“मन एक टुक्रा”

“मन एक टुक्रा”

गोपाल ढुंगेल, वामपन्थी लेखक

छैन आज वशमा, हिजो अस्ति अस्ति धेरै लामो भयो, रातभरी भरी हिंडेको थाक्तैन कति हिंड्न सकेको होला? यसलाई स्थिर पार्न सके कत्ती मजा हुने थियो होला?कहिले मन सेता कागजका पानाहरुमा छताछुल्ल भइ कागज नै रंगीचंगी बनाउंदै अनेकन फूलबुट्टा भर्न सुरु गर्छ,कहिले अति आकर्षक लोभलाग्दा चित्रहरु,चित्रमा माछाहरु माथी माथी उल्टो भनिएको दिशातिर बांकटे हान्दै पौरिएको देख्दा खुशीले नाच्ने गर्छ,पक्रन पाए,अहो पक्रि पनि हाल्छ।राता पहेंला अहिले त उसले हरियो माछो धरी पक्रेको छ।कोशीमा पानीले खियाएको काला काला ढुङ्गाहरुमा बसेर बल्छी हानेको देख्छ,माछा फंसाउने चारो जोहो गर्दा कम्ती घिन त लागेको थिएन नि तर पनि त्यहि घिनहरुसंगै खुसी साटेको थियो,मन मुसुक्क हांस्छ।बल्छी खेलाउंछ दिनभरि,भोकले आन्द्राहरु डांडाभाटा झैं लाग्छ्न,एउटै माछो नि हात पार्न नसकेको झ्वांकमा बल्छी हुर्‍याउंछ,जुरुक्क उठेर ढाड सिधा पार्छ,धुलो टकटक्याउंछ र बाटो लाग्छ।बल्छीको फालेकोमा मनलाई अलिकति नि विस्मात लागेन।

मन एकहोरो भोककै आभास गरिरहेको हुन्छ,आहा!यतिखेर जुन भात भए नि मजले खाइन्थ्यो नाइटाले आकाश देखिनेगरी चाहे त्यो नुनभात,पानीभात वा माडभात नै किन नहोस।अंगेनाको छेउमा बसेर टन्न माडभातमा अलिकति नुन छर्केर पिएको मजा नै बेग्लै,धेरैलाई यो कुरोको स्वाद होला तर भन्दैनन सायद लाज लाग्छ होला लज्जावन्ती झार जस्तो,अचेल भुंडे साहुमा दरिएकाले होला कि…!अनुभव हुने मनहरु हिजो संझिदै रमाउन जानेका हुन्छन,जो लुकाउंछन भुंडे साहु जस्तो हिउँले दारेको बिरुवा हुन्छन।शरीर पल्टन्छ घरी देब्रे कोल्टो घरी दाहिने,म शान्त गर्न मनले नै भन्छ”भो अब सुत!बिहान धेरै काम गर्नुछ,तं भुंडे साहु होस र?त्यो पो जुका हो जुका खाली चुस्छ मात्र”पटक्कै मन शान्त हुंदैन त,रात धेरै नै छिप्पिइसकेको छ।त्यो भुंडे साहुको कहिले आन्द्रा भोकले बटारिन्छ कि नाइँ?त्यसलाई त आफ्नो जिब्रोले पाउने स्वाद धरी थाहा छैन होला, उसको मनले हिजोका ति कुरा बिर्सियो कि बिर्सिएको स्वाङ पारेको?मन भुंडे साहु संझेर मुसुक्क हांस्छ,उसको हंसाइमा रहस्य छ।कति भर्न सकेको होला त्यो लाद्रो बेस्वादमैं?मन अब फेरि एक चक्कर लगाएर भुंडे साहुको गोदाममा पुग्छ,बाहिर बडेमानको भोटे ताल्चा हथौड़ाको एकैचोटमा फुटाएर भित्र पस्छ,तह तह पारेर राखेका बोराहरु भित्रबाट असंख्य भोका भुंडीहरुको आर्तनाद सुन्छ उसका पछि पछि एक हुल शरीर सहितका मनहरु पनि मुट्ठीहरु उचाल्दै आइरहेको देख्छ,विजयी भावकासाथ हेर्दाहेर्दै गोदाम खाली हुन्छ,मनले अट्टहास लाउंछ।

अब मन गएर पुजारीको तालुमा हेर्छ,उसले ढुङ्गोले चुमेको ठाउँ छ कि छैन हेर्छ देख्छ एउटा ठुलै खाल्डो सहितको दाग देख्छ,अनि घटना संझन्छ ,खेल्दाखेल्दै उसको भकुण्डो मन्दिरभित्र छिरेको,भकुण्डो लिन जांदा पुजारीले”छी:छी:छालाको भकुण्डो!मेरा भगवान अपवित्र भए” भन्दै उसले भकुण्डो काटिदिएको,कस्तो प्यारो थियो त्यो भकुण्डो।आंखै देखेन रन्थनिएर ढुङ्गो टिपेर देको त पुजारी पुर्लुक्कै,कम्ती खुसी भाको थिएन त त्यो दिन यो मन।

रातको तेस्रो प्रहर,म मानेकै छैन घरी माथी लेकको चिसोमा कहिले मधेसको तातोमा घुमेर पस्चिमको गाउँमा पुग्छ,त्यहाँ मन मिल्नेहरु मात्र छन,मनहरु रमाउंदा हुन सोचेको थियो यो मनले तर त्यो गाउँमा त एकहुल मान्छे भन्नेहरुले केही मान्छेहरुलाई आफ्नै सहयात्रीहरु एकै खाले भोकको अनुभव हुने भुँडी हुनेहरूले,घिसारी घिसारी मुण्ट्याउंदै,कोहि लाते भकुण्डो हान्दै,कोहि ढुङ्गाले ताकि ताकि निसाना लाउंदै डोरीले बांधेर भिरबाट झारेको,लासहरु खोलामा तैरिरहेको दृश्यहरु देखेर मन डाको छोडेर रुन्छ,शरीर चटपटाउंछ, आंसुले सिरानी भिज्छ,मनले आदेश दिन्छ”शरीर जुरुक्क उठ्छ र मनमनै मनसंग भन्छ,”भोकसंग त सधैं सधैं पौंठेजोरी खेलेकै हो तर यो एक समानका मनहरुको मानवीयता हराएको कस्तो दुर्गन्धित देशमा म आइपुगेछु छी:छी:”!

[email-subscribers-form id="2"]
TOP