
प्रमेश पोखरेल
(लेखक रत्नराज्यलक्ष्मी क्याम्पसका राजनीतिशास्त्रका आंशिक प्राध्यापक तथा कृषि अधिकारकर्मी हुन् )
कोरोना महामारिको मारमा विश्व अर्थतन्त्र
विश्व कोरोना भाइरसको महामारीबाट प्रताडित छ । कोभिड १९ का कारण विश्वमा सवा करोड मानिस संक्रमीत भएका छन् । सवा पाँच लाख बढीको मृत्यु भइसकेको छ र यो क्रम बढ्दो छ । विकसीत भनिएका पुँजीवादी देश नै रोकथाम, परिक्षण, क्वारेन्टाइन व्यवस्थापन र विरामीको अस्पतालीकरणमा असफल जस्तै देखिएका छन् । महामारीले ती देशको पुँजीवादी व्यवस्था यस्ता संकटसँग जुध्न निकै कमजोर सावित भएका छन् । यो महामरिका कारण अर्थतन्त्रका साथै हरेक क्षेत्र प्रभावित भएको छ ।
पुँजीवादी देशहरुको आधार नवउदारवादी नीति, विश्वव्यापार संगठन, बहुराष्ट्रिय निगम लगभक कोमामा रहेको अवस्थाले पनि उनीहरु संकटमा परेको देखिन्छ । विश्व बैंक, आईएमएफ र अन्य निकायहरुले निकालेका प्रारम्भिक प्रतिवेदनहरु अनुसार विश्वमा पुनः एक पटक सन् १९३० को दशकभन्दा भयानक आर्थिक मन्दीको आँकलन गरिएको छ । विश्व खाद्य तथा कृषि संगठनले अहिले नै माग र आपूर्तीबीच संतुलन नहुँदा विश्वमा खाद्यान्नको वितरण अस्तव्यस्त भएको तथ्य सार्वजनिक गरेको छ । त्यसैगरी विश्व बैंकले यो वर्ष विश्व विप्रेषणमा इतिहासकै सबैभन्दा बढी गिरावट आउने बताएको छ । अझ डरलाग्दो कुरा तलतथ्यले के बताउँछ भन्ने विश्वमा तीनमध्ये एक व्यक्ति अहिले वेरोजगार छन् । विश्व अर्थव्यवस्था घाइते हुनेगरी हलचल आउँदा अवको विश्वव्यापीकरण, पुँजीवाद र साम्राजयवादले अव कसरी सुधार ल्याउला र यसको भविश्य के होला धेरैको चासो विषय छ । के कोरोनाका कारण विश्व्वको आर्थिक तथा राजनीतिक केन्द्र फेरिएको हो ? या यसले फेरि युद्ध या अन्य संकट निम्त्याउँदैछ । विभिन्न आँकलनहरु बाहिर आएका छन् ।
नेपालको अर्थतन्त्रमा महामारिको प्रभाव
हाम्रो देशमा पनि उच्च सर्तकताका साथै पुरै देश १०० दिनदेखि देश बन्दाबन्दीमा छ । यातायात, आयात निर्यात, स्कुल र विश्वविद्यालय, कलकारखाना, होटल तथा कम्पनीफर्महरु साथै पर्यटन क्षेत्र पनि बन्दाबन्दीकारण प्रभावीत छन् । हामो्र देशको प्रमुख आम्दनी विपे्रषण, पर्यटन, कृषि र उद्योगसँग सम्वन्धीत भएको र ती क्षेत्र महामरीका कारण आक्रान्त भएको कारण नेपालको अर्थतन्त्रमा पनि यसको असर नजरअन्दाज गर्न मिल्दैन । तथापी मिश्रीत अर्थव्यवस्था भएको तथा कृषिमा आधारीत भएकोले नेपाल पुँजीवादी देशभन्दा कम जोखिममा देखिएपनि राज्यको क्षमता र अर्थव्यवस्थाको जग भने निकै कमजोर छ ।
वैदेशिक रोजगारीबाट दिनानुदिन युवाहरु फर्कनु, पर्यटन वर्ष २०२० असफल हुनु तथा बन्दाबन्दीले कृषि र उद्योगको क्षेत्र नराम्ररी प्रभावीत हुनु नेपालको अर्थतन्त्रको लागि दुरगामी प्रभाव हो । तत्कालिक रुपमा माग र आपूर्ती चक्रमा प्रभाव पर्दा व्यापार र बजार धेरै प्रभावित छ । त्यसैले उद्योगी, होटल व्यवसायिक मात्र होइन, लाखौको संख्यामा पसल व्यवसाय गर्नेलाई पनि यसले मारमा पारको छ । ज्यालादारी मजदुर, अनौपचारिक क्षेत्रमा काम गर्ने व्यक्तिहरु तथा समग्र श्रमजीवी वर्गलाई यसले सवैभन्दा प्रभाव पारको छ । एकातिर रोजगारी गुम्दै छ । अर्कोतिर आम्दानीका क्षेत्र निकै खुम्चीएका छन् । उद्योग व्यवसाय बन्द हुँदा उत्पादन घट्दो छ । मूल्यबृद्धी र तरलता अन्य यसका परिणाम हुन् ।
बन्दाबन्दीका साथै अझ यसमाथि अमेरिकी फौजि किरा र सलहको मारमा नेपाली किसानहरु परिरहेको दुखद अवस्था छ । यसले कृषि क्षेत्र नराम्ररी प्रभावित भएको छ । राजश्व पनि अपेक्षा अनुरुप नउठ्ने तथा वैदेशिक सहयोग पनि पहिले जस्तै नआउने हामी सवैले आकलन गरेको कुरा हो । भारतबाहेक अन्य देशबाट हुने आयात घट्ने र त्यसले भन्सारबाट हुने आम्दानी घट्ने छ । सेयर बजारमा गिराउट आउदा फेरि केहिको लगानी गुम्ने संभावना छ । यसका कारण नेपालको अर्थतन्त्र तत्कालिक रुपमा कम प्रभावीत देखिए पनि दिर्घकालिन रुपमा प्रभावित हुने गरी निकै शिथित भएको अनुमान गर्न सकिन्छ । यसका असर अर्थतन्त्र मात्र होइन राजनीति, समाज, संस्कृति, मनोविज्ञान लगायतका हरेक क्षेत्रमा देखिदैछ । सरकार परिवर्तनको चर्चा, बढ्दो आत्महत्या तथा घरेलु हिंसाका घटना, नैराश्यता आदी यसकै परिणाम हुन् । मानिसको घट्दो आत्मविश्वास र शाहसले पनि लगानी तथा अन्य आर्थिक क्षेत्रमा प्रभाव पार्ने छ । महामारीले हामी धेरैको साथै देशलाई रिणको चक्रमा फसाउँने पनि निश्चीत छ ।
शिथिल पर्यटन, होटल, विप्रेषण र उद्योगको क्षेत्र
अहिले पर्यटन, होटल, यातायात र विप्रेषणको क्षेत्र प्रभावित छ । अझ लगभक ठप्प नै छ । यसका कारण लगानी र रोजगारी समेत जोखिममा छ । अझ केहि समय यो क्षेत्रमा महामारिको प्रभाव पर्ने देखिन्छ । हवाइ यातायातको क्षेत्र ठुलो मारमा छ । बस व्यवसायि पनि किस्ता र व्याजको दुश्चक्रमा फसेका छन् । पर्याटन, होटलका ठुला लगानीको त कुरा नगरौं । अन्य क्षेत्रका साथै शैक्षीक क्षेत्रमा लगानी गर्ने समेत प्रभवित भएका छन् । विस्तारै संचालनमा आउन थालेपनि उद्योगहरुलाई पनि संकट छ । निर्यात त पुरै ठप्प छ । मुख्यगरी कच्चा पदार्थ तथा सामग्रीको अभावले संचालनमा अझै केह िसमय कठिनाई हुने छ ।
तर संकटबीच पनि उपाय खोज्नु बाहेकको विकल्प छैन । यी सवै क्षेत्रलाई अव परिस्थीती अनुकुल बनाउन आवश्यक छ । स्वाथ्य सुरक्षा अपनाउदै संभव भएका क्षेत्र खुलाउन तथा अन्यले परिस्थीतिजन्य रणनीतिहरु अपनाउनु पर्दछ । जसरी शिक्षामा अनलाइन शिक्षा हुँदै छ, केहि होटलाई क्वारेन्टाइनको रुपमा संचालन गरिएको छ, त्यसरी नै अन्य क्षेत्रले पनि सोच्नुपर्दछ । विश्वमा केहि देशले बन्दाबन्दी खुकुलो बनाइसकेका छन् भने कति देशमा बन्दाबन्दी अझ कति लम्वीने हो भन्न सकिने अवस्था छैन । तर हाल हाम्रो कोरोनासँग जुध्नुको विकल्प छैन । अर्थव्यवस्था बचाउनका लागि उद्योग, व्यवसाय, पसलहरु, कृषि, यातायात लगायतका क्षेत्रमा स्वास्थ्य सावधानी अपनाउँदै दैनिक क्रियाकलाप गर्न आवश्यक छ ।
संकटबीच ऐतिहासिक अवसर
कतिपयलाई यो परिस्थीति नेपालको समृद्ध अर्थतन्त्र निर्माणका लागि एक ऐतिहासिक अवसर पनि हो भन्दा अपत्यारिलो लाग्न सक्छ । यदि हामीले यो ऐतिहासिक अवसरलाई समयमै समाउन सकेनौं भने फेरि नेपालको उन्नतिका कुरा गर्नु बेकार हुने छ । कोरोनाको कहरले विश्व मानव समुदायका साथै नेपालका हामीले पनि सिकेको पाठ के भने योजनाबद्ध विकास, केन्द्रिकृत व्यवस्था, सार्वजनिक स्वाथ्य, शिक्षा, उद्योग र पुर्वाधार तथा आत्मनिर्भर अर्थव्यवस्था भएका देशहरु संकट र महामारीबाट कम प्रभावित भएका छन् । क्युवा, भियतनाम, चीन, भारतको केरला राज्य यसका उदाहरण हुन् । उनीहरुका माग र आपूर्ती चक्रहरु स्थानीय भएको र सार्वजनिक भएकोले निर्वाध रुपमा संचालनमा रहे । उनीहरुले बन्दाबन्दीपनि हाम्रो जस्तो हचुवामा नगरी योजनाबद्ध रुपमा गरे । यो विश्वकै लागि महत्वपूर्ण शिक्षा भएको छ । हामीमा पनि खाद्य सम्प्रभुता कायम गर्ने तथा यहि रोजगारी र उत्पादन बढाउने तथा स्थानीय घरेलु उद्योगहरु, व्यवहारिक सीपमुलक शिक्षा, पेशामा विविधता माफर्त आत्मनिर्भर अर्थव्यवस्था निर्माण गर्नै ऐतिहासिक अवसरमा छौं । यसले हामीलाई जस्तोसुकै संकटमा पनि सामना गर्न सक्ने बनाउँछ ।
नेपालको संविधान २०७२ ले अवको हाम्रो यात्रा समाजवादतर्फ दिशानिर्देश गरेको संदर्भमा यसका आधारहरु सृजना गर्ने यो महत्वपूर्ण अवसर हो । महामारिबाट सिकेको पाठ पनि त्यहि हो । परिस्थीतिले हामीलाई हाम्रो जिम्मेवारी र मार्गदिशा प्रष्ट गरेको छ । अझ सत्तासिन दलले आफुलाई समाजवादकै पक्षधर ठान्दछ । यस्तो अनुकुल संदर्भमा पनि अर्थतन्त्रलाई आत्मनिर्भर, स्थानीय, सम्प्रभु बनाउँदै समाजवादका आधारहरु सृजना गर्नमा हामी र हाम्रो नेतृत्व चुक्यो भने इतिहासले यसलाई कालो युगको रुपमा सम्झने छ । परनिर्भरताको चक्रमा पर्दै ध्वस्त बनेको हाम्रो उद्योग, कृषि लगायतको उत्पादनको क्षेत्रलाई सुरक्षति गर्ने र आफ्नो उत्पादनको क्षेत्र बलियो बनाउने यो महत्वपूर्ण अवसर हो । विदेशी आयात कम गर्ने, राष्ट्रिय आम्दानी बढाउने र रोजगारी सृजना गर्ने यो भन्दा अनुकुल समय अरु हुन सक्दैन किनकी हामीसँग अन्य विकल्प पनि छैनन् र हाम्रो अभिभारा र जनादेश पनि त्यहि हो ।
कोरोनाको कहरले विश्व मानव समुदायका साथै नेपालका हामीले पनि सिकेको अर्को पाठ के भने यदि कृषिमा प्रयाप्त ध्यान दिदै आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडी बढेमा महामारिको असर कम गर्ने मात्र होइन दिर्घकालिन रुपमा नेपालको अर्थत्रन्तलाई निकै बलियो रुपमा विकास गर्ने संभावना छ । अझैपनि यातायात र आयात बन्दहुँदा हामीमाझ बाध्यताकै रुपमा भएपनि देशकै आत्मर्भिर, सम्प्रभु अर्थतन्त्र विकास गर्नुपर्ने तथा किसान र कृषि क्षेत्रमै भर पर्नुपर्ने अवस्था सृजना भएको छ । चाहे नाकाबन्दी हो या भुकम्प तथा बन्दान्दी जस्ता संकट हामीले अनुभव गरेको एथार्थ के भने जति उपेक्षा गरेपनि आखिर साना किसान र जीवन निर्वाह कृषि नै नेपालीको बाच्ने प्रमुख आधार रहेछ । घरेलु तथा स्थानीय उद्योग तथा स्थानीय माग आपुर्ति प्रणाली नै यसबाट कम प्रभावित हुने रहेछ । व्यवसायिक र ठुला कृषि फार्म, बहुराष्ट्रिय निगम, ठुला कल कारखाना, बजार आदी पनि नाकाबन्दी, संकट र बन्दाबन्दीमा काम नलाग्ने रहेछन् ।
खाद्य संकट र गरिविबाट मुक्तिका लागि मात्र होइन समृद्धिकै लागि कृषि
हाम्रो जस्तो आयातमा निर्भर देशमा बन्दाबन्दीका बीच पनि तत्काल महामारिका कारण ठुलो खाद्य संकट, भोकमरी र गरिवी नहुनुको कारण अझै पनि बहुसंख्यक जनसंख्या कृषिमा आधारीत भएकोले नै हो । महामारिले हामीलाई फेरि हेयमा रहेको कृषिको महत्व दर्शाएको छ । बसाइसरेर गएका युवा समेत आफ्नो बन्दाबन्दीको घर बसाइलाई कृषि कार्यमा लगाउनु, शहरका कौशि र करेसावारिमा समेत खेति गर्नु, आत्मनिर्भर र खाद्य सम्प्रभु नेपालको सुरुवात्का लागि ऐतिहासिक अवसर हो । तर सरकारबाट यस्तो सुनौलो अवसरलाई सदुयोग गर्ने भन्दा पनि नेपालको कृषि क्षेत्र र अर्थतन्त्रलाई सिध्याउने खालका कदमहरु भएका छन् । लकडाउनको समयमा किसानको स्थानीय उत्पादनलाई बजारीकरणमा सहजीकरण नगरी गाड्ने, पोख्ने र फ्याक्ने तर निर्वाध रुपमा भारतिय उत्पादनलाई आयात गर्ने अत्यन्त निन्दनीय कार्यहरु भए ।
हजारौको संख्यामा क्यारेन्टाइमा बसेका व्यक्तिलाई स्थानीय किसानको दुध, तरकारी, खाद्यान्न खुवाउने कुनै योजना अघि सारिएन । किसानलाई कृषि गर्न अत्यावश्यक सामग्रीको अभाव रह्यो । धान रोप्ने समय सकिन लाग्दा समेत अझै मलको अभाव कायमै छ । भारतबाट भने सस्तोमा ठूलो मात्रामा कृषि जन्य उत्पादन आयात रोकिएको छैन ।
यसरी सरकारको अव्यवस्थीत लकडाउन, कृषि सामग्रीको अभाव, भारतीय आयात, बजारको बन्दाबन्दी आदी मारमा किसान परेका छन् । अझ सरकारले यस्तो बेलामा ठिक उल्टो खालका भुमि वैंक, करार खेति, उत्पादनमा वैदेशिक लगानी, रसायनिक खेतिमा जोड, निर्वाध आयात आदी नवउदारवादी नीति अघि सार्दा कृषि क्षेत्रमात्र होइन पुरै अर्थतन्त्र ध्वस्त गरी नेपाललाई परनिर्भर बनाउने र आर्थिक परनिर्भरताका कारण राष्ट्रिय स्वाधीनता र सम्प्रभुता समेत खतरामा पर्ने जोखिम बढेको छ । तर हामी आशावादी छौं । हाम्रो कृषि क्षेत्रले अव काचुली फेर्ने अवसर गुमाउने छैन । अवश्यंभावि भोकमरी र वेरोजगारीलाई हामी वेवास्ता गर्ने छैनौं ।
अन्त्यमा, समाजवादी अर्थतन्त्रका आधार सृजना गरौं
नेपालको अर्थतन्त्र संकटमा छ । तर हाम्रा सामु अवसर पनि उत्तिकै छन् । यस असरलाई कम गर्नु र नयाँ अवसरको खोजि गर्नु छ । स्वास्थ्य सुरक्षा अउपनाउँदै लकडाउनलाई खुकुलो बनाउनुको विकल्प छैन । यातायात, उद्योग व्यवसाय संचालनमा ल्याउनु पर्दछ । अव केहि समय आन्तरिक र कृषि पर्यटन बाहेकको संभावना कम छ । सीपमुलक, स्थानीय, रैथाने, परम्परागत व्यवसायको प्रवद्धन र विकास गरेमा मात्रै हजारौं रोजगारी सृजना गर्न सकिन्छ । महामारी तथा समय समयका आर्थिक, वातावरणीय, खाद्य लगायतका संकटबाट अझ प्रष्ट भएको कुरा हो की समाजवादको विकल्प छैन । त्यसैले समाजवादी अर्थतन्त्रको आधार सृजना गर्नु हाम्रो दायित्व हो । उत्पादन बढाउने र रोजगार सृजना गर्ने तर्फ लाग्नुपर्दछ ।
हामी अव देशमै कपास, धागो, लुगाका साथै अत्याश्यक बस्तु उत्पादन तर्फ लाग्नुपर्दछ । व्यवहारिक र सीपमुलक शिक्षा व्यापक बनाई तत्काल रोजगारको प्रत्याभुत गर्न सकिन्छ । यसले भारतबाट नेपालमा आउने अर्धदक्ष र दक्ष दश लाख बढी श्रमिकको स्थान लिन सक्छ । अव शिक्षामा समेत सुधार ल्याइ रोजगारिमुलक, सिपमुलक, दक्षतामा आधारीत, पेशागत शिक्षामा जोड दिनु पर्दछ । तत्काल आत्मनिर्भर र पर्यावरणीय कृषि मार्फत खाद्य सम्प्रभुता दिशामा अघि बढ्दै कृषि क्षेत्रलाई आम्दानी र रोजगारीको स्रोत बनाउन सके बहुसंख्यक जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । पर्यावरणीय कृषि मार्फत अरवौंको रसायनिक मलको आयात रोक्ने मात्र होइन मानव स्वास्थ्य समेतलाई बचाउन सकिन्छ । कृषिबाट नै ठुलो संख्यामा विदेशबाट फर्किएका र बेरोजगार रहेकालाई रोजगारी सृजना गर्न सकिन्छ । अरवौंको व्यापार घाटा कम गर्ने र परनिर्भरता घटाउन सकिन्छ । यसका साथै अवका उद्योग कृषिमा आधारीत भएमा उद्यम, स्थानीय उत्पादन र मुल्य श्रृङखलासँग सम्वन्धीत भएमा ती उद्योगले नेपालमा विकासमा सवैभन्दा ठुलो योगदान गर्ने छन् ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि