चीनमा बिजुली संकट, संसारका कम्पनीहरू तनावमा

चीनमा बिजुली संकट, संसारका कम्पनीहरू तनावमा

चीनको ऊर्जा संकटका कारण विश्वव्यापी आपूर्ति शृंखलामा समस्या पर्ने देखिएको छ । संसारको सबभन्दा ठूलो निर्यातक राष्ट्र चीनका कारखानाहरूले ऊर्जा बचाउनका लागि उत्पादन घटाइरहेका छन् ।

सन् २०२१ सकिन लागेको बेलामा बिदाका लागि मानिसहरू कपडा, खेलौना लगायतका सामग्रीको शपिङमा व्यस्त हुन लागेका छन् । तर कच्चा पदार्थको लागत बढिरहेको, बन्दरगाहमा धेरै ढिलाइ भइरहेको र जहाजमा राख्ने कन्टेनरहरूको अभाव भइरहेको स्थितिमा आपूर्ति शृंखला चौपट भइरहेको छ । त्यसमाथि अहिले ऊर्जा संकट आइलागेको छ ।

बिजुलीको उपयोगलाई घटाउनका लागि कठोर उपाय अपनाइँदा च्याङ्सु, चच्याङ र क्वाङदोङ प्रान्तहरूमा उत्पादन घट्ने र वस्तुको मूल्य बढ्ने चिनियाँ उत्पादकहरूले चेतावनी दिएका छन् । यी तीनवटा राज्यहरूले देशको कुल गार्हस्थ्य उत्पादनको लगभग एकतिहाइ भाग ओगट्छन् ।

स्थानीय सरकारहरूले ऊर्जा खपत तथा उत्सर्जन घनत्वको लक्ष्य पूरा गर्नका लागि विद्युत् आपूर्ति कटाउन निर्देशन दिइरहेका छन् । तर कतैकतै साँच्चै बिजुलीको अभावको स्थिति छ ।
चच्याङ प्रान्तमा भिटा लिजर कम्पनी चलाइरहेका क्लार्क फङले विद्युत् आपूर्ति घटाइँदा व्यापारमा घाटा लागेको बताए । उनले टेन्ट र फर्निचर किनेर विदेशमा बेच्ने गरेका छन् । तर बत्ती नभएपछि फ्याब्रिक बनाउनेहरूले उत्पादन घटाउनुपरेको र मूल्य बढाउनुपरेको छ अनि विदेशबाट आएको मागलाई अहिलेका लागि थाती राख्नुपरेको छ ।

चीनमा केही दिनअघि बन्दरगाहको गतिविधिमा समस्या आउँदा विश्वव्यापी आपूर्ति शृंखला हल्लिएको थियो । निङ्बो बन्दरगाह संसारकै सबभन्दा व्यस्तमा पर्छ तर अघिल्लो महिना त्यहाँ कोभिड देखिएपछि बन्द गरिएको थियो । अनि शनचनको यान्टियान बन्दरगाह मे महिनामा बन्द भएको थियो ।

त्यसमा अहिले ऊर्जा संकट थपिएको छ । यसले चीनको अर्थतन्त्रलाई थप सुस्त बनाउनेछ । कोरोनाभाइरस नियन्त्रणका लागि थप कठोर उपाय अपनाइएको र बजारलाई काबुमा राख्न थप नियन्त्रणहरू गरिएकाले अर्थतन्त्र गतिमान छैन ।

विद्युत् आपूर्तिमा कटौतीका कारण कुल गार्हस्थ्य उत्पादनको वृद्धि सुस्त हुने भनी नोमुरा होल्डिंग्स, चाइना इन्टरनेसनल क्यापिटल कोर्प र मोर्गन स्ट्यान्लीले समेत चेतावनी दिएका छन् ।

‘विश्व बजारले लत्ताकपडा, खेलौना र यन्त्रका पाटपुर्जाहरूको आपूर्तिको कमी झेल्नेछन्,’ हङकङमा रहेको नोमुरा होल्डिंग्स इन्कका प्रमुख अर्थशास्त्री लु तिङले बताए । ‘अब एभरग्रान्डको नभई विद्युत् आपूर्तिमा समस्याको विषय चर्चामा आउनेछ ।’

तर यसले उत्पादनमा पार्ने पूर्ण असर हेर्न बाँकी नै छ ।