राजनीतिमा षड्यन्त्र- शेषमणि आचार्य

राजनीतिमा षड्यन्त्र- शेषमणि आचार्य

राजनीति यस्तो विधा रहेछ,जसमा जानेमा हस्तिनापुरको सुख,नजानेमा चपरीमुनिको दुःख प्राप्त हुँदो रहेछ ।जस्तो ,पौराणिक-महाभारत कालमा गान्धार नरेश शकुनिले आफ्नी बहिनी गान्धारीलाई बलजफ्ती जन्मान्ध धृतराष्ट्र सँग विवाह गर्न बाध्य भएपछि गान्धारीले त आजीवन आँखामा पट्टी बाँधेर पतिभक्ति दर्शाइन्,तर उनका दाजु शकुनिले यस्तो षड्यन्त्र गरे कि उनी हस्तिनापुर दरबारमा प्रवेश गरे र उनले कौरव वंशको विनाशको षड्यन्त्रको प्रतिज्ञा गरे,जुन दुर्योधनलाई सघाउने नाटक रच्दै सफलता प्राप्त गरे,जसको निम्ति उनले जे पनि गर्न पछि परेनन्।तर उनको पनि अन्त्य भयो।यस्ता उदाहरण अरु पनि पाउन सकिन्छ ‌।

आधुनिक कालमा पनि यस्ता उदाहरण पाइन्छन्,पूर्व सोभियत संघमा लेनिनको विरुद्ध यस्तै षड्यन्त्र गरियो।उनका उत्तराधिकारी स्टालिनको जीवनमा यस्ता अनेक घटना घटे।समाजवाद विरुद्ध षड्यन्त्र घनीभूत रुपमा भए।स्टालिनका घनिष्ठ सहयोगी किरोव लगायतको हत्या गरियो।स्टालिनको विरुद्ध षड्यन्त्र गर्नेहरु पनि केही आफैँ शिकार भए।जसमा प्रमुख लियोन ट्राटस्की थिए।तर गोप्य षड्यन्त्रकारीहरु पनि थिए,जस्तो ख्रुस्चेभ।जो जीवनभर स्टालिनको पूजा गरी बसे तर उनको देहावसान पछि केही वर्षमै स्टालिनका केही कमजोरीको बहनामा उनको निषेध गरे,जुन गोर्वाचोभमा आएर समापन भयो।

Lenin and Stalin,

यस्तै चीनमा पनि देखियो। सर्वहारा साँस्कृतिक क्रान्तिको समयमा माओको पूजा गर्ने लिनपियाव केही वर्षपछि नै नेताहरुको हत्यागर्ने षड्यन्त्रको सूत्रधार बन्यो तर चाओएनलाईको सतर्कताले ऊ असफल भयो,उसको नै अन्त्य भयो।भारतमा नेहरु र डाक्टर राजेन्द्रप्रसाद बीच पनि शक्ति संघर्ष चल्यो तर नेहरुलाई उनले दबाउन सकेनन्।

अफ्रिकी महादेशमा आधुनिकअल्जेरियाका संस्थापक अहमद बेनबेल्लालाई उनका सहयोगी बोमेदियनले यस्तै षड्यन्त्र गरे,उनलाई अपदस्थ गरे।मिश्रमा राजतन्त्रको अन्त्यपछि यसका प्रमुख नेता गमाल अब्दुल नासेर तुरुन्तै राष्ट्रपति हुन चाहेनन्,जब कि उनकै पालो थियो,उनको भनाइ थियो,हरेक क्रान्तिले प्रतिक्रान्ति जन्माउँछ।यो सत्य साबित भयो,त्यसको केही समयपछि अर्को सत्तापलट भयो,उनी आजीवन राष्ट्रपति बनिरहे।पाकिस्तानमा पनि लोकप्रिय नेता जुल्फिकार अलि भुट्टोलाई उनकै अनुयायी जियाउलहक उनको पतनका सूत्रधार बने,भुट्टोले उनलाई अति विश्वास गर्थे।

हिन्दचीनको सुन्दर देश कम्पुचियामा पोलपोट पनि यस्तै षड्यन्त्रको शिकार बने,उनकै सहयोगी हेङ सामरिनले भियतनामी सहयोगले पोलपोटलाई अपदस्थ गरे।अझ उनका घनिष्ठ सहयोद्धा ख्यु साम फान,इयङ सारी जस्ताले पनि उनको विरुद्ध षड्यन्त्र गर्न पछि परेनन्। अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्नबाट बच्न पोलपोटको साथ छोडे,तर शत्रुहरुले उनीहरुलाई पनि छोडेनन्,यो इतिहासको निर्मम पाठ हो।

आधुनिक नेपालको एकीकरण पछि पनि यस्ता घटना घटिरहे।कहिले दरबार भित्रको षड्यन्त्र,कहिले भारदारहरु बीचको षड्यन्त्र यस्तै भइरहे। जङ्गबहादुरका उत्तराधिकारी रणोद्दीप सिंह पनि यसको शिकार बने, उनलाई रामनामले पनि बचाउन सकेन,तर पहिला उनका भाइ-भतिजा उनका भक्त थिए। सुधारवादी शासक देव शमशेर आफू अपदस्थ हुँदासम्म भाइ-षड्यन्त्रबाट अनभिज्ञ रहे।चन्द्र शमशेर अगिल्लो दिनसम्म देवशमशेरको कोटको धूलो टक्टक्याउँदै थिए।२०१५ सालको निर्वाचनले स्थापित लोकप्रिय विपी कोइरालाको सरकार पनि विपीकै विश्वासपात्र डाक्टर तुल्सी गिरी र विश्वबन्धुको विश्वासघातको शिकार बन्यो।