भोलीदेखि ललितपुर र भक्तपुर जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएका छन्।

शुक्रबार ललितपुर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलपछि उक्त निर्णय गरेको हो ।
कात्तिक २ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण उक्त निर्णय गरेको प्रशासन कार्यलय ललितपुरले जनाएको छ ।
यसैगरी भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक सूचना जारी गर्दै आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जनाएको छ।