खप्तडमा कस्तुरी अध्ययन तथा संरक्षण अभियान सुरु

खप्तडमा कस्तुरी अध्ययन तथा संरक्षण अभियान सुरु

बैशाख १०, २०७७ बझाङ । विश्वमै संकटापन्न प्रजातिका रूपमा सूचीकृत कस्तुरी मृगको संरक्षण कार्यक्रम खप्तड राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र छान्ना, खप्तड गाउँपालिकामा सुरु भएको छ । ‘हिमालय जैविक विविधता सञ्जाल नेपाल’ ले कस्तुरी मृगको वर्तमान अवस्था बुझ्न संरक्षण कार्यक्रमका साथै अनुसन्धान कार्य सुरु गरेको हो ।

निकुन्जको सहस्रलिङ्ग, धौले ढुङ्गा, त्रिवेणी र सेलेको लेकमा गरेको प्रारम्भिक अनुसन्धानबाट उक्त क्षेत्र कस्तुरीको लागि महत्त्वपूर्ण वासस्थान रहेको तर कस्तुरीको संख्या भने ज्यादै न्यून रहेको पाइएको अनुसन्धानकर्ता तिलक मगर बताउँछन् । संरक्षण तथा अनुसन्धान कार्यमा संलग्न प्राणीशास्त्रका केन्द्रीय विभागका सह–प्राध्यापक डा. दयाराम भुसालका अनुसार खप्तडमा कस्तुरीको संख्या न्यून हुनुको कारण पहिचान गरी दिगो संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ ।

वयस्क भाले कस्तुरीमा पाइने ’बिना’ औषधी तथा पर्फ्युम बनाउन प्रयोग गरिन्छ । जसकारण अन्तर्रा्ष्ट्रिय व्यापारमा यसको माग भएकोले चोरी सिकारी हुने गरेको अनुसन्धानकर्ता मगर बताउँछन् । चोरी सिकारी नियन्त्रण गर्न स्थानीय स्तरमा जनचेतना जागृत गराउने उद्देश्यका साथ सञ्जालले संरक्षणको कार्यक्रम सुुरु गरेको अर्का अनुसन्धानकर्ता किशोरप्रसाद घिमिरे बताउँछन् । त्यस्तै सञ्जालले छान्ना र खप्तडमा कस्तुरी सूचना केन्द्र बनाई नियमित रुपमा जानकारी लिइरहेको छ ।
एकै ठाउँमा दिसा गर्ने र एउटै बाटो हिड्न रुचाउने बानीका कारण कस्तुरी सिकारीहरुको पासोको निसाना बन्ने गरेको स्थानीय रमेश खड्का बताउँछन् । कस्तुरी संरक्षणलक्षित कार्यक्रम सञ्चालन नभए पनि निकुन्जभित्र पाइने वनस्पति तथा जङ्गली जनावरको नियमित गस्ती गर्ने गरेको निकुन्जका गेम स्काउट लालबहादुर रावलको भनाइ छ । त्यस्तै, मध्यवर्ती क्षेत्र वडा नं. ४ का अध्यक्ष हिरेन्द्र रावल भन्छन्– “राष्ट्रिय निकुन्ज, नेपाली सेना, मध्यवर्ती क्षेत्र र स्थानीय बासिन्दाको संयुक्त गस्ती नियमित रूपमा हुने हुँदा चोरी सिकारी पूर्ण रूपमा नियन्त्रण भएको छ ।”

समुद्री सतहदेखि २००० मिटरभन्दा माथि र ५००० मिटरभन्दा तलको भू–भागलाई मुख्य वासस्थान बनाउने कस्तुरी हिमाली क्षेत्रको सूचक प्रजाति पनि हो । विश्वमा पाइने सात प्रजातिमध्ये नेपालमा सुनकण्ठे, सेतोकण्ठे र कालो कस्तुरी गरी तीन प्रजातिका पाइने उल्लेख गरिएको छ । तर, हालसालै अन्नपूर्ण संरक्षण क्षेत्रमा अनुसन्धानकर्ता पारसविक्रम सिंहले गर्नुभएको अनुसन्धानमा नयाँ प्रजातिका रूपमा कश्मीर कस्तुरी पत्ता लागेसँगै कस्तुरीको प्रजाति चार पुगेको हो । खप्तडमा भने सुनकण्ठे कस्तुरी पाइन्छ ।

[email-subscribers-form id="2"]
TOP