मध्य भोटेकोशीको आईपिओ आज बाँडफाँड हुदै

मध्य भोटेकोशीको आईपिओ आज बाँडफाँड हुदै

मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ आज शुक्रबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान ९ बजे नक्साल स्थित क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गरेको हो । ९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको थियो । त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

यस आईपिओमा ४.५६ गुणा बढीको आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन सम्ममा आईपिओमा २४ लाख ७६ हजार ४ सय ८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ताको लागि आवेदन परेको हो । माग भन्दा बढीको आवेदन परिसकेकोले यो आईपिओ गोलाप्रथाबाट नै बाँडफांड हुने छ । यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाउने छन् ।

कम्पनीले यस अघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ। उनीहरुले सर्बसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन नपाउने ब्यबस्था गरिएको थियो। यदि आवेदन दिएको भए रद्द हुने छ ।

कम्पनी परिचय

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड प्रचलित कानुन बमोजिम २०६७ साल श्रावण १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । यस कम्पनीको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको साविक गाति (बाह्बिसे न.पा. ५) र मार्मिङ गा.वि.स. (भोटेकोशी गा.पा. ५) मा रहेको छ । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं.३, महाराजगंज, काठमाडौंमा रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा मध्य भोटेकोशी जलविद्युत आयोजना (१०२ मे.वा.) निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य मिति २०७० माघ २८ बाट प्रारम्भ भएको र सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदी विद्युत उत्पादनको लागि आवश्यक प्रमुख जलस्रोतको रुपमा रहेको छ ।