अहिले मौन बस्ने भट्टराईको संकेत, ओलीका टिप्पणीको जवाफ चुनावपछि मात्र

अहिले मौन बस्ने भट्टराईको संकेत, ओलीका टिप्पणीको जवाफ चुनावपछि मात्र

काठमाडौं/ नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरूबारे दिएको सार्वजनिक अभिव्यक्तिलाई चुनावअघि बहसको विषय नबनाउने स्पष्ट पारेका छन्। उनले फागुन २१ गतेको निर्वाचनपछि मात्रै यसबारे धारणा सार्वजनिक गर्ने संकेत दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले बिहीबार कान्तिपुरसँगको अन्तर्वार्तामा अध्यक्ष ओलीले व्यक्त गरेका भनाइप्रति अहिले प्रतिक्रिया दिनु उचित नहुने बताएका हुन्। उनले चुनावी समयलाई पार्टीको साझा लक्ष्यमा केन्द्रित गर्नुपर्ने बेला भएको उल्लेख गरेका छन्।

उक्त अन्तर्वार्तामा अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे र योगेशकुमार भट्टराईको यसपटक जित्ने अवस्था नरहेको, बिन्दा पाण्डेको उम्मेदवारीको आधार कमजोर रहेको तथा गोकुल बाँस्कोटाका गतिविधिले कार्यकर्ता पंक्तिमा विभाजन ल्याएको टिप्पणी गरेका थिए।

भट्टराईले अहिलेको प्राथमिकता एमाले र सूर्य चिह्नको जित भएको उल्लेख गर्दै पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस नगर्ने अडान दोहोर्‍याएका छन्।
‘फागुन २१ गतेसम्म पार्टीभित्रका विषय बाहिर ल्याउनु उपयुक्त हुँदैन,’ उनले लेखेका छन्, ‘मेरो मिसन स्पष्ट छ—नेकपा एमाले र सूर्य चिह्न। नो इफ, नो बट।’

अध्यक्ष ओलीको अभिव्यक्तिले आफूलाई चिन्तित र दुःखी बनाएको स्वीकार गर्दै पनि भट्टराईले आफू विचलित वा निरास नभएको बताएका छन्। उनले टिकट र जितका विषयमा व्यंग्य गर्दै भनेका छन्, ‘जितको ग्यारेन्टीसहित कसैले लिखित कागज गरेर टिकट लिएको होला भन्ने मलाई विश्वास छैन।’

चुनावी प्रतिस्पर्धाको चर्को माहोलबीच भट्टराईको यो अभिव्यक्तिलाई पार्टी एकता र अनुशासन जोगाउने प्रयासका रूपमा हेरिएको छ।

[email-subscribers-form id="2"]
TOP