क्लोज हर्ट मार्फत विश्वस्तरीय कार्यक्रम गर्दै विवेक श्रेष्ठ

क्लोज हर्ट मार्फत विश्वस्तरीय कार्यक्रम गर्दै विवेक श्रेष्ठ

करिब तीन दशकदेखि नेपाली संगीतमा फरकपनसहित आफ्नो पहिचान बनाएका पोखरेली सांगीतिक समूह ‘कन्दरा’का गायक विवेक श्रेष्ठको अष्ट्रेलियामा अन्तर्राष्ट्रियस्तरको एकल गायन कार्यक्रम हुने भएको छ |

EUPHONIC : CLOSE TO MY HEART with BIVEK SHRESTHA नामक सो कार्यक्रममा विवेकले आफ्नो सांगीतिक जीवनमा आफूलाई प्रभाव पारेका र सवा सय वर्ष लामो नेपाली संगीतको कालखण्डमा नेपाली संगीतमा योगदान दिएका श्रष्टाका अजर-अमर करिब २ दर्जनजति गीत प्रस्तुत गर्नेछन् | आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको परिकल्पनाकारसमेत रहेका विवेकले भने, “प्रवासमा रहेका नेपालीहरूको नेपाली संगीतमा लामो योगदान नरहे पनि आफ्नोपनको गीत-संगीतमा अथाह माया, सद्भाव र लगाव छ | नेपालमा भैरहेका संगीत रियालिटी शोहरूलाई त्यो स्वरूपमा प्रस्तुत गर्न पनि प्रवासीहरूको अहम भूमिका छ | त्यत्तिकै स्तरका कार्यक्रम विदेशमा पनि नेपालीहरूले गर्नु जरुरी छ | त्यसैले मैले यो कार्यक्रमको परिकल्पना गरेको हुँ र यसलाई विश्वव्यापीरूपमा लैजानका लागि अभियानको रूपमा सुरु गरिएको छ | मपछि नयाँ पुस्ताका अन्य कलाकारले पनि काठमाडौँदेखि संसारका विभिन्न मुलुकमा गर्नेछन् |”

पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रूपमा बोल्दै गीतकार एवं चलचित्र निर्देशक यादव खरेलले भने, “नेपाली संगीत र पुराना श्रष्टाका सृजना र चर्चा हराउंदै गएको यो बेलामा विवेकजीले गर्न लाग्नुभएको यो अभियान सराहनीयमात्रै छैन, स्तुत्य पनि छ | यसले पुराना सृजनालाई नयाँ पुस्तासँग जोड्न सेतुको काम गर्नेछ |”

त्यस्तै कार्यक्रममा बोल्दै संगीतकार एवं प्रसिद्ध गीतारवादक अनिल शाहीले ‘विवेकको यो प्रयासले संसारभर हुने कन्सर्टमा स्तरीयता ल्याउनमा सहयोग गर्ने र जोकोहीले पनि विवेकको यो प्रयासको प्रशंसा गर्दै सहयोग गर्नु पर्ने बताए |

 WESLEY CONFERENCE and THEATRE सिड्नीमा आगामी फेब्रुअरी १५ तारिख र अष्ट्रेलियामा भएको MTV UNPLUGGED को पहिलो कार्यक्रमको सभा-हल MEAT MARKET मेल्बर्नमा फेब्रुअरी २२ तारिखका दिन हुने सो कार्यक्रमलाई GRACE INTERNATIONAL EDUCATION AND MIGRATION मुख्य प्रायोजन गरेको छ भने सिड्नीमा हुने कार्यक्रमको मुख्य आयोजकमा अष्ट्रेलियाको प्रख्यात संस्था Solangture र  गुठी अष्ट्रेलिया रहेका छन् भने पोखरेली समाज अष्ट्रेलिया सह-आयोजक रहेको छ | त्यस्तै मेलबर्नमा हुने कार्यक्रमको आयोजक अष्ट्रेलियाको प्रख्यात संस्था  Solangture रहेको छ |

