
प्रविधिको प्रयोग गरेर शुरु गरिएको वैकल्पिक शिक्षणलाई व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कोरोना महामारीले निम्त्याएको लकडाउनका कारण विद्यालय खोल्ने अवस्था नभएको र घरबाटै प्रविधिको प्रयोग गरेर भइरहेको भर्चुअल शिक्षामा विद्यार्थीको सहभागिता न्युन भएको, सबै विद्यार्थीसँग पहुँच नभएको र प्रभावकारी पनि हुन नसकेको भन्दै यसलाई व्यवस्थित गर्न सरोकारवालाले जोड दिएका हुन् ।
शिक्षा पत्रकार समूहले सोमबार (२२ असार, २०७७) मा आफ्नो नियमित साप्ताहिक संवाद कार्यक्रम अन्तर्गत शिक्षाबारको १७ औँ श्रृङ्खलामा ‘वैकल्पिक शिक्षण: प्रभावकारिता र चुनौति’ विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले चुनौतिपूर्ण समयमा लागु गरिएको वैकल्पिक शिक्षा विस्तारमा थुप्रै चुनौति रहेको औंल्याए ।
शिक्षाविद् डा.मीनाक्षी दाहालले बालमनोविज्ञानलाई ख्यालै नगरी विद्यार्थीलाई दिनैभरी अनलाईन शिक्षाका नाममा इलेक्ट्रोनिक डिभाईसमा राख्नु स्वास्थ्यका लागि हानिकारक रहेको बताउनु भयो । कक्षाकोठामा समेत बालमनोविज्ञान बुझेर पढाउने काम हुन नसकेका बेला वैकल्पिक शिक्षाका नाममा बालबालिकालाई जबर्जस्ती पढाउन लगाउनु उनीहरुका लागि फाइदा भन्दा बढी घाटा भएको उहांको तर्क छ ।
विश्व स्वास्थ्य संगठनले बालबालिकालाई १ घण्टाभन्दा बढी इलेक्ट्रोनिक प्रविधिमा राख्नु उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुने बताएको भन्दै उहांले यसको उंल्लघन गर्दा भविष्यमा ती बालबालिकामा समस्या देखिन सक्ने बताउनु भयो ।
‘विश्व स्वास्थ्य संगठनको मापदण्डलाई मान्ने हो भने कुनै पनि बालबालिका वा विद्यार्थीलाई एक घण्टाभन्दा बढी लगातार इलेक्ट्रोनिक डिभाईस अगाडी राख्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ’ उहांले भन्नु भयो, ‘हाम्रा अनलाईन शिक्षामा यो मापदण्डको प्रयोग भएको छ त ? छैन । त्यसैले यसले बालमनोविज्ञानलाई गम्भर असर गरेको छ । यो तुरुन्त व्यवस्थित हुन जरुरी छ ।’
यस्तै शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले लकडाउनको बेला पनि वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिन ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७’ जारी गरिएको बताउनु भयो । निर्देशिका अनुसार नै असार १ गतेदेखि रेडियो, टेलिभिजन, अनलाईनमार्फत पठनपाठन भइरहेको पनि उहांले बताउनु भयो । तर यसको प्रभावकारिताका लागि स्थानीय तह, शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने उहांको भनाई छ ।
‘लकडाउनको बेला स्कुल नखुल्दा अन्योल बढेका बेला सरकारले निर्देशिका जारी गरेर यसलाई सहज पार्ने प्रयास गरेको हो’ श्रेष्ठले भन्नु भयो ‘शुरुका दिनमा चुनौति धेरै रहेपनि पालिका, प्रदेश, शिक्षक, अभिभावक सबै मिलेर यसलाई प्रभावकारी बनाउनुपर्छ ।’
श्रेष्ठका अनुसार सरकारले रेडियो, टेलिभिजन, अनलाईनको पहुँचमा हुने र नहुने विद्यार्थीलाई विभाजन गरी समूह बनाएर सिकाई सहजीकरणका लागि निर्देशिका जारी गरेको हो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले वैकल्पिक शिक्षा सिकाईका लागि नयाँ र चुनौतिपूर्ण भएकाले सबै मिलेर यसलाई व्यवस्थित गर्नुपर्ने बताउनु भयो । शिक्षकहरु वैकल्पिक शिक्षाका माध्यमबाट पठनपाठनका लागि तयार रहेपनि सबैको समन्वय नहुँदा यो प्रभावकारी हुन नसकेको उहांको धारणा छ ।
‘बर्षौदेखि शिक्षकहरुले चक डस्टर समातेर पढाए, तर अहिले रेडियो, टेलिभिजन, जुमबाट पढाउने काम नौलो हो । शिक्षकका लागि पनि चुनौतिपूर्ण छ’ उहांले भन्नु भयो ‘तर यसका लागि सबैले पहल गरेमा शिक्षकले वैकल्पिक शिक्षालाई प्रभावकारी बनाउन सक्छन् ।’
यस्तै एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुले शुरुदेखि अनलाईन शिक्षा चालु गरेपनि विद्यार्थीको संख्या न्युन रहेको बताउनु भयो । सबै विद्यार्थी, अभिभावक र भौगोलिक अवस्था अनुसार प्रविधिको पहुँच नहुँदा विद्यार्थीको सहभागिता बढ्न नसकेको उहांको भनाई छ ।
कार्यक्रममा उठेका सवालको जवाफ दिदै शिक्षा विकास तथा मावन स्रोत विकास केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले सातै प्रदेशमा वैकल्पिक शिक्षा पठनपाठन प्रभावकारी भए नभएको विषयमा सरकारले अनुगमन गरिरहेको बताउनु भयो । वैकल्पिक माध्यमबाट पढाउन शिक्षकलाई गाह्रो परिरहेकाले यो समस्या समाधानका लागि वैकल्पिक शिक्षण निर्देशिका ल्याउन लागिएको जानकारी दिनु भयो ।
जुममार्फत गरिएको भर्चुअल छलफलमा शिक्षक, सरोकारवाला सहित पत्रकारहरुको सहभागिता थियो । लकडाउनले शिक्षामा परेको असर र नयाँ विकल्पका विषयमा शिक्षा पत्रकार समूहले साप्ताहिक रुपमा सम्वाद कार्यक्रम गर्दै आएको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि