एभरेष्ट बैंकले पनि स्टयाण्डर्ड चार्टर्ड बैंकको पथ अपनायो

एभरेष्ट बैंकले पनि स्टयाण्डर्ड चार्टर्ड बैंकको पथ अपनायो

लाभांश दिने मामिलामा एभरेष्ट बैंकले पनि स्टयाण्डर्ड चार्टर्ड बैंकको पथ अपनाएको छ । २० प्रतिशत लाभांश वितरण गर्ने क्षमता भएको एभरेष्ट बैंकले १०.५३ प्रतिशत मात्र लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको छ ।

गत वर्ष २५ प्रतिशत लाभांश वितरण गरेको एभरेष्ट बैंकले अहिले त्यसको आधा पनि लाभांश वितरण गर्ने प्रस्ताव ल्याएन् । लगानकर्ताहरु एभरेष्ट बैंकले दिएको लाभांशलाई बच्चालाई चक्लेट दिएजस्तै भन्दै सामाजिक सञ्जालमा ब्याङग गरेका छन् ।

भारतको पञ्जाव नेशनल बैंकसँगको सहकार्यमा स्थापना भएको एभरेष्ट बैंकले यो वर्ष लगानीकर्तालाई खुशी पार्न सकेन । यसअघि लाभांश वितरण गर्ने प्रस्ताव गरेको स्टयाण्डर्ड चार्टर्ड बैंकप्रति पनि लगानीकर्ता खुशी हुन सकेका थिएनन् । एभरेष्ट बैंकले हिजो घोषणा गरेका लाभांशले त लगानीकर्ता झनै निराश हुन पुगे ।

उच्च लाभांश वितरण गर्ने क्षमता हुँदा हुँदै पनि यी दुई बैंकले यो वर्ष लगानीकर्ताहरुलाई निराश पार्ने काम गरेका छन् । स्टयाण्डर्ड चार्टर्ड बैंकको १७ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता थियो । उसले पनि त्यसमा कटौती गरेर ११.८४ ९बोनस ७ प्रतिशत र ४.८४० प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ताहरु उक्त बैंकप्रति खुशी छैनन् ।

स्टयाण्डर्ड चार्टर्डले गत साता लगानीकर्तालाई निराश पार्ने काम गरेकोमा यस साता एभरेष्ट बैंकले लगानीकर्तालाई निराश पार्ने काम गर्यो । एसबीआइ बैंकले पनि लगानीकर्तालाई यी दुई बैंकले जस्तै निराश पार्ने काम गर्ने अनुमान लगानीकर्ताले गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकले स्टयाण्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गरेको लाभांश स्वीकृत नगरेजस्तै एभरेष्ट बैंकको पनि लाभांश स्वीकृति गर्ने सम्भाव कम रहेको लगानीकर्ताको भनाइ छ । राष्ट्र बैंकले सिटिजन्स बैंकको लाभांशलाई परिवर्तन गरि दिएजस्तै स्टयाण्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको लाभांश पनि परिवर्तन गरि दिने सम्भावना छ ।

सिटिजन्स बैंकले सुरुमा ७.७० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको थियो । त्यसलाई राष्ट्र बैंकले परिवर्तन गरि दिएर ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद दिन भनेपछि सिटिजन्स बैंकले हिजो मात्र लगानीकर्तालाई दिने लाभांश परिमार्जन गर्न पुगेको थियो ।

राष्ट्र बैंकले ७० प्रतिशत बोनस र ३० प्रतिशतको नीति ल्याएको छ । केन्द्रीय बैंकले ल्याएको उक्त नीतिको पालना नगर्ने बैंकको लाभांश परिवर्तन गरिने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

एभरेष्ट बैंक र स्टयाण्डर्ड बैंकले लगानीकर्तालाई वितरण गर्न सक्ने उक्त रकम रिजर्भमा राखेका छन् । उनीहरुले त्यसरी राखेको रकमले बैंकको वित्तीय अवस्था बलियो बन्ने कुरामा त कुनै शंका भएन । तर यसपाली लाभांश रकम लगानीकर्ताले नपाउदा लगानीकर्ता उत्साहित हुन नसकेका हुन् ।

‘बैंकको वित्तीय स्थिति बलियो बनाउन रिजर्भमा रकम राख्नु बैंकका लागि फाइदा हो,’ एक लगानीकर्ताले भने, ‘तर, लगानीकर्ताले यसै वर्ष पाउने लाभांश पछिका लागि सरेकाले अहिलेका लगानीकर्तालाई मर्का पर्न गएको हो ।’
एभरेष्ट र स्टयाण्डर्ड चार्टर्ड बैंकले चुक्ता पुँजी बढाउन नचाहेको प्रष्ट हुन्छ । अहिले एभरेष्ट बैंकको चुक्ता पुँजी ८ अर्ब ५३ करोड र स्टयाण्डर्ड चार्टर्ड बैंकको ८ अर्ब १ करोड रुपैयाँ छ । ‘चुक्ता पुँजी बढाउँदा वित्तीकैं प्रति शेयर आम्दानी पनि बढाउनु पर्ने र त्यसका लागि व्यापार पनि बढाउनु पर्ने हुन्छ,’ ती लगानीकर्ताले भने, ‘बैंकले व्यापार त्यति नचाहेको पनि प्रष्ट हुन्छ ।’

विदेशी लगानीमा स्थापित बैंक भएकाले एभरेष्ट र स्टयाण्डर्ड चार्टर्ड बैंकले बोनस दिएर चुक्ता पुँजी बढाउनु भन्दा नगद नै लान चाहेको प्रष्ट हुन्छ । यसअघि पनि यी दुई बैंकले चुक्ता पुँजी बढाउन चाहेका थिएनन् ।

तर राष्ट्र बैंकले समय सिमा निर्धारण गरेर २ अर्बको चुक्ता पुँजी ८ अर्ब बनाउनै पर्ने नीति ल्याएपछि बोनस शेयरबाट चुक्ता पुँजी ८ अर्ब पुर्याएका थिए । त्यसपछि चुक्ता पुँजी बढाउन चाहेका छैनन् । किनकी चुक्ता पुँजी बढाउँदा बित्तीकै आम्दानी बढाउनु पर्ने र नगद लाभांश लान नपाइने भएकाले बोनस शेयर दिन चाहदैनन् ।

यी दुई बैंकले पहिला जस्तो आक्रमक रुपमा लगानी विस्तार गर्न पनि सकिरहेका छैनन् । लगानी बढाउन नचाहेकै कारण बैंकको नाफा पनि खासै बढन सकेको छैन् ।

एभरेष्ट बैंकको गत आर्थिक वर्षमा नाफा १८.२६ प्रतिशतले घटेको थियो । कारोना भाइरसका कारण बैंकको नाफा खुम्चिएको बैंकको भनाइ छ ।

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७६ र ७७ मा २ अर्ब ४९ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ५ करोड थियो ।

एभरेष्ट बैंकले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण भने अहिलेसम्म सार्वजनिक गरेको छैन् । उक्त अवधिमा बैंकले कति नाफा गर्यो त्यो भने हेर्न बाँकी नै छ । गत असारसमान्तसम्म बैंकको खराव कर्जा ०.२२ प्रतिशत रहेकाले बैंकको वित्तीय स्थिति बलियो भएको देखिन्छ ।

तर एभरेष्ट बैंकले यस वर्ष लाभांश वितरण गर्न सक्ने क्षमता हुँदा हुँदै पनि लाभांश वितरण नगरेर रिजर्भमा राखेका कारण लगानीकर्ता त्यति खुशी हुन सकेका छैनन् । उक्त बैंकले लाभांश दिने क्षमताका आधा मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।