नेपाल टेलिकमको सञ्चालक समितिमा अम्बिका पौडेल निर्विरोध

काठमाडौं। सर्वसाधारण सेयरधनीको तर्फबाट अम्बिकाप्रसाद पौडैलले नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा निर्विरोध चयन भएका छन्।

चैत १३ गते हुने वार्षिक साधारणसभाले उनको चयनलाई अनुमोदन गर्ने छ। टेलिकममा ८.४८ प्रतिशत सेयर सर्वसाधारणको छ। यसमध्ये ४.५ प्रतिशत कर्मचारी र ३.९८ प्रतिशत सर्वसाधारणको छ। नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर छ।

सर्वसाधारणमा गएको सेयरमध्ये पनि साढे ४ प्रतिशत त्यहीँका कर्मचारीको भएका कारण आम सर्वसाधारणबाट सञ्चालक समितिमा जाने कोही थिएनन्। पौडेल पहिलो पटक आमसर्वसाधारणको तर्फबाट सञ्चालक भएका हुन्।

पौडेल सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेस्टर्स फोरमको पूर्व अध्यक्ष पनि हुन्। उनीसमेत रहेको एक उच्चस्तरीय सरकारी समितिले नेपालको मुद्रा तथा पुँजी बजारको विकास तथा प्रवर्द्धनका लागि के के गर्नु पर्छ भनेर ५८ बुँदे सुझाव दिएको थियो। टेलिकमको साधारणसभाले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको ४० प्रतिशत नगद लाभांश पारित गर्नेछ।

[email-subscribers-form id="2"]
TOP