कथाः सानुको प्रेम

कथाः सानुको प्रेम

लेखक: रमा गिरी

भ्रमको घुम्टो उँघ्रिएपछि आत्मीय लाग्ने सम्बन्ध पनि सारै घृणामा बदलिंदो रैछ । प्रेममा परेपछि जीवनले धेरै कुरा सिक्छ, धेरै कुरा देख्छ, धेरै कुरा अनुभूति गर्छ । हो, दुनिया यस्तै छ, कहिले घृणा प्रेममा बदलिन्छ, कहिले प्रेम घृणमा बदलिन्छ । सम्झनामा मिठा यादहरु छन्, रमाइला पलहरु छन् । ती सधै याद भएर रहेने छन् । मान्छे हराउन सक्छ तर प्रेम यादहरुका रुपमा अन्तष्करणमा जीवनको उज्यालो बनेर रहन्छ ।

तारा सामाजिक अभियान्ता हुन । थुप्रै सामाजिक अभियानमा उनको सहभागिता थियो । विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ–संस्थामा तारा आबद्ध थिइन् । उनलाई आफ्नो सम्पूर्ण जीवन सामाजिक कार्यमा समर्पित गर्न मन लाग्थ्यो । कामकै शिलशिलामा उनी विभिन्न जिल्लामा पुग्थिन्, थुप्रै असहायको साथी थिइन् ।

अग्रेंजी नयाँ बर्षको आगमनले नेपालीहरुको मन उल्लासमय थियो । नयाँ बर्षको पहिलो दिन, एकाबिहानै ताराको फेसबुक म्यासेन्जरमा घण्टी बज्छ–ह्याप्पी न्यु येअर ।

नयाँ बर्षको दिन, थुप्रैको शुभकामना आइरहेकै थियो । फेरि तराले पनि थ्यांक यू एण्ड सेम टू यू भनेर रिप्लाई गर्छिन । अलिक आदेशात्मकजस्तो भावमा फेरि अर्को म्यासेज आउँछ– अफलाइन म्यासेज हेर्नुस् । मैले तत्कालै हेरें, म्यासेज थियो– नमस्ते आरम हुनुहुन्छ
ती अपरिचित फेसबुक साथीसँग यस्ता अफलाइन र अनलाइन म्यासेज थुप्रै आइरहन्थे । उनलाई फेरि त्यही व्यक्तिको दोस्रो म्यासेज आउँछ– उफ्फ ! म समिर क्या । मैले सोधे– अरे दुईटा आइडी ? उसले हास्दै भन्यो– एउटा प्रोफेसनल, अर्को पर्सनल । उसले त्यति ध्यान दिइन ।

तारा र समिर बिगत ४/५ बर्षदेखि फेसबुकमा साथी थिए । तर उनीहरुको एकदुई पटकभन्दा बढी कुरा भएको थिएन । प्रायः ऊ कसैसँग पनि च्याटमा कुरा गर्दिन थी । एकदिन फेरि त्यही अफलाइन आइडिबाट म्यासेज आउँछ । अब लगातार आउँछ । उसको चेतना स्तर र सोचाइहरुले विस्तारै तरालाई आकर्षित गर्छ । फेरि एकमनले तरा अहिलेका युवा हो थोरै धेरै चेतना त भैहाल्छ नी भन्ने पनि सोच्छिन् ।

समय वित्दै गयो । बिस्तारै ताराको समीरसँग कुरा हुन थाल्यो । त्यसपछि कुराकानिको शिलशिला निरन्तर चल्दै गयो । कहिले दुःख सुखका कुरा त कहिले सामाजिक कुरा । अनि अलि बढी हासिमजाकका कुराहरु हुन्थे । बिस्तारै कुराकानीका रुप बदलिए । उसले तारालाई मजाककै रूपमा “डियर लभ ! मिस यू” भनेर म्यासेज गर्न थालिसकेको थियो । शुरुशुरुमा ऊ त्यस्ता म्यासेजहरुलाई खासै वास्ता गर्दिन थिइन् । तर उनीहरुको कुराकानी निरन्तर चलिनै रहन्थ्यो । फेरि अचानक एकदिन उसको म्यासेज आउँछ– तुम कब मुझे आइ लभ यू बोलेगी मेरि जान ।

सायद तारा पनि ऊप्रती बिस्तारै नजिकिन थालिसकेकी थिइन् । तर पनि ताराले उसलाई कवि नहि भनेर जवाफ दिइन् । निरन्तर कुराकानी हुनथाल्यो । ऊसंग नबोलेको दिननै खल्लो लाग्न थालिसकेको थियो तारालाई ।

एक–दुई दिन ऊ व्यस्त रह्यो । अनलाइन आउन भ्याएन । तारालाई पुरै सामाजिक सञ्जाल नै शून्य लाग्न थाल्यो । छट्पटी बढन थाल्यो । उनीहरुको कुराकानिको माध्यम अनलाइनमार्फत् मात्रै थियो । केहिदिनपछि समीर बेलुकी अनलाइन आयो । उसले म्यासेज छोडेको रहेछ– हाई मेरी जान, के गर्दै छौ ? तारा मनमनै यति खुशी भइन् कि उसको खुशीको कुनै सीमा थिएन । तर पनि ताराले आफूलाई सम्हाल्ने कोशिस गर्दै सामान्य तरिकाले कुरा गरिन्, केही नभएको झै गरेर । फेरि उसको अर्को म्यासेज थियो– मैले नसम्झे तिमीले त मलाई बिर्सिने रहेछौ नी है ?

जवाफमा ताराले भनीन्– सायद, सबै सधै सम्झनामा काहाँ हुन्छन् र ? उसले फेरि भन्यो– मेरो व्यस्तताको फाइदा मजाले उठायौ है । ऊ (तारा) हासी । त्यसपछि निरन्तर कुराकानी चल्दै गयो । एक अर्काप्रती विस्वास झन् बढ्दै गयो । थाहैै नपाई उनीहरु एक–अर्काबिना अधुरो महसुस गर्न थालिसकेका थिए ।

उसले एकदिन तारालाई सोध्यो– म तिमीलाई के भनेर बोलाउ ? उनले भनिन्– मतलब ? उसले भन्यो– मेरि जान, सानु वा अरु नै केही ? उनले भनी– तिमीलाई जे मन लाग्छ । त्यसपछि उसले तारालाई सानु भन्न थाल्यो । अनि तारा उसको सानु भई । तारा समीरकी सेक्रेट सानु । आफूलाई सारै भाग्यमानि ठान्न थालिन् तारा कसैको सानु हुन पाएकोमा । मानौ, धेरैपछि धुम्म परेको आकाश उघ्रीदै छ । धेरै बर्षपछि गाएब भएको ओठको गुलाबी हासो पुनः फर्किदैछ । ताराको मनभरी यस्तै–यस्तै कुराखेल्न थाल्यो ।

ऊ सधै समीर अनलाइन आउने प्रतीक्षामा बस्थी, जब बेलुकी हुन्छ घडीको सुइतिर उनका नजर गइहाल्थ्यो । अनि हतार–हतार ऊ समीरसंग कुरा गर्थिन । उसलाई नी त्यस्तै हुन्थ्यो रे । तरालाई जस्तै । अनलाइन आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो रे । यसैगरी उनीहरुको दिनचर्या बित्दै गयो । हरेक बिहानी ऊ तारालाई मर्निङ सानु भन्थ्यो । तारा समीरको मुखबाट त्यो– सानु शब्द सुन्न आतुर हुन्थी । उसको त्यो सानु शब्दले तारालाई झन् ऊप्रती नजिक बनाइरहेको थियो । लाग्ने गथ्र्यो, तारालाई यो दुनियाको सबैभन्दा खुसनसिब सानु । ऊ उस्कि सानु हो, जोसँग ताराले अनगिन्ती सपनाहरू सजाएकी थिइन् । ऊ समीरलाई हृदयदेखि नै माया गर्थी । उसको हरेक स्वासमा समीर बसेको छ जस्तो लग्थ्यो । उसको वरपर सबैतिर उसले समीरलाई मात्रै महसुस गर्थी ।

तराको प्रेम निश्चल थियो । ऊ अलिक ओपन माइन्डकी थिइन् । समीरसँग सधै खुलेर कुरा गर्थी । भावनात्मक र व्यवहारिक थिइन् तारा । तर समीर भने कहिल्यै खुलेन । समीरको भावनात्मकभन्दा अस्लिल कुरा गर्नमा बढी रुचि थियो । ऊ तरासँग बेसरी मात्तिन रुचाउथ्यो, मनपरी बोलेर, छिल्लिएर ।
हरेक पटक ऊ फोन कलमा तारासँग उसका अस्लिल तस्वीरहरु माग्थ्यो । भिडियो कलमा उसलाई सर्वाङ्ग हुन प्रस्ताव राख्थ्यो । तर ताराले प्रेमका बाबजुद पनि सधै समिरका अस्लिल प्रस्तावहरु कहिल्यै पुरा गरिनन् । उसलाई सान्त्वना दिदै भन्थी– पहिले तिमी आऊ, सबै भेटमा गरौला, जाहाँ प्रेम हुन्छ, त्यहाँ वासना अवश्य हुन्छ । म तिम्रै प्रतिक्षामा त छु । ताराले नसम्झाएकी होइन, तर सम्झाएर केही हुँदैन । समीरले निरन्तर कर गरिरहन्छ ।

उसको जबर्जस्ती प्रस्ताव हुन्थ्यो– विदेश बसुन्जेल त हो नी सानु हेर्ने, म भिडियो लाइभमा भए पनि प्रेमपूर्वक तिम्रो सम्पूर्ण शरिर हेर्न चाहन्छु । हो, सानु तिम्रो तप्प–तप्प चुहेको जवानीबाट निथ्रुक्क रुझ्न आतुर छु । वेचैनी भएको छु । अधैर्य छु । परदेशबाट फर्केपछि तिम्रो प्रेमिल अंगालोमा निदाउँला । तिम्रा सुकोमल अंगप्रत्यांगहरुमा हराएर रातहरु विताउँला । तर म ती दिनका लागि प्रतिक्षा गर्न सकिरहेको छैन् । तिमी मेरी हौं । तिमीसँग भएको सबै मेरो हो । तिम्रो शरिर मेरै हो । तिम्रो हृदय मेरै हो । त्यसमा मेरो अधिकार छ ।

ताराले त साच्चिकै प्रेम गरेकी थिइन । तारालाई के थाहा समीरको नियत त्यस्तो होला भन्ने । त्यसले कहिले पनि तारालाई प्रेम गरेकै थिएन । समीरको मक्सत त खाली यति थियो– तारासँग नजिक हुनु, भ्वाइस र भिडियो सेक्स गर्नु । आफ्ना कुत्सित वासनाहरु पूरा गर्नु । समीरको हरेक पटकका प्रस्तावहरु ताराले सधै अस्वीकार गर्दै गइन, सबै भेटमा गरौला भन्दै गइन । तर समीर…..।

..समीरले भनेजस्तो नभएपछि, उसका वासनाले भरिएका रहरहरु अधुरै रहेपछि बिस्तारै टाढिदै गए । उनीहरुबीच कुराकानी पातलिदै गयो । ऊ तारालाई प्रेमको नाटक मञ्चन गरेर लाइभ भिडियोमा नाङ्गो बनाएर बलत्कार गर्न चाहन्थ्यो । तर तारा समीरसँग प्रेम गर्दै थिइन । ऊ फर्किएपछि आफ्नो प्यारसँग विवाह गर्न चाहन्थी । अचानक समीरमा आएको परिवर्तनले तारा अचम्मित भैरहेकी थिइन् । एकदिन ताराले समीरलाई सोधीन्– किन हिजोआज तिमी मसँग कुरा गर्दैनौ ? के भएको छ तिमीलाई ? उसले रुखो स्वरमा जवाफ दिन्छ– काम छोडेर तिमीसँग सधै कुरा गर्न सक्दिन ।

समीरको जवाफले तारालाई कता–कता मुटुमा च्वास्स घोच्छ । तर ताराको व्यवहारमा कुनै बदलाब आउँदैन । किनकी तारालाई उसको प्रेममा आदत परिसकेको थियो । ऊ भने तारासंग झन्झन् टाढिंदै थियो । तारालाई यो पनि थाहा थिएन आफ्नो कसुर के थियो । उनले बिस्तारै आदत बसाइन, समीरकै अनुकुलतमा कुरा गर्ने । तर उसको झन् ताराप्रतीको व्यवहार बदलिंदै गयो । अनि ऊ तारासंग औपचारिकता मात्रै प्रस्तुत हुन थाले । तारा उसलाई नजिकबाट निहाल्दै थिइन् । अब ऊ ताराबाट टाढा भैसकेको थियो । यसको महसुस ताराले पनि गरेकी थिइन ।

सोची, अब म उसलाई बाधेर राख्न चाहान्न । म को हु र उसको स्वतन्त्रताको बलात्कार गर्ने ? सच्चा प्रेममार्फत् वासनाप्रेममाथि बलत्कार गर्ने ? मेरो जवानी भोग गर्ने उसको चाहनामाथि बलत्कार गर्ने ?
ताराले प्रष्ट भनीन्, हामी जबर्जस्त नजिक भएर बस्नुभन्दा आनन्दले एक–अर्काबाट मुक्त हुनु उपयुक्त हुन्छ । किनकी बोज सम्बन्धले होस वा शरीरले धेरै बेर बोक्न सक्दैन । तर त्यती सजिलो काहाँ हुदोरहेछ र आफूले प्रेम गरेकालाई बिर्सिन । उसको आभास ताराका निम्ति जिउने आधार बनेको थियो । ऊसँगको पल एउटा छुट्टै आभास थियो, हृदयको आभास थियो, अन्तष्करणको आभास थियो, रत जीवन छ अनि जिन्दगी जिउने आशा छ जस्तो लाग्थ्यो ।

जीवनपछि मृत्यु यो शाश्वत सत्य हो, तर ज्युँदैमा पटक–पटक मर्न सारै कष्टकर हुँदोरहेछ । तारा मनमनै सोच्छिन, यो सम्बन्ध पनि यस्ता स्त्री लम्पटका लागि त वाईफाईको नेटवर्कजस्तै हुँदोरहेछ कि क्याहो ? एउटासँग सम्बन्ध टुट्न पाएको छैन अर्कोसंग जोडी हाल्ने ? तारा फेरि सम्झिन्छे ऊसँगका संवादहरु ।

उसलाई बर्षातको मौसम मनपर्ने अरे । अनि तारालाई त्यहि । झमझम आकासबाट झरेको झरी झ्यालबाट उभिएर एकतमासले हेर्नु ताराको शोक थियो । ताराले ऊसंग देखेका सपनाहरु सपनामै सिमित रहे । समीरको अँगालोमा कस्सिएर बाधिने, एकछिन मात्रै भए पनि आफुलाई सबैसँग सुरक्षित भएको महसुस गर्ने । उसको अधरलाई चुम्ने । अनि नजिकबाट उसको बदनको खुस्बुसँग लुट्पुटिने । आँखा भरी हेरेर मनभरी बसाउने ।

