मिथिला लघुवित्तको नाफा २४२.५२ बढ्यो

मिथिला लघुवित्तको नाफा २४२.५२ बढ्यो

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो नाफा लघुवित्तको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब साढे ३ गुणा अर्थात २४२.५२ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी बढेसँगै अन्य सञ्चालन आम्दानी बढ्को र निष्क्रिय कर्जा घटेका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६७ लाख ९५ हजार रुपैयाँ बढेर २ करोड ५६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी ६९ लाख रुपैयाँबाट बढेर १ करोड १६ लाख रुपैयाँ, र सञ्चालन मुनाफा ७१ लाख ८४ हजार रुपैयाँबाट बढेर २ करोड १५ लाख रुपैयाँ पुगेको छ। निष्क्रिय कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको सञ्चालन मुनाफा बढेको हो।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.१४ प्रतशितविन्दु घटेर १.३८ प्रतिशतमा झरेको छ। यससँगै, गत आवको असोज मसान्तमा सम्भावित जोखिम बापतको व्यवस्थामा २८ लाख ३९ हजार रुपैयाँ छुट्याएको यस लघुवित्तले चालु आवको सोही अवधिको यस्तो व्यवस्था बापत ६३ हजार रुपैयाँमात्र छुट्याएको छ। यसले लघुवित्तको सञ्चालन मुनाफा बढाउन टेवा पुगेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ३१ लाख ८८ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ। जसले गर्दा लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ७९ पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात १४.३३ गुणा कायम भएको छ।

१२ करोड १७ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ४५ लाख हजार ६७ हजार रुपैयाँ सञ्चित छ। गत आवको सोही अवधिमा लघुवित्तको जगेडा कोषमा ६ करोड ३४ लाख ९८ हजार रुपैयाँ रहेको थियो।

असोज मसान्तसम्ममा लघुवित्तले ९१ करोड ४१ लाख ९१ हजार रुपैयाँ सापटी तथा ४१ करोड १६ हजार ६३ रुपैयाँ निक्षेपबाट १ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

[email-subscribers-form id="2"]
TOP