
जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको नाफा बढ्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिने व्याजदर बढाएसंगै बीमा कम्पनीहरुको नाफा बढ्ने देखिएको हो ।
गत आर्थिक वर्षको अन्तिमसम्ममा बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेमा मात्रै ८२ प्रतिशत लगानी गरेका छन् ।
बीमा समितिले बीमा कम्पनीहरुको लगानीलाई विविधिकरण गर्न लगानी निर्देशिका जारी गरेको भएपनि कुल लगानीको ठुलो हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै रहेका छन् ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले कुल लगानीको ८२.१४ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुले पनि ८१.३० प्रतिशत बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका हुन् ।
यता वाणिज्य बैंकहरुले पनि असोज १ गतेदेखि लागु हुनेगरी मुद्दति निक्षेपको व्याजदर बढाएका छन् । बैंकहरुमा लगानी योग्य अभाव भएपछि मद्दती निक्षेपको ब्याजदर बढाए १० प्रतिशतको हराहरीमा पुर्याएका हुन् ।
बैंकहरुमा लगानीयोग्य रकम अभाव भएपछि निक्षेप खोसाखोसको अवस्था सुरु भएको छ । नयाँ निक्षेप नआए पनि आफ्नो निक्षेपलाई बाहिर जान नदिन निक्षेपमा ब्याजदर बढाएको बैंकरहरुको भनाई छ ।
बीमा कम्पनीहरुले आफुसँग भएको लगानी योग्य रकम विभिन्न क्षेत्रमा लगानी गरेर आम्दानी गर्ने गरेका छन् । त्यस मध्ये ठुलो रकम बैंक तथा मुद्दती निक्षेपमा लगानी भएकोले बीमा कम्पनीहरुको नाफा बढ्ने भएको हो ।
बैंकले दिने व्याजदर बढेपछि जीवन बीमा कम्पनीहरुको नाफा पनि बढ्ने महालक्ष्मी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको भनाई छ ।
‘जीवन बीमा कम्पनीहरुको अधिकतम लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप रहेको छ । जसले गर्दा बैंकले निक्षेपको व्याजदर बढाउनु बीमा कम्पनीहरुको लागि खुशिको कुरा हो । यसले बीमा कम्पनीको आम्दानी निश्चत रुपमा बढ्छ ।’ उनले भने, ‘आम्दानी बढेसँग बीमा कम्पनीहरुको पफमेन्स, बोनस लगायत सबै पक्षमा यसले सकारात्मक प्रभाव पार्छ ।’
शेयरमा लगानी गर्दा रिक्स हाई भएको बताउदै उनले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा सुरक्षित लगानी गर्नु परेको बताए ।
यस्तै नेपाल बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डेले भने जीवन बीमा कम्पनीहरुको जस्तो निर्जीवन बीमा कम्पनीहरुमा खासै प्रभाव नपार्ने बताउछन् ।
‘व्याजदर घट्ने बढ्नै भैरहेको हुन्छ । त्यसले निर्जीवन कम्पनीहरुको नाफामा खासै असर गर्दैन ।’ शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले भने, ‘मुद्धती निक्षेपको ब्याज बढ्दा सामान्य असर गर्ने भएपनि एकरदुई वर्ष मुद्धती निक्षेपमा लगानी गरेर खासै व्याज आम्दानी पनि हुदैन ।’
लगानीको अरु-अरू अवसर पनि रहेकोले मुद्धती निक्षेपमा ब्याज बढ्दा निर्जीवन बीमा कम्पनीहरुको नाफा खासै प्रभाव नपर्ने उनको भनाई छ ।
मुद्दती निक्षेपमा ८२ प्रतिशत लगानी
समितिले सर्वजनिक गरेको लगानी सम्बन्धी पछिल्लो तथ्यांक अनुसार ८२ प्रतिशत भन्दा धेरै रकम अझै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी रहेको छ ।
जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये ८२.१४ प्रतिशत अर्थात २ खर्ब ७८ अर्ब ५५ करोड रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका हुन् ।
जीवन बीमा कम्पनीहरूले ‘क’ वर्गको वाणिज्य बैंकहरुमा ७०.९३ प्रतिशत, ‘ख’ वर्गको विकास बैंकहरुमा ९.२८ प्रतिशत, ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थामा ०.९१ प्रतिशत र नेपाल पूर्वाधार बैंकमा ०.०६ प्रतिशत लगानी गरेका छन्
यस्तै, निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा ६३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ कुल लगानी गरेका छन् । त्यसमध्ये ८१.३० प्रतिशत अर्थात ४६ अर्ब ७१ करोड ५८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुले पनि ‘क’ वर्गको वाणिज्य बैंकहरुमा ७१.७९ प्रतिशत, ‘ख’ वर्गको विकास बैंकहरुमा ८.४५ प्रतिशत र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थामा १.०६ प्रतिशत र नेपाल पूर्वाधार बैंकमा ०.०६ प्रतिशत लगानी गरेका छन् ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि