राजनीतिक नैतिकताको संकटमा नेपाली राजनीति-शेषमणि आचार्य

राजनीतिक नैतिकताको संकटमा नेपाली राजनीति-शेषमणि आचार्य

अहिले नेपालमा राजनीतिक नैतिकताबारे तीव्र बहस चलिरहेको छ,यसबारे अनेक धारणा आइ रहेकाछन्। आफूलाई जे मन पर्छ त्यही हो नैतिकता भनिएको छ।यसले हामीमा कुनै संस्कारको विकास गरेको छैन। हामीलाई अविवेकी,अनैतिक र राजनीतिका शकुनि वा पश्चिमका मेकियावेलीको संझना दिलाइरहेको छ।

प्रजातान्त्रिक व्यवस्थालाई हामी अचेल लोकतान्त्रिक व्यवस्था पनि भनिरहेछौँ। वास्तवमा चरित्रको हिसाबले हेर्दा प्रजा शब्दले सामन्ती राजतन्त्रको रैतीलाई बुझाउँछ भने लोकतन्त्रले गणतन्त्रात्मक व्यवस्था का स्वतन्त्र सार्वभौम जनताको अस्तित्व लाई मान्यता दिन्छ,तर हामीकहाँ यी शब्दको सही अभ्यास गरिएको छैन। यस्तै अर्को एउटा शब्द छ,जुन वास्तवमा मरिसकेको छ,तर त्यसलाई शिवजीले सतीदेवीको लाश बोके झैँ हामी त्यसलाई काँधमा बोकेर गणतन्त्रको कुरा गरिरहेछौँ,त्यस्तो शब्द हो अधिराज्य यो शब्दले राजतन्त्रको संस्कार झल्काउँछ।अहिलेको हाम्रो नेपाल नेपाल अधिराज्य होईन ,यो त अब गणतन्त्र नेपाल हो।हाम्रा ठूला मान्छेहरु कागले कान नलगे पनि हल्लाको भरमा दौडिरहेछन्,हामी अझै लोक नभई प्रजा बनिरहेका छौँ।

यहाँ मैले अर्को प्रसङ्ग खोतल्न लागिरहेको छु।हामी अहिले वेलायती चरित्रको तर भारतीय बनौटको गणतन्त्रको अभ्यासमा छौँ।तैपनि यसको चरित्र बहुदलीय छ।यो चीनको जस्तो हैन,न अमेरिका,वा फ्रान्सको जस्तो।हामी रुपमा भारतीय प्रजातन्त्रको अभ्यासमा छौँ।तैपनि यसले प्रचलित पूँजीवादी प्रजातन्त्रको सिको गर्दछ।तर अहिले केही प्रश्न उठ्न खोजिरहेछन्। हाम्रो प्रजातन्त्र वा लोकतन्त्रको अब कुन नैतिक चरित्र छ र ?

पूँजीवादीहरु आफूलाई प्रजातन्त्रवादी भन्दछन्।यसको लागि त्यहाँ बहु दलहरू हुन्छन्।तिनका मान्यता हुन्छन्,दर्शन हुन्छ।तिनले आ-आफ्नो घोषणापत्र द्वारा चुनावमा भाग लिन्छन्। यस्तै स्वतन्त्र कार्यपालिका,विधायिका , न्यायपालिका, कर्मचारी तन्त्र,सुरक्षा निकाय हुन्छन्। मुख्य कुरा त पार्टीहरुको घोषणापत्रको आधारमा त्यसको टिकटमा चुनाव लडिन्छ,कोही स्वतन्त्र पनि हुन्छन्।जो पार्टीको घोषणापत्रमा चुनाव लडेको हुन्छ ऊ पार्टीको निति,अनुशासनको बन्धनमा रहन्छ।अनि जनताले पार्टीको समर्थन वा विरोध गर्दछन्।जो समर्थ छ उसको नेताको नेतृत्वमा सरकार बन्दछ, प्रधानमन्त्री त्यसको नेता हुन्छ,उसले सामान्यतया आफ्नो अनुकूल सरकार गठन गर्दछ। पार्टीको उद्देश्य, घोषणापत्र र अनुशासनमा रहेर नै सरकार चलाउँछ।

