एआई तस्बिर
काठमाडौ/ सुदूरपश्चिमका एमाले र कांग्रेस उम्मेदवारहरु आफ्ना सुप्रिमोलाई ल्याउन डराएपछि प्रदेश र जिल्ला तहका आमसभा नै भएनन् । कांग्रेसले देउवा पक्ष रिसाउने भएकोले गगनलाई बोलाएनन् भने, एमालेले भोट घट्ने भएपछि केपी शर्मा ओली बोलाएनन् । आज रातिदेखि मौन अवधी सुरु भएकोले अब सभा, जुलुस गर्न मिल्दैन ।
सुदूरपश्चिमका नौ जिल्लामा १६ निर्वाचन क्षेत्र छन् । गगनलाई ल्याउँदा पूर्व सभापति शेरबहादुर देउवा र उनका समर्थक भड्किने डर कांग्रेस उम्मेदवारमा थियो ।
चार जना कार्यकर्ता बस्दा पनि ओलीको फोटो टाँस्ने एमाले प्रवृत्ति सुदूरपश्चिममा अन्त्य भएको छ । जताततै तस्बिर टाँस्ने प्रवृत्ति अतिवाद थियो, अति गर्दा खति हुन्छ भने झैं अहिले भएको छ ।
सुदूरपश्चिमतिर सबैभन्दा बढी चुनाव अछाम क्षेत्र नम्बर १ लाई लागेको देखिन्छ । त्यहाँ तारा चिह्नबाट नेकपा उम्मेदवार डा. भीमबहादुर रावलले चुनावी माहोल सृजना गर्न सफल भएका छन् । रावल जता जान्छन्, त्यहाँ सर्वसाधारणको उपस्थिति बाक्लो हुन थालेको छ ।
यसले गर्दा एमाले कांग्रेसलाई भोट हाल्न जान्छ कि भन्ने चर्चा चर्को छ । झपट बोहरा, कृष्णप्रसाद जैशी लगायतलाई रावल हार्नैपर्ने दबाब छ ।
अछाम–२ मा कांग्रेसका पुष्पबहादुर शाह र रास्वपाका भूपदेव शाह एउटै परिवारका भएकाले भोट काटिने बुझाइ एमालेका यज्ञ बोगटी र नेकपाका बलबहादुर कुँवरको छ । कुँवर चुनाव लड्न नै कांग्रेसबाट नेकपा भएका हुन् ।
बाजुरामा नेकपाका प्रकाश शाह र रास्वपाका हेमराज थापाले कांग्रेस र एमाले कसको बढी भोट काट्छन् त्यसअनुसार जीत हार हुने अवस्था छ । बाजुरामा एमालेले ०७४ को प्रतिनिधिसभा सदस्य तथा ०५४ का जिविस सभापति लालबहादुर थापा र कांग्रेसले ०५६ का प्रतिनिधिसभा सदस्य जनक गिरीलाई उठाएको छ ।
बझाङमा पनि रास्वपाले कसको बढी भोट काट्छ भन्ने अनुमान गर्न सकिएको छैन । एमाले उम्मेदवार ऐनबहादुर महरलाई दलित भोट नआउने भएकाले आफूहरु जित्ने दाबी कांग्रेस र नेकपाका उम्मेदवारको छ । एमालेले अफिलाल उखेडालाई दिएको उम्मेदवारी खोसेर फेरि महरलाई दिएका कारण दलित समुदाय भड्किएको चर्चा छ ।
बैतडीमा पनि रास्वपाकै कारण परिणाम एमाले वा कांग्रेस कता जाला अन्योल छ । त्यहाँ लोकेन्द्रबहादुर चन्दका छोरा भूपेनलाई राप्रपाले र एमालेबाट ०५४ मा सभापति भएका प्रमानन्द भट्टलाई नेकपाले उठाएको छ । एमालेका दामोदर भण्डारी लगातार चौथो पटक जित्ने प्रयासमा छन् भने कांग्रेसका चतुरबहादुर चन्द पहिलो पटक मैदानमा छन् ।
दार्चुलामा एमालेका गणेश ठगुन्ना जित्नेमा ढुक्क छन् । कांग्रेसले पहिलो पटक धर्मानन्द जोशीलाई उठाएको छ । दार्चुलामा राप्रपाका राजेश चन्दले पनि एमाले, कांग्रेस र नेकपाका लक्ष्मण जोशीको कति भोट काट्छन् भन्नेमा चुनावी माहोल घुमेको छ ।
यस्तैगरी सात पटक शेरबहादुर देउवाले जितेको डडेल्धुरामा उनको कुरा स्पष्ट नहुँदा कांग्रेस उम्मेदवार नैनसिंह महर तनावमा छन् । देउवाले रास्वपाका डा. ताराप्रसाद जोशीलाई मन पराउँछन् तर रवि बालेनका कारण सहयोग गर्ने सम्भावना हुन्न कि भन्ने चर्चा छ । कांग्रेस, माओवादी र समाजवादीबीच गठबन्धन हुँदा ०७९ मा तत्कालीन समाजवादीबाट प्रदेश सभाको उम्मेदवार बनाउने देउवाको चाहना थियो तर कांग्रेसका महर, जिल्ला सभापति भीमबहादुर साउद र गोविन्द बोहराले नमान्दा तारा स्वतन्त्र उम्मेदवार भएर जितेका थिए ।
देउवाको स्पष्ट सन्देश नआउँदा डा. जोशी, एमालेका चक्र स्नेही र नेकपाका मानसिंह माल आफैं जित्ने भनिरहेका छन् ।
डोटीमा पनि भरत खड्कासँग कांग्रेसकै गहिरो असहमति देखिएको छ । त्यहाँ कांग्रेसको भोट रास्वपाले लिने भएकाले आफूहरु जित्ने दाउमा एमाले र नेकपा छन् । डोटीमा एमालेले अखिलका केन्द्रीय अध्यक्ष दीपक धामी र नेकपाले पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलाई उठाएको छ ।
कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र रहेकोमा १ र ३ एमाले सहजै जित्नेमा ढुक्क देखिन्छ । ती क्षेत्रमा कांग्रेसले नयाँ अनुहार उठाएको छ । त्यसैमा रास्वपाले कसको बढी भोट काट्ने भन्नेमा चुनावी नतिजा प्रभावित हुने देखिन्छ ।
कञ्चनपुर १ मा प्रदेश मन्त्री भइसकेका र ०७९ मा गठवन्धन उम्मेदवारलाई हराएर प्रतिनिधिसभा जितेका तारा लामा तामाङ ढुक्क छन् । त्यहाँ नेकपाकी वीना मगर पनि उम्मेदवार छिन् । कांग्रेसका गोपी उपाध्याय र कञ्चनपुर ३ मा एमालेका डा. दीपक भट्ट उठेका छन् । त्यहाँ कांग्रेसले हरिप्रसाद बोहरालाई टिकट दिएको छ ।
२ मा पटकपटक मन्त्री भएका कांग्रेसी एनपी साउदलाई एमालेका बचनबहादुर सिंह, नेकपाका माधव पन्त र रास्वपाका दीपक बोहराले टक्कर दिइरहेका छन् । सो क्षेत्रमा साउद, सिंह, पन्त र बोहरा जो पनि जित्न सक्ने अवस्था छ ।
कैलालीका पाँच क्षेत्रमा पनि मिश्रित परिणाम आउने देखिन्छ । १ र ३ मा नेकपालाई कांग्रेसले टक्कर दिएको देखिन्छ । १ मा रेशमलाल चौधरीले आफ्नै स्वतन्त्र उम्मेदवारलाई बोके जित्छु भन्नेमा एमालेका द्वारिकाप्रसाद न्यौपाने देखिन्छन् । नेकपाले रामलाल डगौरा र ३ मा वीरमान चौधरीलाई उठाएको छ । कांग्रेसले १ मा जनक चौधरी र ३ मा भीमबहादुर बडुवाललाई टिकट दिएको छ ।
क्षेत्र नम्बर २ र ४ मा एमालेका क्रमश सूर्यबहादुर थापा र उपमहासचिव लेखराज भट्ट जित्ने आकलन गरिएको छ । २ मा रेशमको नागरिक उन्मुक्ति नेपालका पतिराम चौधरीले कडा टक्कर दिएका छन् भने कांग्रेसका विजय स्वाँर पनि मै जित्छु भनेर हिँडेका छन् । ४ मा लेखराजलाई कांग्रेसका गोरख (आनन्द) विष्ट र नेकपाका हरि चौधरी उत्सवले टक्कर दिइरहेका छन् ।
५ मा घण्टीको मत सुस्त तरिकाले बढ्दा जित्ने भनिएका कांग्रेसका नरनारायण शाह मनु निकै दबाबमा छन् । एमालेका यज्ञराज ढुंगाना र नेकपाका प्रेम आलेमगर पनि कांग्रेसकै मतमा भर परेर जित्ने दाबी गरिरहेका छन् । अरु दल भन्दा निक्कै बलियो मानिएको कांग्रेसलाई कैलाली ५ मा आफ्नो भोट बचाउन निक्कै कठिन भएको छ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२२ घण्टा अगाडि
५ दिन अगाडि
१ हप्ता अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
५ दिन अगाडि
२२ घण्टा अगाडि