
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले हालै बुझाएको प्रतिवेदन अनुसार युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पूर्वधार निर्माणमा प्रगति शून्य रहेको उल्लेख छ ।
महालेखा परीक्षक कार्यालयका अनुसार हालसम्म चौधौ योजना अवधि र पन्ध्रौं योजना अवधिमा भौतिक पूर्वधार निर्माणको अवस्था सुस्त भइरहेको बताइएको छ । खेलकुद पूर्वाधार विकासका लागि चौधौं योजना अवधिमा सबै प्रदेशमा कम्तीमा एउटा सुविधा सम्पन्न रंगशाला, कभर्डहल खेलग्राम, क्रिकेट मैदान निर्माण गर्ने र प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा खेल मैदान निर्माण गर्ने कार्यक्रम थियो । साथै उक्त योजनाले क्रिकेट मैदान ११, जिल्ला स्तरीय कभर्डहल ३८, निर्वाचन क्षेत्रस्तरीय खेल मैदान २४० निर्माण गर्ने लक्ष्य राखेको थियो ।
प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने योजना रहेकामा योजना अवधिमा प्रदेश १, वाग्मती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा फुटबल तथा एथ्लेटिक्स खेल सञ्चालन गर्न सकिने अन्तर्राष्ट्रिय स्तरका रंगशाला निर्माणका लागि चार अर्ब चार करोड ३७ लाख १५ हजार लागत अनुमान गरिएकामा हालसम्म दुई अर्ब २९ करोड ५७ लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
निर्माणाधीन रंगशालामध्ये काठमाडौंस्थित दशरथ रंगशाला मात्र हालसम्म निर्माण भइसकेको बताइएको छ । रंगशालामध्ये पाँचवटा प्रदेशमा निर्माण बाँकी रहेको उल्लेख छ । यसमा पनि प्रदेश २ को जनकपुरमा निर्माण गरिने रंगशालाको डीपीआरसमेत तयार नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै चौधौं अवधिभित्र सात रंगशाला निर्माण गर्ने लक्ष्य राखेकामा एकमात्र सम्पन्न गरेको छ । पन्ध्रौं योजना सुरु भइसकेको अवस्थामा पनि निर्माणाधीन रहेको उपरोक्त ६ रंगशालाको हालसम्मको वित्तीय प्रगति जम्मा ५६ प्रतिशत तथा भौतिक प्रगति न्यून रहेको प्रतिवेदनमा उल्लेख छ ।
चौधौँ योजना अवधिमा मुलुकभरमा ११ र प्रत्येक प्रदेशमा कम्तीमा एउटा सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण गर्ने योजना रहेकामा प्रदेश २, वाग्मती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि तीन अर्ब ९५ करोड ६३ लाख ४९ हजार रुपैयाँको लागत अनुमान तयार गरी हालसम्म २५ करोड ७३ लाख ६९ हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि