मंसिर १७ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी तीन कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले एभरेष्ट बैंकको ६ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.९३ बोनस शेयर समायोजन गरेको हो भने मसबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात एभरेष्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ५५० रुपैयाँ, शाइन रेसुङ्गाको ४०३ रुपैयाँ ८६ पैसा र सबैको लघुवित्तको प्रतिकित्ता १ हजार ५०४ रुपैयाँ ०१ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयर मूल्य समायोजन गरेको हो। बिहीबार एभरेष्ट बैंकको शेयर प्रतिकित्ता ५८३ रुपैयाँ, शाइन रेसुङ्गाको ४४८ रुपैयाँ र सबैको लघुवित्तको १ हजार ९७१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
आईतबार यसै समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी तीनै कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
एभरेष्ट बैंक लिमिटेडले पुस १ गते, आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा २७ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभामा जुममार्फत सहभागी हुने शेयरधनीहरुलाई मिटिङ्ग आइडि र पासवर्डको व्यवस्था गरिएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोमा लाग्ने कर सहित गरी ४.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, बैंकको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर २९ गते महाराजा रिसोर्ट प्रा.लि., बुटवल उपमहानगरपालिका ११, रुपन्देहीमा तेह्रौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको संख्या र समूहगत प्रतिनिधित्वमा परिवर्तन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।
त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३१.०५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न लघुवित्तले पुस ३ गते शनिबार, बन्दिपुर माउन्टेन रिसोर्ट, बन्दिपुरमा पाँचौ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गने प्रस्ताव पनि पारित गर्नेछ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
६ दिन अगाडि
६ दिन अगाडि