कुनै नीति कार्यक्रम पास गर्नुपर्दा संसदमा निर्णय गर्नुपर्दा सदस्यहरुलाई ह्विप जारी गरिन्छ,जहाँ त्यस्तो गरिन्छ त्यहाँ त्यसको पालना गर्नु पार्टी सदस्यको नैतिकता हुन्छ।तर अहिले हामीकहाँ खास गरी सत्ताधारी पार्टीमा यो नमुना पाइएन।जनताले ठूलो आश भरोसाले कम्युनिष्ट पार्टीको समर्थन गरेका हुन्।चुनावताका नेकपा र नेका नै दुई जनताको छनौट हुन्,अरु तपसिलमा हुन्।अहिले अनौठो परिघटना मुलुकको राजनीतिक जीवनमा देखिएको छ।सरकारमा पार्टी छ,त्यसैका केही असन्तुष्टहरु विपक्षी गठबन्धनमा सामेल भएर आफ्नै पार्टीको सरकार ढाल्न कम्मर कसेर लाइरहेछन्।नेकपा एमाले अहिले यो गाईजात्राको मञ्चन गरिरहेछ।

विपक्षले सरकार ढाल्नु,आफ्नो नेतृत्वमा सरकार बनाउन गठबन्धन बनाउनु कुनै अनौठो कुरा हैन,तरआफ्नै साथीहरु यसको विरोधमा लाग्नुलाई राजनीतिक नैतिकता भन्न सकिन्न।एमालेका दुई शीर्ष नेताहरु जसरी हुन्छ,केपी ओली हटाऊ अभियानमा लाग्नुभएको छ।तत्काल केन्द्रीय सरकार गिराइहाल्ने परिस्थिति बनिहालेको त छैन,तर प्रदेशहरुमा भने यस्तो लक्षण देखिएको छ।
माधव नेपाल तथा झलनाथ खनालजीहरुमा अहिले केपी ओली फोबिया देखिएको छ।उहाँहरुले केपीसंग जुन रङ्गशाला जुध्नको लागि रोज्नुभएको छ,त्यो कुनै हालतमा राजनैतिक नैतिकतासित मेल खाँदैन१हो पार्टी भित्रको विवाद पार्टी भित्रैबाट हल गर्न खोज्नु त्यो नैतिकता हो । पार्टीको आज्ञा नै उल्लङ्घन गर्नु ,फ्लोर क्रस गर्नु कसरी संसदीय मर्यादा हुन सक्छ।एउटा कम्युनिष्ट हूँ ,त्यसको नेता हूँ भनेर पूँजीवादी आचरण पनि पालन नगर्नुलाई के भन्न सकिन्छ।यसले त भोलि आफैँमाथि यो फर्किन सक्छ, त्यसबेला के भन्ने ?

यहाँ नेताहरुलाई मात्र पनि भन्न उपयुक्त छैन।आन्दोलनको लामो समय गुजारिसकेका कार्यकर्ता हरेक पार्टीमा छन्,त्यहाँ नेतृत्व हस्तान्तरणको दावी गर्ने युवापङ्क्ति छ,तर ती सबैमा आफ्नो गुट,गुटको नेता,आफ्नो परिवार,आफ्ना नातापाता,आफ्ना कमिशन हिस्सेदार यस्तै वरिपरि नाचिरहँदा कसरी कुन राजनैतिक नैतिकताको आशा राख्ने,।सिङ्गो नेकपा भङ्ग भएपछि एमाले र माओवादी केन्द्र अलगअलग पार्टी भए यसकारण उनीहरुको कार्यनीति पनि मिल्दो हुँदैन,स्वाभाविक छ,भरखर अलग भएको भूतपूर्व सहकर्मीसँग तुरुन्तै घाँटी जोड्नु पनि सम्भव छैन, यसकारण यहाँ नैतिकताको विषयमा केही खोज्नु छ भने त्यो केपी, झलनाथ र माधवजी एवं एन्ड कम्पनि सँग नै हो। स्वयं पार्टीको एउटा नेता सरकारको नेतृत्व सम्हालिरहेको छ,उसले सदनमा विश्वासको मत माग्न चाह्यो र सदस्यहरूलाई आज्ञा जारी पनि गरिसक्दा त्यसको उल्लङ्घन गरी विपक्षीलाई सजिलो बनाएर कसरी एउटा पार्टी हुन्छ,जनताले पहिला एउटा पार्टी चिन्छन्, त्यसपछि नेता चिन्छन्।

उत्तरदायित्व भन्ने कुरा पार्टी सदस्यको निम्ति ‘पार्टी टु -पिपुल’ हुन्छ।आखिर जनतालाई जवाफ उहाँहरुले दिनैपर्छ।त्यो बेला चुनाव नै हो।चुनावमा मैमात्र ठीक भन्ने कुराको फैसला जनताले नै गर्छन्।

माओवादी केन्द्र अब छुट्टै पार्टी बनेको छ, यसकारण ऊ आफ्नो नीति तय गर्न स्वतन्त्र छ। उसलाई काँग्रेससँग मिल्ने कि एमालेसँग त्यो छान्ने अधिकार छ,यसमा प्रश्न गर्न मिल्दैन,तर हरेक पार्टीलाई एउटा प्रश्न भने सबैले सोध्ने अधिकार राख्छन्। पार्टीको आदर्श, कार्यक्रम कुनसँगको सहकार्यले सम्पन्न हुन सक्छ रुविगतको चुनावले यसको जवाफ दिइसकेको छ,त्यो हो कम्युनिष्ट पार्टीको एकता,।यस कारण कामरेड प्रचण्ड सित जुनसुकै नेपाली कम्युनिष्ट वा वामले यो प्रश्न सोध्नुपर्छ,अब तपाईँहरूको यात्रा शेरबहादुर एन्ड कम्पनिसँगको लगनगाँठो हो कि वाम सहकार्यको निम्ति अर्को प्रयास हो ?

इतिहासले देखाइसकेको छ,वाम र दक्षिणपन्थी प्रजातन्त्र वादीहरुको सहयात्रा वास्तवमा वामपन्थको मृत्युवरण हो। भारतको उदाहरण नै काफी छ, त्यहाँ का पुराना घाग्डान कम्युनिष्ट नेता श्रीपाद अमृत डाँगे जीवनभर नेहरुको छायामा बसे,आखिरमा उनी कम्युनिष्ट पार्टी नै छोडेर अर्को पार्टी त बनाए तर एक्लै,उनको अवसान भयो।भाकपा पनि त्यही अवस्थामा पुग्यो एकपटक,माकपा छ,अहिले त्यो काँग्रेस विना उभिनै सक्दैन, परिणाम पश्चिम बङ्गाल,त्रिपुरा भयो।

अब नेपालको पालो ।नेपालका कम्युनिष्ट यतिखेर आदर्श, नीति नैतिकताबाट यसरी च्यूत भइरहेछन्,जसले गठबन्धन बनाएर आफैँमाथि प्रहार गरेका छन्।उनीहरु यति अन्ध अवस्थामा छन्,यति बेहोस छन्,जो अहिले देखिन्छ।

नेपाली जनता यो प्रश्न गर्ने हैसियतमा छन्,चुनावताकको घोषणापत्र के शेरबहादुरजीको बकपत्र हो? त्यसो हुन सक्छ? सक्दैन,जवाफ सिधा छ।त्यसो भए जनताको घरमा कसरी तपाईंहरु जानुहुन्छ? यदि रुखको छहारीमा नै भर पर्ने किसिमले अहिले झैँ चलिरहने हो भने ठीक वेठीक स्वयं जे भए पनि केपी समूहले नै आफूलाई एकमात्र संसदीय मोर्चाको नेकपा दावी गर्न सक्छ,जुन दावीले एउटा चुनावको परिणाम जे आए पनि यो समूहले आफ्नो पुनर्गठन गर्ने अवसर पाउनेछ र त्यसको मर्म बुझ्यो भने वाम शिविरमा एकपटक फेरि दावी पेश गर्न सक्दछ।

चुनौती अनेक छन्, चौतर्फी हमला छ,प्रचारमा गोबल्सलाइ मात गरिएको छ,शक्तिमा भलै भए पनि यो समूह रक्षात्मक छ, यद्यपि अर्को समूह पनि निर्णायक छैन,जनताले एकपटक विपक्षमा नै रहने आदेश दिएर ओछ्यानमा सुतिरहेको काँग्रेसलाई झकझक्याइएको छ तर उसको निद्रा खुलिसकेको छैन, यसकारण उसले डोर्याउने भनेको स्वयं जागेर नभै निद्राको यात्रा हुनेछ,जुन नेपाल ,नेपाली जनता र नेपालको लोकतान्त्रिक गणतन्त्रको अभ्यासको निम्ति उपयुक्त छैन।

[email-subscribers-form id="2"]
TOP