
काठमाडौँ — वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानवीय त्रुटिले चितवन कुसुम खोलाका चेपाङ समुदायका घर जलेको बताएका छन् ।
यसअघि चितवन राष्ट्रिय निकुञ्जले कुसुम खोलामा घर जलाएको नभइ गोठ र गुन्द्रीमा मात्रै आगो लगाएको उनले बताएका थिए । मन्त्री बस्नेतको उक्त भनाइको आलोचना भएपछि उनले बुधबार संघीय संसद्को प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मानवीय त्रुटिले घर जलेको बताएका हुन् ।
मन्त्री बस्नेतले वन मन्त्रालयले यस घटना छानबिन गर्न गठन गरेको समितिको प्रतिवेदन आइनसकेको पनि समितिलाई जानकारी दिए ।
उनले निकुञ्जका वार्डेन र सहायक वार्डेनलाई विभागमा फिर्ता बोलाइएको समितिलाई जानकारी दिए । साउन २ गते चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले हात्ती लगाएर घर भत्काउने र आगो लगाउने काम गरेका थिए ।
बस्नेतले भूमि व्यवस्थापनको काम अगाडि बढिरहेका बेला मध्य बर्खामा निकुञ्जका कर्मचारीले चेपाङ बस्तीमा आगो लगाउने र हात्ती लगाएर भत्काउने काम दुःखद् र अनुपयुक्त भएको बताएका थिए । त्यस क्रममा ८ परिवारका घर भत्काइएको र आगो लगाइएको कुरा आफूलाई मन्त्रालयबाट पठाएको छानबिन समितिको प्रारम्भिक प्रतिवेदनबाट थाहा हुन आएको पनि उनले बताए ।
चेपाङ बस्तीका भनेर पुराना तस्बिर सामाजिक संजाल र संचार माध्यममा आइरहेको पनि मन्त्री बस्नेतको भनाइ थियो । ‘यसलाई कति प्रोभोक गर्न सकिन्छ, कतै राजनीतिक लाभ लिन सकिन्छ कि भन्ने ध्येयका साथ कुराहरू अगाडि बढेका छन्,’ उनले भने ।
मन्त्री बस्नेतले गल्ती ढाकछोप नगरिने पनि समितिसमक्ष प्रतिबद्धता व्यक्त गरेका छन् । उनले घटना सार्वजनिक भए लगत्तै मन्त्रालयले छानबिन गरिएको भन्दै आफू उक्त घटनालाई लिएर गम्भीर रहेको बताए ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि