मुर्कट्टा- शेषमणि आचार्य

मुर्कट्टा- शेषमणि आचार्य

धेरै दिनदेखिको भोकले सताइएको मलाई आज एउटा रोजगारी मिलेको छ,त्यसैले म अघाएको छुअबका दिनमा मैले भोकमरी वा अभाव खेप्नुपर्ने छैन।एकसरो लुगा लगाउन नपाउँदा लज्जित हुन पर्ने अवस्था आउने छैन। मलाई दुःखको राम्रो अनुभव भएकोले कमाइको राम्रै सदुपयोग गर्नेछु। लामो सास तान्दै सुवासले भन्यो।

बाहिर मोटर आफ्नो गतिमा सडकमा दगुरिरहेका छन्।पैदलयात्रीहरु गाडीको हर्न बज्दा किनारतिर लाग्छन्,नत्र सिङ्गो सडक ढाकी ठूलै हुलमा निस्किरहेका हुन्छन्।सहरको व्यस्त सडक भएकोले गाडी आउँदा प्रायः गरी मानिसहरू एक छेउको दुवै तिरबाट ओहोर दोहोर गरिरहेछन्। ट्राफिक नियमको पालना पैदलयात्रीले गरिरहेका छैनन‌्।आउने र जानेको लस्कर सडकका दुवै किनारामा उस्तै छन्।कोही पनिअलग हिँड्न सकिरहेको छैन, मानिसका कुम कुम ठोकिएका छन्,मानिस आफैंलाई जोगाई आउने जाने गरिरहेछन् । कमिलाको ताँती झैँ कोही आइरहेछन्,कोही गइरहेछन्,सडकका दुवै तर्फ।

सुवास एउटा रमाइलो पसलमा सेल्सम्यान भएको छ।उसको पसलमा कपडा,चामल, पत्रपत्रिका,किताब वा कुनै विद्युतीय सामग्रीहरु छैनन्।न त्यो पसल कुनै चित्रकारको आर्ट गेलरी हो, न कुनै मेडिकल हल हो।तैपनि अरु धेरै पसल भन्दा त्यहाँ निकै घुइँचो भइरहेछ। बिक्री कक्षमा धेरै विक्रेताहरु छन्, ग्राहकको सेवामा लागिरहेका छन्,उनीहरु बेफुर्सदिला छन्।विना काम कसैलाई बोल्ने फुर्सद छैन।

पसल अनौठो नै छ, त्यहाँका सामानहरु पनिआश्चर्यका छन्,। त्यहाँ मानव अङ्ग हरु बिक्री भैरहेका छन्। अचेल ठाउँ- ठाउँमा पुरानो बुझाएर नयाँ लैजान पाउने पसलहरू छन्,। त्यसरी नै त्यहाँ पनि प्राणीमात्रको पुराना अङ्गहरु दिएर तिनै ठाउँमा नयाँ अङ्गहरू प्रतिस्थापित गरिने गरिन्छ। त्यहाँ अब कोही न कालसँग डराउनु पर्नेछ,न कुनै दुर्घटना सँग त्रसित नै हुन पर्नेछ,कालजयी यो दोकान हो, यस्तो दोकानमा काम गर्न पाउँदा ऊ निकै फुरुङ्ग छ।
त्यहाँ भीड गर्नेहरुमा बूढाबूढी र अपाङ्गहरूको सङ्ख्या नै बढी छ। बूढाबूढीहरू तँछाडमछाड,धक्कमधक्का गर्दै आफूलाई कुन अङ्ग चाहिएको छ त्यही खरिद गर्न तम्सेका छन्।

त्यहाँ अचम्म लाग्ने अवस्था छ।मानव,पशु,पन्छी कसैले चिन्ता लिइरहनु पर्ने छैन। संसारका विकसित मुलुकलाई हाम्रो मुलुकले चकित तुल्याइदिएको छ।
विकसित भनाउँदा मुलुकमा बूढाबूढीहरूको सङ्ख्या बढिरहेछ, समाजलाई ठूलो चुनौती खडा भएको छ।आज एउटा अनौठो ग्राहक आएर सुवासलाई सोध्न लाग्यो।सुवास आफैँ तर्सियो, एकछिन आँखाको भ्रम हो कि भन्दै आँखा मिच्न थाल्योस उसलाई सपना हो कि विपना जस्तो लागिरहेछ।

त्यो अनौठो ग्राहक, अनौठो र डरलाग्दो पनि थियो।ऊ सुन्दर पनि थियो,कुरुप पनि थियो।ऊ माया लाग्दो पनि थियो, डरलाग्दो झन् थियो।ऊ कस्तो थियो यसै भन्न सकिन्थेन। त्यस अनौठो मान्छेले सुवासको अगाडि केही भन्न थाल्यो।त्यो अनौठो मान्छे कस्तो थियो,ऊ जस्तो थियो त्यस्तै थियो।हैन हैन ! उसलाई कतातिरबाट हेर्ने,शिरबाट हेर्ने कि पाइतलाबाटरुतलबाट हेर्दा ऊ घाँटी देखि तल सुन्दर थियो। उसले बहुमूल्य कपडा लगाएको थियो।तर माथिबाट हेर्दा कस्तो थियो थाहा भएन।
अर्थात् हातखुट्टा सबै अङ्ग दुरुस्त भएको व्यक्ति थियो।तर उसकाआँखा थिएनन्,कान थिएनन्,अनुहार पनि थिएन।लाग्दथ्यो बोल्ने मुख , सुन्ने कान,देख्ने आँखा,सुँघ्ने नाक जस्ता महत्वपूर्ण इन्द्रियहरु त्यही शिरमा हुने भएपनि ऊ कुनै पनि त्यस्तो अङ्गको धनी थिएन।तर उसबाट आवाज निस्कन्थ्यो। सोधेको जवाफ मिल्थ्यो,यो आश्चर्यको कुरा थियो।

त्यस मुर्कट्टाले पसलका छेउकुना सबैतिर पाइला बढायो। उसका बलिष्ठ हातका औँलाहरु यस्सो चल्थे,आवाज निस्कन्थ्यो,।प्रकृतिको अनौठो रुप थियो।उसलाई हेर्न मानिसको भीड बढ्न खोज्थ्यो,नगिच पर्नासाथ उसका अगाडि कोही पनि टिक्न सक्थेनन्,सबै डराउँथे।केही सुराहरु मात्र उसको अगाडि पर्थे।
नयाँ पसलमा यस्तै मानव अङ्ग र अन्य प्राणीका अङ्ग पनि राखिएकाले त्यहाँ सेल्सम्यानहरु तालिमप्राप्त थिए,उनीहरू ती अपाङ्ग प्रति त्रसित थिएनन्।तर त्यहाँ अरू असम्बन्धित मानिसको भीड भने कमै हुन्थ्यो। मान्छेलेुभूतको पसलुभनी त्यसको नामकरण गरेका थिए।

मुर्कट्टाले विक्रेताहरूसँग आफूलाई चाहिने शिरको माँग गर्यो। त्यहाँ धेरै किसिमका शिरहरू थिए। रङ्गको आधारमा काला(गोरा,जातिका आधारमा आर्य,मङ्गोल वा द्रविड आदि।कसैका आँखा काला,कसैका कुइरा,कसैका नाक चुच्चा,कसैका थेप्चा थिए।कस्तो अनुहार लिएर उभिन चाहने हो त्यस्तै पाइन्थ्यो। त्यस मुर्कट्टा लाई सुवासले लहरै सबै अनुहार देखायो।तिनमा स्त्री पुरुष,बाल,बृद्ध, तरुण जस्तो लाई पनि सुहाउने अनुहार थिए।

अनुहार सद्धे भएका पनि त्यहाँ गएर अर्को मन पर्ने अनुहार प्रत्यारोपण गर्न सक्थे।त्यो दोकान त वास्तवमा नवआधुनिकतम मेडिकल साइन्सको प्रयोगशाला थियो। त्यहाँ संसारका ठूलाठूला चिकित्सकहरू थिए, वैज्ञानिक हरु थिए, पत्रकार हरू पनि थरिथरिका थिए,छापा पत्रिका, रेडियो, टिभी जस्ता विद्युतीय सञ्चार आदिका।

सुवासले मुर्कट्टा सँग सोध्यो
कुन रङ्गको अनुहार, कालो,गोरो, गहुँ गोरो,रातो, मिश्रित ?
मुर्कट्टाले भन्यो, मलाई रङ्गको कुनै चासो छैन। त्यसो भए नारीको अनुहार कि पुरुषको ? सुवासले सोध्यो। यसपटक मुर्कट्टाले भन्यो पुरुषको ।

