लकडाउन गर्नुपूर्व उपत्यका छोड्न दुई दिनको समय दिइने

लकडाउन गर्नुपूर्व उपत्यका छोड्न दुई दिनको समय दिइने

सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भिर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने जानकारी दिनु भएको छ ।

सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी कम्तिमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो । बैठकमा कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

लकडाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भए पनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको प्रशासनको ठहर छ। त्यसैले थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निष्कर्ष निकालेको हो ।

काठमाडौं उपत्यका अन्तर्गतका तीन जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने टुंगो लागीसकेको छ ।