समस्यामा परेकाहरुलाई सानो सहयोगले पनि ठूलो आश जगाइदिन्छः रोमश श्रेष्ठ

समस्यामा परेकाहरुलाई सानो सहयोगले पनि ठूलो आश जगाइदिन्छः रोमश श्रेष्ठ

पर्यटन व्यवसायी तथा नेकपा क्रान्तिकारी माओवादीका विद्यार्थी नेता रोमश श्रेष्ठले कोरोना महामारीका रोजगारी नभएर समस्यामा परेका करिब ७० घरपरिवारलाई राहत सहयोग गरेका छन् । एक्लो प्रयासमा उनले अत्यन्त्यै विपन्न परिवाहरुलाई करिब २० दिन खानपुग्ने गरी खाद्य सामग्री वितरण गरिरहेका छन् ।

जाउलो खानसमेत धौ धौ भइरहेका परिवारलाई यति सहयोग गर्दा उनीहरुले अर्को विकल्प खोज्ने समय पाउछन् भन्ने सोचेर आफुले राहात वितरण शुरु गरेको उनले बताए । उनी भन्छन्, ‘यस्तो संकटमा सरकारको मुख ताकेर बस्न हुँदैन । सबैले सकेको सहयोग गर्ने हो भने समस्यामा परेकाहरुका लागि सानो सहयोगले पनि ठूलो आश जगाइदिन्छ ।’

उनले राहत बाँड्ने आफ्नो योजना पुरा गर्न आफैले गाइड गरिरहेको नेपाल घुम्न आएका विदेशी पाहुनासँग सहयोगका लागि अनुरोध गरे । मुख्य सहयोग तिनै पाहुनाहरुबाट जुट्यो । केही सहयोग नेपाली साथीहरुले पनि गरे । आफूले पनि थपथाप पारे । आफैले चामल, दाल, नुन, तेल, फलफुल किनेर पोका पोका बनाए र अति नै दयनीय अवस्थ भोगिरहेका परिवारहरु पहिचान गर्दै सहयोग गर्न घरदैलो पुगे । उनको राहतको प्याकेजमा १५ किलो चामल, २ किलो दाल, एक लिटर तेल, दुई पोका नुन, मस्यौरा, साबुन, गेडागुडी र फलफुल थियो । उनले दार्दानक अवस्थामा रहेका केही घरपरिवारलाई औषधि मुलो खर्चसमेत दिए ।

उनले त्यतिमात्रै गरेनन्, कोरोना महामारीका कारण लकडाउनमा अलपत्र परेका ११ जना विदेशी पाहुनालाई बुढानिलकण्ठस्थित थ्री सिक्स्टी फार्ममा निशुल्क ४ महिना पाल्ने कामसमेत गरे ।
विगत दश महिनादेखि विश्व नै कोराना महामारीको संकटबाट गुज्रीरहेको छ । नेपालजस्तो विकासोन्मुख मुलुकका ज्यालादारी गरेर गुजरा चलाउने नागरिकहरु यो महामारीबाट सबैभन्दा धेरै प्रभावित भएका छन् ।

हाम्रो देशका थुप्रै मजदुरी गर्नेहरुको रोजीरोटी खोसिएको अवस्था छ । यस्तो परिस्थितिमा सरकार जिम्मेवार देखिएको छैन । तसर्थ हामी जो जहाँ छौं, रोमश श्रेष्ठलेजस्तै सक्नेहरुले आफ्नो वरिपरि रहेका समस्यामा परेका परिवारलाई सहयोग गर्ने हो भने मात्रै पनि हजारौं र लाखौं परिवारको छाक टर्नसक्छ । केही ठाउँमा यस्ता काम भइरहेका पनि छन् । रत्नपार्कमा केही टिमले खाना खुवाने काम गरे । तर त्यो पनि महानगरपालिकाले सरकारको वेइजत भएको भन्दै खाना खुवाने काम बन्द गर्न लगाएको दुखद समाचार आइरहेको छ । जे होस्, यो सरकारको आश गरेर बस्ने बेला अवश्य होइन । आम नागरिक एक भएर यो संकट जितौं ।

[email-subscribers-form id="2"]
TOP