ऊ पुरुष पात्र नै थियो, शङ्का गर्ने ठाउँ थिएन,तर उसले भन्यो, मेरी पत्नीलाई नि चाहिन्छ। सुवास दङ्ग पर्यो।यो मुर्कट्टा त विवाहित पनि रहेछ। पत्नी खै त ? सुवासको जिज्ञासा थपियो।
मुर्कट्टाले भन्यो, मेरो शिर प्रत्यारोपण पछि म उनलाई तपाईं सँग परिचय गराउन ल्याउनेछु।
यी दुई प्राणीको वार्तालाप वास्तवमा रोमाञ्चक र विस्मयकारी थियो, पत्याउनै गाह्रो पर्ने थियो।
उसले त्यस पसलमा रहेका सबै अनुहार हातले छाम्दै नियाल्न थाल्यो।तिनको मूल्य पनि सोध्दै गयो। त्यहाँ अनेकथरि मूल्यका शिरहरू थिए।तिनको मूल्य डलर, रुपैयाँ,यान,युवान, स्टर्लिङ पौण्ड,संसारका हरेक मुद्रामा भुक्तानी गर्न सकिन्थ्यो।ती अनेक भाषा-भाषी थिए।

एकसरो शिर हेरिसकेपछि उसले सुवासलाई भन्यो, यिनको विशेषता के छ ?के सबै शिर एउटै स्वभावका छन्कि? तिनको स्वभावै छैन? जहाँ जे मन लाग्यो त्यस्तै बनाउन सकिने ?
सुवासको जवाफ थियो, यी सबै फरक फरक स्वभावका छन्। उसले एकएक गरी तिनको विशेषता बताउँदै गयो।
तिनमा कुनै स्वार्थी,कुनै विश्वासघाती, कुनै
षड्यन्त्रकारी, कुनै नामर्द,कुनै पर्वतारोही,कुनै नेता, अभिनेता, करोडपति, अरबपति,खरबपति,कङ्गाल, चित्रकार, वैज्ञानिक आदि।उसले ती सबैप्रति उदासीनता देखायो,केही बोलेन।
सुवासले सोध्यो, कुन शिर राखौँ ?
एकछिन वातावरण शून्य झैँ भयो। मुर्कट्टा केही निराश भयो।उसले निराशाका प्रतिक्रियाहरू देखाउन थाल्यो।
सुवासले पनि त्यहाँका वैज्ञानिक, प्राविधिक र अनुभवी व्यक्तिहरूसँग परिस्थितिको गम्भीरताको जानकारी गरायो। एकछिनको गहन
विचार विमर्शपछि वैज्ञानिक हरूले मुर्कट्टाले खोजेको शिर बनाउन सकिने बताए ।
सुवास र मुर्कट्टा दुबै खुशी भए।
एउटा खाली खप्पर ल्याइयो त्यहाँ नेपालीपन झल्कने,यहाँका सबै परिश्रमी जातजातिहरूको रगत र पसिना लेपन गरी वास्तविक नेपालीको अनुहार झल्कने शिर तयार भयो।शिरमा रहेका हरेकअङ्गहरूले नेपाल बोलिरहेजस्तो देखियो।
मुर्कट्टाले खुशीले हात ठटाउँदै भन्यो यसको मूल्य कति?
सुवासले भन्यो , यो त अनमोल हो । उसले अन्तिम स्वीकृति दियो, टेबुलमा हात ठटायो‌। शिर आफै आई जोडियो।एउटा सुन्दर, दूरदृष्टि,मधुरवाणीको धनी हेर्दैमा इमान्दार र लगनशील देखिने रुप तयार भयो।
सबै रमाए ,ताली बज्यो।

ढोका ढ्वाङ्ग खुल्यो, सुवास निद्रामै थियो, बाहिर पूर्वको डाँडाबाट रातो सूर्य सुन्दर अनि सुनौलो थालीको रुपमा माथि उक्लिरहेको देखिन्थ्यो। चराहरू भर्खर वासबाट झर्ने तरखरमा थिए,कोही आकाशमा कावा खान थालिसकेका थिए।
सुवासकी श्रीमतीले चिया ल्याइन् र टेबिलमा राख्दै व्यङ्ग्य मिश्रित स्वरमा भनिन्, महाशय!निद्रामा प्रेमलीला अझै सकिएको छैन?
सुवास आँखा उघार्दै ओछ्यानबाट उठ्यो र आँखा तन्काउँदै भन्यो, कस्तो सपना देख्दै रहेछु । कोठाको भित्तामा लहरै सहिदका तस्वीरहरु टाँगिएका थिए,साथमा मार्क्स, बुद्ध,होचिमिन्ह,नेल्सन मण्डेला सँगै टोपी च्यातिएको,फाटेको कछाड र फुटेका खुट्टाले उभिएको नेपालीको तस्वीरहरु, तस्वीरहरुले उसलाई नियालिरहेका थिए।

कथाकार पुराना बामपन्थी नेता हुनुहुन्छ ।