
राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्नेगरी तयारी गरिरहेको जनाएको छ । त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आईसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताउनुभयो । शिक्षा पत्रकार समूहको सोमवार (१२ साउन)को शिक्षाबार भर्चुअल सम्बादमा परीक्षा नियन्त्रक खकुरेलले भन्नुभयो, ‘२५ वटा समूह बनाएर विहिवारदेखि हार्डकपी र सफ्टकपी रुजुको काम भइरहेको छ । यसै साता नतिजा प्रकाशनको तयारी गरेका छौ ।’
विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैले लेजर तयार पारेकाले त्रुटि कम हुने अनुमान गरिएको थियो । तर, विद्यालयले पठाएका विवरण जिल्लास्थित शिक्षा इकाइहरुमा सच्चिएर बोर्डमा आइपुग्दासमेत केही त्रुटिहरु पाइएका छन् । एसईइ मूल्यांकनका सन्दर्भमा विद्यालयहरु र इकाईहरुसमेत गम्भीर नदेखिदा केही जिल्लामा समस्या देखिएको खकुरेलले बताउनुभयो ।
विद्यालयहरुले आन्तरिक मूल्याङ्कन पठाउँदा लापरबाही पाइएको हो । आफैले वर्षभरी पढाएका विद्यार्थीको आन्तरिक मूल्याङ्कन पठाउँदा समेत विद्यालयहरुबाट विषय फरक पर्ने, ऐच्छिक विषय चढाउँदा समस्या, सैद्धान्तिक र प्रयोगात्मक अङ्क दिँदा त्रुटि पाइएको हो ।
यस बर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैथिए । कोभिड १९ को महामारीका कारण परीक्षा सुरु हुनु एकदिनअघि ५ चैतमा परिक्षा स्थगित गरिएको थियो । सरकारले कोभिड–१९ का कारण परीक्षा लिन सक्ने स्थिती नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले निर्देशिका समेत जारी गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले जिल्लाका ३ सय १७ विद्यालयमध्ये १५ वटाले पूर्णांङ्कभन्दा बढी अङ्क प्रदान गरेको पाइएको बताउनुभयो । कुनैले सैद्धान्तिक, कुनैले प्रयोगात्मकतर्फको अङ्क दिन छुटाएका, कतै विषय विवरण गलत भर्ने गरेको पाइएको भन्दै ढकालले विद्यालयहरु गम्भीर नहुँदा समस्या आएको उल्लेख गर्दै भन्नुभयो, ‘विवरण सही नहुँदा तीनवटा विद्यालयको अङ्क सफ्टवेयरमा अपलोड नै भएन । पछि पत्र लेखेर हार्डकपी नै बोर्डमा पठाउनुप¥यो ।’
जयन्ती मावि महावु–१, खरीगैरा दैलेकी प्रअ सरिता गुरुङले यसपालीको एसईई मूल्याङ्कन विद्यालयको प्रतिष्ठा र विश्वनीयतासँग गाँसिएकाले आफ्नो विद्यालयले निर्देशिका बमोजिम नै मूल्यांकन विवरण इकाइमा पठाएको बताउनुभयो ।
विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहमा गएको भए पनि एसईई मूल्याङ्कनको सन्दर्भमा भने स्थानीय तहलाई कुनै भुमिका दिइएको छैन । यसबारे दुखेसो गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले स्थानीय तहले बिग्रिए जस लिनुपर्ने तर काम गर्न नपाउने अवस्था रहेको बताउनुभयो । ‘क्वारेन्टाइन भएका विद्यालयहरुलाई मूल्याङ्कनको काम गर्न छुट्टै ठाउँमा कोठाको व्यवस्था गरिदिऔ तर, हामीसँग समन्वय नगरी मूल्याङ्कन पठाउने काम भयो’– प्रमुख अर्यालले भन्नुभयो, ‘स्थानीय तहको पनि समन्वयमा यो काम गर्न पाएको भए अझ विश्वसनीय हुनसक्थ्यो ।’
शिक्षा पत्रकार समूहको २० औं भर्चुअल सम्बाद शृंखलामा देशका विभिन्न स्थानबाट शिक्षक, शिक्षा इकाईका अधिकारी, अभिभावक र शिक्षा पत्रकारलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि