्न समृद्धीको दुध आपूर्ती श्रृंखला हडियाँ गांउमा अग्रसर छ । कृषि उत्पादनको वृद्धि गर्ने, उत्पादित कृषि उपजको प्रशोधन, औद्योगिकरण र बजारीकरण गर्ने लक्ष्य लिएको छ । यस्तो अवस्थामा जनउत्थान पशु तथा कृषि सहकारीले उदाहरणीय प्रयास गरिरहेको छ ।

[email-subscribers-form id="2"]
TOP