तारा फेरि गहभरी आँसु पार्दै भन्छे मैले बिग्रीएको सम्बन्धलाई सुधार्न नखोजेको होइन, पटक–पटक कोशिश गरेकी छु । उसले बार–बार मेरो मुखमा तमाचा हानेको छ । म बिग्रीएको सम्बन्धलाई बचाउन झुक्दै गए, तर उसले यसलाई मेरो कमजोरी सम्झिएछ । मलाई थाहा छ चुक्किएको चुरा अब कहिल्यै जोडिने छैन, जोडियो भने पनि दरार देखिन्छ । कतै जोडिए छ नै भने पनि त्यति नै विस्वासको सम्बन्ध त हुन सक्दै सक्दैन । किनभने विस्वास टुटिसकेको छ र ऊसँगकाे प्रेम विगत भइसकेकाे छ ।

अब ताराले उसैले दिएको यादहरुको पर्खालभित्र नयाँ उत्साहका साथ जीवन जिउने अठोट गर्छे । तारा मनमनै सोच्छे– म त्यति कायर पनि त छैन । एउटा स्त्री लम्पटको लागि आफ्नो जीवन ओइल्याए राख्ने । उसका कुरा सुन्दा यस्तो लाग्थ्यो उसलाई प्रेम भन्ने चिज र पुरुषप्रति नै बितृष्णा जागेर आएको छ । ऊ फेरि लामो सुस्केरा हाल्दै झिलिमिली शहरतिर आँखा डुलाउँदै सोच्छे– यो शहर कत्ती झिलिमिली छ, तर यो मनमा भने अब कहिले नबल्ने गरि बत्ती निभिसकेको छ । जीवन अन्धकार भएको छ ।

तारा भलै उस्ले दिएको बेबफाकै बारेमा किन नहोस्, समिरको कुरा गर्दा उसको मुहारमा छुट्टै चमक देखिन्छ । फेरि तारालाई एक दिन साथीले हिम्मत जुटाएर सोध्छे– तारा तैले अलिक सोचेर अगाडि बढेको भए हुन्थ्यो । यस्ता टाइपका पुरुषहरु सबै एउटै हुन्छन्, त्यसैले भन्ने गरिन्छ नि सबै चिज आफ्नो बराबरीमा मात्रै हुनुपर्छ भनेर । साथीले यति मात्रै के भनेकी थिइन्, तारा झ्वक्किदै जवाफ दिन्छे– प्रेम स्तर र लेबल हेरेर गरिंदैन र गर्छु भनेर पनि गरिंदैन । साचो प्रेमले कुनै लेबल हेर्दैन । जात र धर्म हेर्दैन । जे थियो, जस्तो थियो, मेरो लागि खास थियो र रहिरहनेछ । तारा फेरि सोच्छे –तर अब ऊसंगको विश्वास भने डगमगाइसकेको छ । पुरुष जाती र प्रेम भन्ने शब्दप्रतिको भर टुटीसकेको छ । समीरको बेबफाइ र झुटले ताराको मनलाई निकै धेरै आघात पुगिसकेको थियो । ऊ भन्ने गर्थी, आखिर सत्य लुकाएर काहाँ लुक्छ र, झुटको आयु सारै छोटो हुन्छ ।

भ्रमको घुम्टो उँघ्रिएपछि आत्मीय लाग्ने सम्बन्ध पनि सारै घृणामा बदलिंदो रैछ । प्रेममा परेपछि जीवनले धेरै कुरा सिक्छ, धेरै कुरा देख्छ, धेरै कुरा अनुभूति गर्छ । हो, दुनिया यस्तै छ, कहिले घृणा प्रेममा बदलिन्छ, कहिले प्रेम घृणमा बदलिन्छ । सम्झनामा मिठा यादहरु छन्, रमाइला पलहरु छन् । ती सधै याद भएर रहेने छन् । मान्छे हराउन सक्छ तर प्रेम यादहरुका रुपमा अन्तष्करणमा जीवनको उज्यालो बनेर रहन्छ ।

[email-subscribers-form id="2"]
TOP