तीन कम्पनीको शेयरमूल्य समायोजन

तीन कम्पनीको शेयरमूल्य समायोजन
पुस ४ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले यस दिन सनराइज बैंक, प्रभु बैंक र मनकामना स्माट लघुवित्तको ६५ प्रतिशत, प्रभु बैंकको १२ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सनराइज बैंकको शेयरमूल्य २५४ रुपैयाँ १० पैसा, प्रभु बैंकको २९४ रुपयाँ ७३ पैसा र मनकामना स्मार्ट लघुवित्तको १ हजार ३३३ रुपैयाँ ३३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सनराइज बैंकको शेयर प्रतिकित्ता २७१ रुपैयाँ, प्रभु बैंकको ३३० रुपैयाँ १० पैसा र मनकामना स्मार्ट लघुवित्तको १ हजार ५६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस १५ गते आम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे चौधौं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले चुक्ता पूँजीको ६.६५ प्रतिशतको दरले हुन आउने ६३ करोड ९ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशतले हुन आउने ३ करोड ३२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले हाल कायम अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट १५ रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ। बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ पुग्नेछ। यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुमा एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ।

त्यस्तै, प्रभु बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न बैंकले पुस १८ गते, आइतबार बीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभामा भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

सभाले अन्य बैंकसँगै मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यता, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न पुस १९ गते, दिउँसो २ बजे, होटल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा चौथो वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७ प्रतिशत अर्थात २ करोड ५ लाख रुपैयाँ बराबरको बोनस शेयर पारित गर्नेछ। यस्तै, इजाजत प्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्नको लागि संञ्चालक समितिले अख्तियारी समेत दिनेछ। सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकको समेत चयन गरिनेछ।