नेपाली समाज, भाषा र संस्कृतिप्रति समर्पित रही योगदान दिएको संस्था हो, SOLANGTURE, अस्ट्रेलियामा रही निजी क्षेत्रबाट नेपाली भाषाको पहिलो पत्रिका ‘पीपल बोट’को प्रकाशनका साथै महायात्रा, नेपथ्य ब्याण्डको कन्सर्ट, सुशील अर्यालको नाटक ‘कथा नालापानीको’को आयोजना गरेको थियो | त्यस्तै, नेवार जातिको पृथक पहिचानसहित नेपालका विवध संस्कृतिको संरक्षण गर्दै आइरहेको संस्था हो, गुठी अस्ट्रेलिया | त्यसै गरी, मूलतः पोखरा स्थायी घर भई अस्ट्रेलियामा बसोबास गर्ने पोखरेलीहरूको समाज हो, ‘पोखरेली समाज अस्ट्रेलिया’, जसले समाज, संस्कृति, भाषा र संगीतका यस्ता दर्जनौं कार्यक्रम गर्दै आइरहेको छ |

विगत १८ वर्षदेखि प्रवासमा रही नेपाली संगीतको उत्थानमा लागिपरेका गायन श्रेष्ठ भन्छन, “यो कार्यकम मुलतः विदेशमा बस्ने नेपालीहरूमा लक्षित त हो नै, साथै नेपाली सुगम संगीतको मूलधारलाई नयाँ पुस्ताका माझमा प्रस्तुत गर्नु पनि हो | साथै, विदेशमै जन्मिएका नेपाली नयाँ पुस्तालाई नेपाली गीत-संगीत एउटा स्तरीय कार्यक्रममार्फत सुन्ने अवसर पनि हो यो |”

विदेशमा नेपाली कलाकारले प्रस्तुत गर्ने कार्यक्रमको स्तर खस्कंदै गएको र स्तरीय कार्यक्रम हुनु जरुरी रहेको भन्दै विवेक भन्छन, “यो कार्यक्रम हामीले नेपाली संगीतको पुनरुत्थान, जगेर्ना र सांगीतिक चेतनाका लागि पनि गर्न लागेका हौँ | अमेरिकी, भारतीय वा कुनै विश्वस्तरीय सांगीतिक कार्यक्रमभन्दा यो कमजोर हुनेछैन | नेपालको पोखरामा क्रियाशील वाद्यवाधकहरूले यसलाई जिवन्त बनाउन साथ दिनुहुनेछ |”

नयाँ पुस्तालाई सांगीतिक विरासत हस्तान्तरण गर्न TRIBUTE TO THE LEGENDS, SONGS FOREVER, GENERATIONS TO GENERATIONS लगायतका कार्यक्रमको परिकल्पना र सफल प्रस्तुति गरिसकेका विवेक श्रेष्ठका कन्दरा समूहका हंगकंग पोखरा, लेककी हे माया, तिमी पारी, विदेशिएर गइन उनीलगायतका गीत चर्चित छन् भने उनको एकल एल्वम ‘उत्सव’का ‘जिन्दगी यो उत्सव हो’, ‘म आफैं धमिलो’ लगायतका गीत चर्चित छन् |

प्रवासमा स्तरीय नेपाली सांगीतिक कार्यकमको नमुना प्रस्तुत गर्न, नेपाली संगीतलाई विश्वव्यापीकरण गर्न, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका साथै नेपाली कालजयी सुगम संगीतलाई नयाँ कलेवरमा प्रस्तुत गर्दै पुस्ता हस्तान्तरण गर्न पनि यो कार्यक्रमले सहयोग पुग्ने विवेकको विश्वास छ |

कार्यक्रमलाई मूर्तरूप दिन विगत दुई दशकदेखि नेपाली कालजयी गीत-संगीत र श्रष्टामा समर्पित रही संगीतको खोज-अनुसन्धानमा लागिरहेका रेडियोकर्मी/गीतकार भूपेन्द्र खड्काले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन्   |

[email-subscribers-form id="2"]
TOP