“एकता, संघर्ष र रुपान्तरण आजको आवश्यकता हो”

“एकता, संघर्ष र रुपान्तरण आजको आवश्यकता हो”

(लेखक सीपी कडरिया नेता सत्तारुढ नेकपाका प्रदेश-१ कमिटीका सदस्य हुन् )

एउटा भनाइ छ- “यदि तिम्रो व्यवहार र कामले कसैलाई सपना देख्ने बनाउँछ, असल काम गर्न प्रेरित गर्छ, उसको लक्ष्यमा पुग्न हौसला थप्छ भने मात्र तिमी नेता हुन्छौं । हा”म्रो हकमा त्यो सपना देख्न सिकाउने अस्त्र भनेकै सही विचारधारात्मक एंव राजनीतिक कार्यदिशा हो । विचारधारा र राजनीतिक कार्यदिशा पनि जड कुरा होइन, यो निरन्तर विकासको प्रक्रियामा हुन्छ । बदलिंदो परिवेश अनुसार यसलाई विकास गर्दै जानुपर्छ ।

हामी कम्युनिष्टहरुले हमेसा मनन गर्नुपर्ने सोभियत समाजवादी क्रान्तिका नायक लेनिनको एउटा भनाइ छ– “हामी माक्र्सवादको सिद्धान्तलाई बिल्कुल पूर्ण र अनुलंघनीय ठान्दैनौ । यसको विपरीत, हामी विश्वस्त छौं कि माक्र्सवादले त्यो विज्ञानको जग मात्र हालेको छ, जसलाई समाजवादीहरुले, यदि उनीहरु जीवनमा पछि पर्न चाहँदैनन् भने, चौतर्फी विकास गर्नुपर्छ ।” हामी माक्र्स–एंगेल्स–लेनिनहरु हुर्किएको परिवेसभन्दा विल्कुल भिन्न ठाउँमा छौं । विज्ञान–प्रविधिको असाधारण क्रान्ति (विशेषगरी जेनेटिक इन्जिनियरिङ र इन्टरनेटले ल्याएको क्रान्ति) ले हामीलाई विचारधारात्मक क्षेत्रमा नयाँ बहस र विकासको जरुरी परिसकेको छ । तर आजभोली हाम्रा सपनाहरु धमिलो बन्न खोजिरहेको छ । हामी विचारधारात्मक र राजनीतिक कार्यदिशामा केन्द्रित बहसभन्दा दिनदिनैको धपेडी र तत्कालिन घटनाक्रममा आधारित आग्रह–पूर्वाग्रहको मोलतोलमै समयको बरवादी गरिरहेका छौं ।

कम्युनिष्ट आन्दोलनमा विचार, सिद्धान्त, कार्यदिशा, रणनीति, कार्यनीति नेतृत्व र कार्यशैलीको सवाल जहिल्यै पनि प्रधान बनेर आउँछ । विचारधारात्मक र राजनीतिक कार्यदिशाले अन्य सबै पक्षको निर्धारण गर्दछ । यस सन्दर्भमा चिनिया जनवादी क्रान्तिका नायक माओत्सेतुङ भन्नुहुन्छ, “विचारधारात्मक एवं राजनीतिक लाइन सही या गलत हुनुले सम्पूर्ण कुराको निर्धारण गर्छ । लाइन सही छ भने गुमेले कुराहरु पनि प्राप्त हुन्छन्, लाइन गलत छ भने प्राप्त भएको कुराहरु पनि एक पछि अर्को गर्दै गुम्दै जान्छन् ।”

विचारधारात्मक र राजनीतिक कार्यदिशा निर्धारण भएपछिको महत्वपूर्ण सवाल संगठन हो । संगठनमा नेता, कार्यकर्ता र जनताको तहगत परिचालनको पक्ष आँउछ । एक्काइसौं शताब्दीमा कस्तो नेतृत्व प्रणाली हुनु पर्दछ भन्ने विषय संगठनको हकमा आजको एक मुख्य सवाल हो । अझ हाम्रो पुस्ताले त नेतृत्वको सवाल मात्रै होइन, नेतृत्वको श्रृंखलावद्ध लामबन्दीमा जोड गर्न जरुरी भइसकेको छ । अन्यथा एक–दुई नेतृत्वले आजिवन पार्टीको नेतृत्व गरिरहने र देशले युवापुस्ताको नेतृत्व पाउन नसक्ने दुख विरासतले निरन्तरता पाउने निश्चित प्राय छ । दुखको कुरा आज कार्यदिशा र नेतृत्व विकासको सवालमा कमै मात्र बहस हुने गरेको छ । अब यी र यस्ता यक्ष प्रश्नतर्फ हामी गम्भिर बहस र समिक्षा गर्ने कि नगर्ने ? यता बहसको मियो सोझ्याउने हिम्मत गर्ने कि नगर्ने ?

क्रान्ति भनेको न त स्वतःस्फुर्त वस्तुगत विकास प्रक्रिया मात्रै हो न त सचेत आत्मगत चाहना र हस्तक्षेप मात्र । यो त स्वस्फुर्त वस्तुगत प्रक्रिया र सचेतनापूर्वक बनाइने योजनाको कुल योग हो । अर्थात् यसो भन्न सकिन्छ कि भौतिक परिस्थिति र सचेत पहलकदमीको अन्योन्याश्रित प्रक्रिया हो । नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने सवालमा ५० औं वर्षदेखि बहस हुँदै आयो तर एउटै कम्युनिष्ट बन्न किन सकेन् ? “संसारका श्रमजीविहरु एक होऔं” को नारामुनि गोलबन्दहुनेहरु किन अनेकतामा रहने भयौं ? हाम्रा उद्देश्य र यथार्थबीच भेट किन हुँदैन ?

आधारभूत रुपमा विचारधारात्मक प्रश्नहरु र मार्गदर्शक सिद्धान्तहरु एउटै रहँदारहँदै पनि पार्टी एकताको वातावरण बन्ननसकेको घटनादेखि विचारधारात्मक प्रश्नहरु र मार्गदर्शक सिद्धान्तहरुमा रहेका भतभिन्नतालाई थाति राखेर पनि पार्टी एकता भएकोसम्मको एकता र विभाजनको विषम प्रवृत्ति हामीसामु रहेको कुरा इतिहास साक्षि छ । एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने सवालमा विगत ५० वर्षबाट विभिन्न कोणबाट बहस हुँदै आयो । सापेक्षित रुप्मा ध्रुवीकरण र एकीकरणको सामान्य मानचित्र देखिदै पनि आयो । तीमध्ये नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले) विचको एकता अलि बढी दूरगामी महत्वको रहेको छ । यसमा कही कतै दुविधा छैन । तर के यो एकता आत्मगत पक्ष कसैको इच्छाको परिणाम मात्रै हो त ? वा परिपक्क वस्तुगत वातावरणको फल मात्रै हो ? के सचेतन पक्षको पहल थिएन ? यो त माथि भनिएझै पार्टी र नेतृत्वको सचेत आत्मगत योजना र नेपाली समाजको बदलिंदो अन्तर्विरोधको जगमा खडा भएको वस्तुगत घटनाक्रम दुबैको कुल योग हो । विधिमा जाँदा नेतृत्वलाई यसको जस जान्छ नै तर नेतृत्वको मात्र चाहनाको विषय भने यो अवस्य होइन । यसमा कसैले घमण्ड गर्न जरुरी छैन । तर एकता जुन विचारधारात्मक एवं राजनीतिक उद्देश्यका आधारमा भयो । त्यस खास उद्देश्यलाई किनारा लगाएर समसामयिक घटनाक्रमको भूलभूलैयामा फस्ने काम भइरहेको छ । यो त्यति सान्दर्भिक र आवश्यक दुवै छैन । फेरि पनि विचार, विधि र नेतृत्वको सवाल अहम् सवाल नै हो । यसलाई सहायक बनाएर गरिने नाजायज विमर्श र तर्कले आन्दोलनको विसर्जनबाहेक अर्को कुनै परिणाम निस्कदैन ।

एउटा सान्दर्भिक “सिंह र हरिणको कथा” छ । यस कथामा सिंहले हरिणलाई आफू रहेजस्तै अर्को डाँडोमा देख्छ । सिंहले पूरा ताकतका साथ हरिणलाई लखेट्न शुरु गर्छ । जब सिंह हरिण भएको ठाउँमा पुग्छ, हरिण यसअघी नै अर्को डाँडोमा पुगिसकेको हुन्छ । यो प्रक्रिाय घण्टौं चलिरहन्छ । तर सिंहले हरिणलाई भेट्न सक्दैन । सिंहले अब बन देवतालाई सोध्छ । हे देवता ! म यत्रो ठूलो जंगलको राजा भएर पनि यति जावो हरिणलाई किन भेट्न सकिन ? वनदेवताले सिंहलाई जवाफ दिदै भन्छ– हे सिंह ! तिमी एक छाक टार्नको लागि दौडियौं, तर विचरा त्यो हरिण सिंगो जीवनका लागि दौडियो । त्यसैले तिमी दौडमा पराजित भयौं र उसले दौड जित्यो । यस कथामा सिंहको संघर्ष एक छाका लागि थियो, हरिणको संघर्ष जीवन मरणको लागि । अतः हाम्रा अगाडि पनि यस्तै गंम्भिर सवाल खडा भएको छ । के हामी सिंहले जस्तो एक छाकका लागि संघर्ष गर्ने कि हरिणले जस्तै जीवन मरणको ? हामी कतै तत्कालिन र कम महत्वका विषयहरुमा भूलिरहेर जीवन मरणको रणनीतिक र विचारधारात्मक राजनीतिक मिसनमा त हारिरहेका छैनौ ? अब हामी गम्भिर बन्ने कि नबन्ने ? विचारधारात्मक राजनीतिक बहसको मियो सोझ्याउने कि न नसोझ्याउने ? प्रश्न खरो रुपमा उठिसकेको छ ।

नेपाली जनयुद्धले नेपाली समाजमा अभूतपूर्व जागरण ल्यायो, जसले अढाइसय वर्षे सामन्ती राजतन्त्रको जरा हल्लायो । उत्पिडित, दमित महिला, दलित आदिवासी जनताती, मजदुर, किसान सबैमा छालमय जागरण ल्यायो । आजको परिवर्तनको मूल श्रेय त्यही नै हो, यो इतिहासको सच्चाइ हो । जनयुद्धकै उत्कर्षका बेला तत्कालिन माओवादी र सात राजनीतिक दलबीच बाह्रबुँदे सहमतिको जगमा दोस्रो जनआन्दोलन भयो । वार्ता र आन्दोलनको एक मूल मुद्धा संविधान सभाको चुनावपछि राजतन्त्र औपचारिक रुपमा समाप्त भयो । जनयुद्ध र जनआन्दोलनको अनिवार्य संयोजनबाट नै राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएको हो । यो आधुनिक विश्व इतिहासको एक बिरलै घटना हो । कम्युनिष्ट आन्दोलनका अध्यताहरुले यसबारेमा थप्रै पुस्तकहरु पनि लेखिसकेका छन् । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहास जनयुद्ध र जनआन्दोलनको संयोजन गर्ने हाम्रो मौलिक विकासले समृद्ध बनिसकेको छ । आजको विश्वमा चीन, भियतनाम, लाओस, उत्तर कोरिया र क्युवापछि नेपाल छैठौं देश भएको छ, जहाँ कम्युनिष्टहरुले शासन गरिरहेकाछन् ।

लोकतान्त्रीक गणतन्त्र स्थापनापछि इतिहासले हामीलाई अर्को ऐतिहासिक कसीमा राखेरै छोड्यो । लोकतान्त्रीक गणतन्त्रमै सीमित हुन्छौं कि त्यसबाट अगाडि बढ्न चाहन्छौं ? इतिहासले हामीलाई प्रश्न सोध्यो । इतिहासले सोधेको प्रश्नको जवाफ दिने क्रममा हामी पार्टी एकता गर्ने एक ऐतिहासिक मोडमा आइपुग्यौं । हाम्रा पूर्व पार्टीहरु अलग–अलग हुँदाका पछिल्ला संश्लेषणहरु खासगरि नेपाली मौलिकताको जनवादी क्रान्ति सम्पन्न भयो र अबको राजनीतिक दिशा– वैज्ञानिक समाजवाद हो । संक्रमणकालको लागि जनताको जनवाद हुँदै समाजवादको यात्रा तय गरिसकिएको छ । आगामी महाधिवेशनले यसलाई थप विकास र संश्लेषण गर्ने नै छ ।

कम्युनिष्ट र चुनाव

कतिपय साथीहरु चुनावी प्रणालीको आविष्कार गरेको श्रेय हामीले लिनु पर्दछ भन्दैछन् । आधुनिक विश्व राजनीतिक प्रणाली र चुनावको इतिहास अध्ययन गरेको जो कसैले भन्न सक्छ कि चुनावी प्रणाली आविष्कार गरेको श्रेय हामीलाई जाँदैन । सामन्तवादको अन्त्य र पूँजीवादको शुरुवातसँगै यूरोपमा शुरुमा पुरुष (दास र मजदुर बाहेकका) लागि चुनाव भएको थियो र पछि सबैको लागि । बहुमतको सरकार र अल्पमतको विपक्ष, आवधिक निर्वाचन, शक्ति पृथकिकरण, मानव अधिकार, नागरिक समाज, प्रेश स्वतन्त्रता यी सब कम्युनिष्टका आविष्कार होइनन् । अहिलेको बेलायतमा यी सबै छैनन् र ? कम्युनिष्टहरुमा चुनावी प्रणालीको शुरुवात गरेको वा आविष्कार गरेको श्रेय पनि हामीले कसरी लिन सक्छौं र ? नेपाल कम्युनिष्ट पार्टीको जन्म हुनु अघि नै यूरोपका धेरै जसो देशरुमा लोकप्रिय मत कम्युनिष्टहरुले प्राप्त गरिसकेका थिए । खासगरी फ्रान्स, जर्मनी, बेलायत, इटली र पछि अमेरिकामा पनि । नेपालमा त धेरै पछि पन्ध्रसालको आम निर्वाचनमा नेकपाले भाग लिएर चार सिट पनि जितेको थियो । हामीलाई कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गरेको होइन, बुर्जुवाकरण गरेको श्रेय हो वास्तवमा । यसो त कम्युनिष्हरु पनि सिद्धान्ततः चुनावको विरोधी हुँदैनन् । कम्युनिष्टहरुको पहिलो सत्ता पेरिस कम्युनले त पार्टीमात्र होइन, कर्मचारी र न्यायधिशहरु पनि निर्वाचित हुनु पर्ने दस्ताबेज पारित गरेको थियो ।

तर के हाम्रो दस्तावेज र कार्यदिशा बमोजिमको कार्यक्रम अनुरुप नै जनताको जीवनस्तरमा आधारभूत परिवर्तन ल्याउन सक्यौं त ? के शासन व्यवस्था वा राज्य संयन्त्रको गतिविधिहरुबाट जनतालाई हामीले विगतमा गरेको प्रतिवद्धताअनुसार नै अलि फरक अनुभूति दिलाउन सक्यौं त ? अब इतिहासले हामीलाई अलि फरक स्वरुपमा अर्को प्रश्न गर्दै छ । निर्ममतापूर्वक कसीमा राख्न खोज्दैछ वा अग्नीपरिक्षा लिन खोज्दैछ ।

