
(लेखक राजकुमार श्रेष्ठ नयाँ समाज (nayasamaaj.com) का सम्पादक तथा समाजवाद अध्यय प्रतिष्ठानका सदस्य हुन्)
हरेक विचार समयको विकासक्रमसँगै परिवर्तन हुन्छ भन्ने मार्क्सवादी दर्शन आफैमा पनि त्यो नियम लागु हुन्छ । मार्क्सवादले विचारधाराको क्षेत्रमा वर्तमान युगको नेतृत्व गर्न सकिरहेको छैन् । यसको कारण हो– मार्क्सवाद जुन परिवेशमा आएको थियो, त्यो परिवेश नै अहिले बदलिएको छ । समाजवादीहरुले वर्तमान युगको संश्लेषणसहित मार्क्सवादमा विकास गर्न जरुरी छ । समाजवाद मार्क्सवादका लागि होइन, मार्क्सवाद समाजवादका लागि हो । यदि समाजवादी व्यवस्थाका लागि मार्क्सवादभन्दा उच्चस्तरको अरु कुनै दर्शन आएको छ भने के समाजवादीहरुले मार्क्सवाद समातेर बस्न अनिवार्य छ ? के समाजवादीहरुका लागि समाजवादभन्दा मार्क्सवाद प्रिय हुनसक्छ ? यस्ता सवालहरुको जवाफ समाजवादले दिन सक्छ कि सक्दैन ? भन्ने प्रश्न पेचिलो बनेर देखा परेको छ ।
मार्क्सवादीहरुले अस्विकार गर्दै आएको उत्तर–आधुनिकतावाद समाजवादको बहसभित्र अब जबरजस्त प्रवेश गरेको छ र यसलाई मार्क्सवादीहरुले योभन्दा अगाडि बढ्ने हो भने पचाउन अनिवार्यजस्तै बनेको छ । यस आलेखमा उत्तर–आधुनिकतावाद किन महत्वपूर्ण विचारधारा हो ? यस दर्शनको विशेषता के हो ? कसरी यो दर्शन वर्तमान युगको विचारधाराका रुपमा देखा परिरहेको छ भन्नेबारे सामान्य चर्चा गरिएको छ । नयाँ–नयाँ चुनौतीहरुको समाधानबाट नै समाज अगाडि बढ्ने भएकाले मार्क्सवादका अगाडि चुनौतीहरु देखा पर्नु सकारात्मक नै छ । त्यसको समाधान गर्न सकिन्छ कि सकिंदैन सवाल यो हो । विशेषगरी समाजवादी वृत्तमा यसबारे गहन अध्ययन र विमर्श होस् भन्ने अपेक्षा हो ।
वर्तमान युग विज्ञान–प्रविधिको युग हो । विज्ञान–प्रविधि गणित, भाषाविज्ञान र तर्कशास्त्रमा आधारित छ । उत्तर–आधुनिक दर्शन पनि तर्क, गणित र भाषविज्ञान समेटेर आएको छ । यसमा क्वाण्टम विज्ञानको मुख्य भूमिका छ । यी विषयको संलेषणविना शास्त्रीय मार्क्सवादले वर्तमान युगलाई दिशा निर्देश गर्न संभव छैन् । यदि यसो हो भने हामी समाजवादीहरु मार्क्सवादको विकासविना कसरी अगाडि बढ्न सक्छौं ?
दोस्रो विश्वयुद्धको अन्त्यसँगै आधुनिक युगमा विकासभएको स्वतन्त्रतावादी धारा सुन्यवादमा र प्रगतिवादी/विकासवादी धारा विसंगतीवादी धारामा टुंगिएपछि उत्तर–आधुनिक युग शुरु भएको मानिन्छ । आधुनिक युगको मुख्य दुई धाराहरु अस्तित्ववाद र प्रगतिवादको मानिस अब स्वतन्त्रतापूर्वक रहन सक्छ र निरन्तर प्रगति भइरहन्छ भन्ने मान्यता थियो । अमेरिकाले जापानको नागासाकी र हिरोसिमामा आणविक वम खसालेर ध्वस्त बनायो । यसरी आधुनिक युगको यी दुई मान्यता दोस्रो विश्वयुद्धको अन्त्यसँगै समाप्त भएर उत्तर–आधुनिक युग शुरु भएको मानिन्छ ।
वर्तमान युगलाई विभिन्न नामले चिन्ने गरिएको छ । उत्तर-आधुनिक युग, भूमण्डलिकरणको युग, सूचना–प्रविधिको युग, ज्ञान/सिद्धान्तको युग, उत्तर–औधोगिक युग इत्यादि । सूचना–प्रविधिलाई मूख्य ठान्नेहरुले यस युगलाई सूचना–प्रविधिको युग भनेका छन् । ज्ञान/सिद्धान्तलाई मुख्य ठान्नेहरुले ज्ञानको युग भनेर मानेका छन् । उत्तर–औधोगिक युगबारे डेनियल बेलले “द कमिङ अफ पोष्ट इन्डस्ट्रीयल सोसाइटी” नामक पुस्तकमा व्याख्या गरेका छन् ।
वर्तमान युगको प्रमुख घटना वैज्ञानिक प्राविधिक क्रान्ति हो । वैज्ञानिक प्राविधिक क्रान्तिका कारण वर्तमान युग विगतको सम्पूर्ण युगभन्दा अलग छ । हामी यस्तो संसारमा बसिरहेका छौं, जुन विगतमा कहिल्यै थिएन । अहिलेको विज्ञान–प्रविधि ज्ञान (तर्क, गणित र भाषाशास्त्र) मा आधारित छ । अब ज्ञान, सिद्धान्त जोसँग छ, उहीँ शक्तिशाली हुन संभव भएको छ । पूर्वीय दर्शनको नीतिशास्त्रमा श्लोक छ– विद्याधनम् सर्व धनम् प्रधानम् । यो कुरा अहिले आएर यथार्थमा रुपान्तरण भएको छ । अहिले सिद्धान्त भयो भने एटमिक हतियारदेखि लिएर सम्पूर्ण वैज्ञानिक संरचना निर्माण गर्न संभव भएको छ । यसकारण पनि वैज्ञानिक समाजवादी क्रान्तिका लागि नयाँ क्रान्तिको मोडल विकास गर्न आवश्यक छ । त्यो मार्क्सवादको विकासबाट मात्र संभव हुन्छ ।
विज्ञान–प्रविधि विगतमा पनि थियो । विज्ञान–प्रविधि उपकरण, यन्त्र हुँदै स्वचालनमा आइपुगेको छ । अहिलेको विज्ञान–प्रविधि मानिसलेभन्दा बुद्धिमत्तापूर्वक काम गर्न सक्छ । यो विगतमा कहिल्यै पनि प्रमुख उत्पादक शक्तिको रुपमा आएको थिएन, तर अहिले विज्ञान–प्रविधि प्रमुख उत्पादक शक्तिको रुपमा आएको छ र मानव श्रम उत्पादनको क्षेत्रबाट विस्थापित हुँदै गएको छ । यो असाधारण क्रान्ति हो । यसको संश्लेषण मार्क्सवादी/समाजवादीहरुले गर्नु अनिवार्य छ । समाजवाबारे गरिने विमर्श यदि बौद्धिक विलासका लागि गरिदै छैन् भने विज्ञान–प्रविधिले ल्याएको उत्पादन क्षेत्रको क्रान्ति, पुँजीवादी व्यवस्थाको चरित्रमा पारेको प्रभाव र सामाजिक सम्बन्धहरुमा आएको फेरबदलतर्फ केन्द्रीत गर्न जरुरी छ ।
उत्तर–आधुनिकतावादको सुरुवात मूलतः तीन विचारधराबाट हुन्छ– तार्किक प्रत्यक्षवाद, तार्किक परमाणुवाद र विश्लेषणात्मक दर्शन अर्थात् भाषिक दर्शन । यसरी उत्तर–आधुनिकवादलाई अध्ययन गर्दा दर्शन, भाषा, गणित र विज्ञान–प्रविधिकोे अध्ययन जरुरी छ । तर्क– गणित–भाषा र विज्ञान–प्रविधि अहिले जोडिएर आएका छन् । यी एउटै विषयजस्तै बनेका छन् । यी विषयको एकमुष्ठ अध्ययनबाट मात्र वर्तमान युगलाई बुझ्न सकिन्छ । यसर्थ वर्तमान युग बुझ्न सिङ्गै संरचना, विचारधारा र युगको नै अध्ययन गर्नुपर्दछ । अहिले स्थुल जगतको अध्ययनभन्दा सूक्ष्म जगतको अध्ययन महत्वपूर्ण बनेको छ । वर्तमान युगको विज्ञान–प्रविधिले बौद्धिकताको यान्त्रिकीकरण गरिरहेको छ । बौद्धिकताले गर्ने काम अहिले आर्टिफिसियल इन्टेलिजेन्स, रोवर्ट, थ्रिटि प्रिन्टिङजस्ता स्वचालित यन्त्रहरुले गरिरहेको छ । उत्तर आधुनिकतावादले वस्तुगत जगतसँग सरोकार नराखी आफ्नै प्रणालीमा अगाडि बढ्छ, तर यो प्रणालीले गर्ने कार्य वस्तुगत जगतमा घट्ने घटनासँग ठ्याक्दै मिल्दछ । यिनै विषयहरुको संश्लेषणबाट उत्तर–आधुनिकतावादी विचारधारको निर्माण भएको छ ।
केन्द्रमा आधारित सिद्धान्त, नीति र नेतृत्व अस्विकार गर्दै आवश्यकताको आधारमा सहकार्य गर्ने, सिद्धान्त, नेतृत्व र संगठन निर्माण गर्नुपर्छ भन्ने सिद्धान्त उत्तर–आधुनिकतावादले ल्याएको छ । त्यसैले अबको दुनियाँमा बृहत आधार सहायक र साना–साना समूह स्वायत्त बन्दै गइरहेका छन् । जुन कुरा समाजवादीहरुका लागि पनि सकारात्मक छ । एकल केन्द्र नभत्काउँदासम्म समाजवदी व्यवस्था आउन सक्दैन भन्ने कुरा इतिहासका घटनाहरुले पुष्टि गरिसकेको छ । एकल केन्द्र हुँदा अर्थात् एक व्यक्तिमा धेरै अधिकार केन्द्रीत हुँदा के दुर्दशा हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण सत्तारुढ नेकपा पनि हो । नाममा कम्युनिष्ट सरकार, समावाद उन्मुख सरकार, यथार्थमा सामन्ती राज । फेरि पनि यो व्यक्तिको होइन, व्यवस्थाको दोष हो ।
यस अवधारणअनुसार एउटा मात्रै सार्वभौमिक केन्द्र हुँदैन अर्थात् एउटा मात्र केन्द्रबाट सबै कुरा सञ्चालित वा निरुपण हुन सक्दैन । एउटा मात्रै केन्द्रले सबै केन्द्रको कार्य गर्न सक्दैन । किनभने प्राचीनकालमा ज्ञान विज्ञानको विकास थोरै थियो । मध्यकालमा त झनै धर्मको चरम निरंकुशताले गर्दा धर्मलाई मात्र केन्द्र बनाइएको थियो । त्यस युगमा ज्ञान विज्ञानको विकासमाथि प्रतिबन्ध नै लगाइयो । त्यसकारण एउटा मात्र केन्द्रबाट समाज चल्न संभव भयो । तर आजको दुनियाँमा ज्ञान र विज्ञानका आविष्कार यति धेरै भएको छ कि एउटालाई मात्र मुख्य/केन्द्र मानेर समाज चल्न सम्भव छैन । हरेक कुरा स्वतन्त्र/स्वयत्त र एक–अर्कोसँग अन्तर्सम्बन्धित समाज व्यवस्था आजको आवश्यकता बन्दै गएको छ । वर्तमान युगको यही विशेषता समाजवादका लागि अनुकुल रहेको छ । यसो भन्न सकिन्छ कि शासनको चरित्र केन्द्रीकृत छ, समाजको मूल चरित्र भने समाजवादी छ । युरोपीयन अर्थशास्त्री/समाजशास्त्री जेरेमी रेफ्किनको भाषामा समाजको मूल प्रवृत्ति सहयोगी साामाज र विश्वप्रसिद्ध अर्थशास्त्री थोमस पिकेटीका अनुसार सहयोगी समाजवाद वर्तमान समाजको मुल प्रवृत्ति हो ।
मार्क्सवादी व्याख्या अनुसार/ ऐतिहासिक भाैतिकवादकाे नियमअनुसार उत्पादक शक्ति अनुरुपकाे उत्पादन सम्बन्ध बन्दछ । उत्पापदक शक्ति नयाँ आउँदा पनि उत्पान सम्बन्ध (उत्पादन सम्बन्ध भनेकाे समाज व्यवस्था हाे) पुरानै रहन्छ । नयाँ उत्पादक शक्ति र पुरानाे उत्पादन सम्बन्धबीचकाे अन्तर्विराेधबाट सामाजिक क्रान्ति हुन्छ । अहिलेकाे युग पनि यही अन्तर्विराेधमा छ । पुँजीवादी व्यवस्थाकाे मुख्य उत्पादक शक्ति पुँजी र मानव श्रम थियाे तर अहिले समाज व्यवस्था पुँजीवादी नै छ, उत्पादक शक्तिकाे रुपमा भने विज्ञान-प्रविधि आएकाे छ । नयाँ उत्पादक शक्तिले आफूअनुकुलकाे उत्पादन सम्बन्ध/समाज व्यवस्था खाेजिरहेकाे छ । यही अन्तर्विराेधकाे दार्शनिक/ वैचारिक दिशा-निर्देशबाट मात्र समाजवादी आन्दाेलन अगाडि पढ्न सक्दछ, जुन ऐतिहासिक कार्यभारका रुपमा हाम्राे पुस्ताका समाजवादीहरुकाे अगाडि चुनाैती र अवसरका रुपमा खडा छ ।
अहिले उत्तर–आधुनिकतावादले द्वन्द्वात्मक भौतिकवादलाई उच्च विकास गरिरहेको छ । उत्तर–आधुनिकतावाद निर्माणमा क्वान्टम सिद्धान्तले मुख्य भूमिका खेलेको छ । यो क्वाण्टम विज्ञानमा आधारित छ । हिजो स्थूल जगत प्रमुख थियो तर अहिले सुक्ष्म जगत प्रमुख भएर आएको छ । स्थुलगत जगत बुझ्नका लागि सुक्ष्म जगत बुझ्नुपर्छ । सूक्ष्म जगतका घटनाहरुको व्याख्या गर्न सकियो भने सिंगै ब्रमाण्डबारे बुझ्न सकिन्छ । सूक्ष्म जगतका लागि स्थुल जगत सीमित छ । स्थूलबाट सुक्ष्म जगत बन्दैन, तर सुक्ष्म जगतबाट स्थुल जगतको निर्माण भएको छ । तसर्थ क्वान्टम जगतमा सम्पूर्ण ब्रमाह्ण्डको साझा अस्थित्व भेटिन्छ । क्वाण्टम सिद्धान्त अनुसार यस ब्रमाण्डमा हरेक घटना सम्भाव्यता र अन्तरसम्बन्धमा घटेका छन् । आधुनिक युुगभन्दा भिन्न विशेषता भएको समय हाम्रा सामु आएको छ । मार्क्सवादबाटै उत्तर–आधुनिक युगका विशेषता सुरु भइसकेको थियो । कुनै पनि नयाँ कुरा तत्काल स्वीकार्य हुँदैन । त्यसैले यो नयाँ समयलाई पनि स्वीकार गरिएको छैन । उत्तर–आधुनिकवाद विज्ञानमा आधारित छ । विज्ञानले जुन कुरा विकास गरेर ल्यायो, त्यसैको विरासतमा यो दर्शन बनेको छ । साहित्यबाट सुरु भएको उत्तर–आधुनिकतावाद तर्क, गणित र भाषाको संयोजनको रुपमा आजको दुनियाँलाई प्रतिनिधित्व गरिरहेको छ ।
मध्ययुको धार्मिक अन्याय र अत्याचारबाट मानव जातिले मुक्ति प्राप्त गर्न दार्शिनिक, अभियान्ता र वैज्ञानिकहरुलेसमेत कुर्वानि गर्नु परेको थियो, जसलाई पुनर्जागरण काल भनिन्छ । पुनर्जागरणकाल पछि धर्मको स्थान विज्ञानले लिएसँगै युरोपले प्रगति गर्न संभव भएको थियो । त्यसैगरी उन्नाइसाैं शताब्दीमा पुँजीवादी व्यवस्थाबाट चरम शोषणमा परेका विश्वभरीका मजदुरहरुलाई मुक्त गर्न काल्पनिक समाजवादीदेखि लिएर मार्क्स–एंगेल्सको वैज्ञानिक समाजवादी विचारसम्म आइपुग्दा संसारभरका मजदुरहरुले पुँजीपतिहरुले गरेको श्रम शोषणको विरुद्ध विद्रोह गरेका थिए । यही विचारको जगमा संसारमा महान क्रान्तिहरु भयो । जब आम नागरिक हरेक युगको सत्ताबाट उत्पिडनमा पर्दछन्, त्यस अन्यायपूर्ण सत्ताको विकल्पमा नयाँ र न्यायपूर्ण सत्ता निर्माणका लागि विचारधारात्मक क्रान्तिको जरुरी पर्दछ । श्विभरीका समाजवादी आन्दोलनहरु आज विचारधारात्मक संकटबाट गुज्रिएको देखिन्छ । तसर्थ समाजवादी/बामपथका लागि ऐतिहासिक परिवर्तनको प्रक्रियाअनुरुप नयाँ–नयाँ ज्ञान–सिद्धान्तलाई पचाउँदै, परिवर्तित युगको संश्लेषण गर्दै अगाडि बढ्नुको अर्को विकल्प छैन् । नेपालका कम्युनिष्ट/बामपन्थहरुका अगाडि समाजवादी विचारधारा/मार्क्सवादकाे विकासका लागि जागरण शुरु गर्ने अवसर र चुनौती आएको छ ।
२ वर्ष अगाडि
२ वर्ष अगाडि
३ वर्ष अगाडि
१० महिना अगाडि
१० महिना अगाडि
१० महिना अगाडि