५३ दिनपछि ७ अर्ब नाघ्यो कारोबार रकम

५३ दिनपछि ७ अर्ब नाघ्यो कारोबार रकम


पुस २५ गते, आइतबार, धितोपत्रको दोस्रो बजारमा ५३ दिनपछि ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। यस अघि मंसिर १ गते ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।
त्यसलगत्तै नेप्सेमा दैनिक कारोबार रकम घट्दो क्रममा रही पछिल्लो समय दैनिक औषतमा ३र४ अर्बको शेयर कारोबार भइरहेकोमा यस दिन कारोबार रकम ७ अर्ब नाघेको हो। यद्यपि, आजको कारोबार रकम सो दिनको भन्दा कम हो।

यस दिन २३९ कम्पनीको ८२ हजार ११३ पटकको कारोबारमा ७ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको १ करोड ५० लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १३.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५६ अंक बढेको छ।
यस दिन नेप्से उच्च दरमा बढेसँगै ४ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन उर्जा विकास कम्पनी, नेपाल हाइड्रो डेभलोपर्स, युनियन हाइड्रोपावर र मध्य भोटेकोशीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन न्यादी पावर, प्रोग्रेशिभ फाइनान्स, आईसीएफसी फाइनान्स, एचआईडिसीएल र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मिथिला लघुवित्तको शेयरमूल्य सर्वाधिक १.२७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन प्रभु बैंक र अपर तामाकोशीको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.०८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

[email-subscribers-form id="2"]
TOP