उदयपुरमा राजनीतिक दलहरुलाई कोरोना खोपमा लगाईयो भागवण्डा

उदयपुरमा राजनीतिक दलहरुलाई कोरोना खोपमा लगाईयो भागवण्डा

काठमाडौं । चीनले अनुदानमा १० लाख डोज भेरोसेल खोप उपलब्ध गराएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिने निर्णय गर्‍यो र खोप जिल्ला जिल्लामा पठायो । तर उदयपुरको बेलका नगरपालिकाले राजनीतिक दलहरुलाई कोरोना खोप भागवण्डा नै लगाएको पाइएको छ ।

बेलकाका मेयर दुर्गाप्रसाद थापाले वडा कार्यालयहरुमा पठाएको पत्रमा राष्ट्रिय मान्यता पाएका दलका १० १० जना र स्थानीय तहका ३३ जनालाई खोप दिन भनिएको छ । मेयरको पत्रमा यसअघि छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहान, नागरपालिकाका कर्मचारी, पत्रकार, निजामती कर्मचारी, नेपाल प्रहरीलाई पनि कोरोना खोप दिन भनिएको छ ।

त्यही पत्रका आधारमा पहुँचवालाहरुले २७ गते कोरोना खोप लगाएको पाइएको छ ।

जबकी जेष्ठ २३ गते कोभिड खोप समन्वय तथा अनुगमन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईको संयोजकत्वमा बसेको बैठकले ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई मात्र खोप लगाउने निर्णय गरेको थियो ।

खोप कार्यक्रम दुई दिन तोकिएको थियो । त्यसअनुसार बेलकामा २५ गते ४८ जना र २६ गते ४०९ जनाले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख कमल चौधरीले जानकारी दिए ।

तर मेयरले राजनीतिक दललाई भाग लगाएर पत्र लेखेपछि २७ गते २४१ जनाले कोरोना खोप लगाएका छन् । नगरपालिकाका प्रवक्ता मोहन घिमिरेले लक्षित वर्गभन्दा बाहिर खोप लगाएको स्वीकार गरे ।