परिवर्तन र सन्दर्भ फरक पर्नसक्छ । तर हाम्रा दुई अग्रजहरुको समकालीन भनाइले यसवेला हामीजस्ता क्याडरहरुलाई अलि पिरोलीरहेको छ । मलाई झल्झली सम्झना छ कि समकालिन दक्षिण एसियाली राजनीतिक र राज्य व्यवस्थाहरुको विश्लेषण गर्दैै चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष कमरेड माओत्सेतुङले सम्बोधन गर्नुभएको विचार थियो– “हिन्दुस्थानको गणतन्त्रभन्दा नेपालको राजतन्त्र नै ठिक ।” तर यसको अर्थ यो थिएन कि व्यवस्था र शासनप्रणालीको दृष्टिले गणतन्त्रभन्दा राजतन्त्र ठिक सावित होस् । बरु सवाल त के हो भने जननेता कमरेड मदन भण्डारीले काठमाडौंका खुल्लामञ्चमा भन्नुभए झै यदि जनताको जीवन स्तरमा आमूल परिवर्तन आउँदैन भने राजा रहनु र नरहुनमा खासै अन्तर रहन्न । तसर्थ सरोकार यो होइन कि हाम्रो शासन व्यवस्था, शासन प्रणाली र शासकीय स्वरुपको नाम के हुने ? बरु सरोकार यसमा हो कि हाम्रो यस शासन प्रणाली अन्तर्गत व्यवस्थामा आमूल परिवर्तन वा आधारभूत परिवर्तन आयो कि आएन ? अब हामी यस विषयमा गम्भीर बन्ने कि नबन्ने ।

यहाँ सवाल पार्टी र आन्दोलनको जीवनको हो । यस अन्तर्गत विचारधारात्मक र राजनीतिक कार्यदिशा अनुरुपको नेतृत्व र प्रणाली पर्दछन् । सरकार र यसको विद्यमान कामकारवाहीहरु पर्दछन् । हामीले पार्टीको दृष्टिलाई सरकारको कामकारबाहीमा सापेक्षित रुपमा व्यक्त गर्न सक्छौं या सक्दैनौं ? जनदिशामा आधारित पार्टी बन्ने दृष्टिकोणसँग सरकारको मोर्चाबाट व्यक्त गर्न सकिरहेका छौं या छैनौं ? आज भ्रष्टाचारको नाङ्गो बचावट, कमिसनखोरहरुको संरक्षण, नातावाद र कृपावादले राष्ट्रिय जीवनलाई भत्भती पोलीरहँदा हामी मौन किन ? आमा नागरिकले उठाइरहेका यस्ता तमाम सवालहरुको जवाफ हामीले निर्मम भएर दिन सक्नुपर्दछ ।

कम्तिमा हामी युवा पुस्ताका कम्युनिष्टहरु “ग्रेड डिबेट” का लागि तयार बनौं । विचार, विधी र नेतृत्वको पिरामिड तयार गर्ने कुरालाई बहसको मियो बनाऔं । राष्ट्रिय जीवनलाई जनदिशा अनुरुप अगाडि बढौँ । नत्र ठूलो पार्टीको घमण्डले एकदुई पटक फूल्न त सकिएला तर फैलन सकिन्न । समयको प्रवाह र प्रतिकूल परिस्थितिसँग संघर्ष गर्न नसक्दा डाइनोसर जस्तो शक्तिशाली जनावरहरु लोप भएको कुरा जीव विज्ञानमा साक्षी छ । विचार र कार्यदिशको विकासमा जुटौं । एकता, संघर्ष र रुपान्तरण आजको आवश्यकता हो र यसैमा हाम्रो भविष्य छ । अस्तु ।