उच्चसतर्कता अपनाउन महाशाखाको अनुरोध, देशभर शनिबारसम्म भारीवर्षा हुने

उच्चसतर्कता अपनाउन महाशाखाको अनुरोध, देशभर शनिबारसम्म भारीवर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको मध्य भूभागमा न्यूनचापीय क्षेत्र रहेको छ । साथै यो न्यूनचापिय क्षेत्र पश्चिम–उत्तर–पश्चिम सर्दै गएको छ ।

विभागका मौसमविद् राजु प्रधानाङ्गका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षा भइरहेको छ ।

त्यसैगरी नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहेता पनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै रहेको छ । आगामी ३ दिनसम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन र चट्याङ र हावाहुरीसहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बिहान निकालेको मौसम बुलेटिनमा आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

[email-subscribers-form id="2"]
TOP