
बुटवल । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेश गरेका छन्।
लुम्बिनी प्रदेश सभा बैठकमा मन्त्री चौधरीले सोमध्ये चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख रहेको छ भने पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ रहेको जनाए। स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्व ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बार्षिक बजेटमा कोभिड–१९ महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरेको छ । बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालाई विशिष्टिकृत अस्पतालको रूपमा निर्माण थालनी गर्न सरकारले आगामी आर्थिक वर्षको लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
त्यस्तै राप्ती प्रादेशिक अस्पताललाई विशिष्किृत अस्पतालको रुपमा विकास गर्नका लागि त्यसको विस्तृत परियोजना रिपोर्ट अर्थात् डिपिआर निर्माणसम्मका लागि आवश्यक बजेट विनियोजन गरेको छ । हालसम्म ५० शैय्यामा स्तरोन्नती भएका सबै अस्पतालमा विशेषज्ञ सेवा सुरु गरिने मन्त्री बैजनाथ चौधरीले बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
त्यस्तै प्रदेशको जनस्वास्थ्य प्रयोगशालालाई दोस्रो लेभलमा स्तरोन्नति गर्नका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ । दाङको लमहीमा बनाउने भनिएको ट्रमा सेन्टरका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।
दाङ प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नति र बुटवलको लुम्बिनी आयुर्वेद अस्पतालालाई २० शैय्याको आयुर्वेद अस्पतालको रुपमा विकास गर्न दुई करोड रुपैयाँ छुट्याइएको मन्त्री चौधरीले बताए । साथै नवलपरासी पश्चिम र रुकुम पूर्वमा आयुर्वेद अस्पताल सञ्चालन गर्न एक करोड रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै सरकारले आगामी आर्थिक बर्षदेखि प्रदेशभरका सबै सरकारी अस्पतालहरुबाट निशुल्क रक्तसञ्चार सेवा आरम्भ गर्ने भएको छ । ‘निशुल्क रक्तसञ्चार प्रदान, लुम्बिनी प्रदेशको पहिचान’ भन्ने नारालाई आत्मसात गर्नै निशुल्क रक्तसञ्चार सेवा सुरु गर्न पाँछ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
त्यस्तै मृगौला प्रत्यारोपणका लागि संघीय सरकारले उपलब्ध गराउने बाहेक प्रदेश सरकारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराउने मन्त्री चौधरीले घोषणा गरेका छन् । साथै उनले १६ बर्षभन्दा मुनिका क्यान्सर बिरामीहरूका लागि प्रति व्यक्ति एक लाख रुपैयाँ उपलब्ध गराउने पनि जानकारी दिए । क्यान्सर बिरामीले संघीय सरकारले उपलब्ध गराउने सहयोग सहित प्रदेश सरकारबाट पनि सहयोग पाउने भएका हुन् ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले कोरोना नियन्त्रणाका लागि परिक्षणको दायारा बढाउन, अक्जिनको आपूर्ति सहज बनाउन, निशुल्क उपचारको व्यवस्था मिलाउन, थप ल्याव सञ्चालन गर्न तथा भएका ल्यावहरुको स्तरोन्नती गर्न, स्थानीय सरकारले सञ्चालन गरेका क्वारेण्टिन तथा आइसोलेसन केन्द्रको व्यवस्थापन गर्न तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनका लागि भत्तालगायतका कुराहरुमा केन्द्रित रहेर बजेट विनियोजन गरिएको बताए ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि