पूर्व बडामहारानी कोमल शाहलाई अझै भएन स्वास्थ्यलाभ,राजा ज्ञानेन्द्र र प्रेरणाको भने स्वास्थ्य सामान्य

पूर्व बडामहारानी कोमल शाहलाई अझै भएन स्वास्थ्यलाभ,राजा ज्ञानेन्द्र र  प्रेरणाको भने स्वास्थ्य सामान्य

कोरोनाभाइरसको संक्रमण भएकी पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्यमा सुधार आउन नसकेको नर्भिक अस्पतालले जनाएको छ । उता राजा ज्ञानेन्द्र र प्रेरणाको भने अवस्था सामान्य छ।

राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहलाई बिहीबार प्लाज्मा दिइएको थियो। कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियूमा राखेर उपचार थालिएको थियो।

आइसियूमा राखेर उपचार गरिरहे पनि अवस्था सुधार नभएपछि उनलाई प्लाज्मा दिइएको थियो।

उपचारमा संलग्न नर्भिक इन्टरनेशनल अस्पतालका डाक्टरले प्लाज्मा दिँदा पनि उनले स्वास्थ्यलाभ लिन नसकिरहेको बताए। ‘प्लाज्माबाट उहाँको रगतमा आवश्यक अक्सिजनको मात्र बढ्नुपर्नेमा त्यो हुन सकेको छैन,’ डाक्टर जेपी जैसवालले बताए।

जैसवालका अनुसार कोमललाई पहिलेजस्तै प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइरहेको छ।

शाहको स्वास्थ्य स्थिर र गम्भीर रहेको नर्भिकका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए।

‘उहाँको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको छैन, पहिलेकै अवस्था हो,’ उनले भने।

कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र छोरी प्रेरणा वैशाख ७ गते नर्भिकमा भर्ना भएका थिए।

रानी कोमललाई तल्लो तलाको आइसियूमा राखिएको छ।

कोरोना संक्रमितलाई प्लाज्मा थेरापी महत्वपूर्ण उपचार विधि हो।

[email-subscribers-form id="2"]
TOP