
कथाकार: गोपाल ढुंगेल
अभय भट्टराई जागिरे हुन्छ लेखापालमा करिब डेढ बर्षदेखि कृषि सामाग्री संस्थानमा, बर्ष दिन अघि मात्र उसको त्यही संस्थानमा सहायक पदमा काम गर्ने सिर्जना राईसंग कामको सिलसिलामा भेट हुन्छ । उनीहरुको परिचयको सुरुवातसंगै भेटघाट बाक्लिंदै जान्छ र एक अर्कासंग नछुट्टिने प्रण गर्दै संगै बस्न थाल्छन, संगै बसेर दुबै जनाले लामो समयसम्म जागीर खांदैनन, अभयको दबाबमा सिर्जनाले जागीर छोड्नु पर्ने भो…उनलाई कताकता नियास्रो लागिरहेकै हुन्छ……..
अभय बिध्यार्थी काल देखिकै पढाइमा तेज हुन्छ, ऊ क्याम्पस गएपछी उसको झुकाव बिध्यार्थी राजनीतिमा नपर्ने कुरै थिएन, अखिलको सदस्य भएर ऊ क्याम्पस इकाईको अध्यक्षसम्म बनेको हुन्छ । सिर्जना नि युवा संगठन कि सदस्य हुन्छिन, तर घरको आर्थिक अवस्था अलि नाजुक भएको कारण, उनले संगठन छोडेर जागिर खाएकी हुन्छिन । दुबैको विचार खुल्ला खाले हुन्छ, अझ सिर्जनाको त जोसंग नि तुरुन्तै घुलमिल गर्न सक्ने क्षमता हुन्छ ।…….
भृकुटी चोकदेखी पश्चिम करिब दस मिनेट पर अभयको दुई तले घर छ जम्मा आठ कोठाको त्यो पनि उनका बुवाले मालपोतको खरदार हुँदा बनाएको आमा धेरै अघि बितेकी, बुवा बितेको नि करिब दुई बर्ष भयो । जागिरे भएपछि अभयलाई घरको उचित ब्यवस्थापन र आफ्नो खाने पिउने समय मिलाउन गाह्रोलेगर्दा उनले सिर्जनासंग प्रस्ताव गरेका हुन । उनीहरुको बर्ष दिनसम्मको दैनिकी अत्यन्तै लोभलाग्दो रह्यो…दुबैजना पत्रपत्रिका पढ्ने, क्रान्तिकारी उपन्यासहरु पढ्ने, सिर्जना चाहिँ दैनिक प्राप्त हुने समाचारहरुको विश्लेषण गर्न खोज्ने तर अभय निकै जानेको छु जस्तो गर्ने छलफलमा भाग नलिने है बकबास ! मात्र भन्ने, उपन्यासका पात्रहरुको चरित्र चित्रण सिर्जनाले गरेको देख्दा ट्वाल्ल पर्ने तर सुझाव नदिने सिर्जनाले केही जिज्ञासा राख्लिन कि भनेर तर्किएर हिंड्ने, पहिले त भान्सामा नि सघाउने तर पछि पछि सबै जिम्मा सिर्जनाकै जस्तो गर्न थालेकोले सिर्जनालाई नमिठो लाग्नु स्वभाविकै थियो । सिर्जनाले आफन्त, साथीसंगीसंग अलि लामो फोनगर्दा नि छलिएर सुन्ने, कस्को फोन आयो फेरि भनेर शंका गरि गरि सोध्ने तौरतरिकालेगर्दा सिर्जना झन उकुसमुकुस हुन्थिन ।……….
दुबैजना अहिलेका आधुनिक विचारका धनी, आधुनिकता न भित्रीने कुरै थिएन, घरमा कम्प्युटर मोबाइल जम्मै थियो, सिर्जना दिनभर घरमैं… अभय अफिस गएपछि त झन…घरैले उनलाई टोक्न आइलागे जस्तो हुन्थ्यो… उनलाई…अनि मेसेन्जर, वाट्सएप, फेसबुकमा हराउंथिन उनी, धेरै साथीहरु बनाएकी थिइन उनले, आर्टिकलहरु पठाउने पत्रपत्रिकाहरुमा…संपादकहरुसंग प्रतिक्रिया लिने र दिने आदि कामले उनलाई दिनभरी फुर्सद हुंदैनथ्यो । अभय अफिसबाट आइपुग्नासाथ चिया खाजा तयार गरिहाल्नु पर्ने, बिहानै बेड टि ओछ्यानमैं पुर्याउनु पर्ने ठिक ९बजे खाना तयारी गर्नुपर्ने यो दैनिकीले उनी आजित भइन तर अभय …? उसलाई कुनै मतलबै थिएन । अब त झन ऊ न ठिकसंग भलाकुसारी नै गर्थ्यो न सल्लाह सुझाव नै लिन्थ्यो न दिन्थ्यो । हांसेर गफिएको पनि निकै लामो समय पार गरिसकेको थियो…उनी त खाली फगत एक ओछ्यानको अस्तित्वमा थिइन, आराम गर्न मन लाग्यो गर्यो नत्र दिनभर ओछिई रह्यो…यस हालतमा उनी पुगिन, पिंजडाको सुगा…जत्तिनै फडफडाए नि उड्न नसक्ने।……..
महिना महिना दिनमा अफिसका स्टाफ ल्याएर उ पार्टी गर्थ्यो भुइँ तलाको कोठामा, जम्मै कोठाहरु खाली थिए, उसले भाडा लगाएको थिएन, उसको मनमा घरीघरी एउटै कुरो खेल्थ्यो उसको जुन सरल ढंगले सिर्जनालाई भित्र्याएं त्यही ढंगले उनी जाने त होइन ?…पसल जान पनि भरसक नजाओस…पसले र अरु मान्छेसंग कुरा नगरोस ऊ त्यही विचारमा रहन्थ्यो ।…….
महिना दिने पार्टी उसको घरमा हुंदा सिर्जनाले तलका कोठाहरु जम्मै सफा गर्नु पर्थ्यो…अलिकति नि नसघाउने अभय, के जीवन यस्तो भन्ने वेदनामा उनको मन कुंडिइ रहन्थ्यो। अभयका अफिसका स्टाफहरु आउंथे…बियर पार्टी चल्थ्यो, सबै गफिन्थे तर सोफाको छेउमा बसेर भेलामा आफ्नो नि मत राख्न खोज्दा “जाउ किचनमा…मासु डढ्यो कि ? जाउ पकौडा ल्याउ…यो चिकन चिसो भयो, तताएर लिएर आउ भनेर सिर्जनालाई आदेस दिन्थ्यो । उसका साथीहरु पार्टी सिध्याएर हिंडेपछि सिर्जनाको प्रश्न हुन्थ्यो “मलाई किन बोल्न दिंदैनौ त ? “भन्दा,…तिमीलाई के थाहा ? “यिनीहरु आवारा हुन…आवारा अरुको बुढिको कुरो अफिसमा खुब जमेर गर्छन अनि स्वाद लिइ लिइ मजा लिन्छन् ! “…अनि किन तिमी तिनीहरूलाई ल्याएर यहाँ भोज गर्छौ त ? भन्दा केहि उत्तर उनले पाउंदिनन । आफू अब पुरै कैद भएको अनुभूति उनलाई हुन थाल्यो…ठूलठूला साङ्लाले आफू जकडिएको पाइन, भनौं कसलाई ? आफ्नै खुसी र आफ्नै चाहनाले गर्दा, नदीले विपरीत किनारमा ल्याई नराम्रोसंग पछारेको थियो उनलाई, अभयको अनुहार संझदा नि अब उनलाई मुटु नै निचोरिएको हो कि जस्तो हुने हुन्थ्यो ।…….
असोजको महिना दसैं नजिकै मुखैमा आयो, बिराटनगर झकी झकाउ हुन थाल्यो…किनमेल गर्नेहरूको घुइँचो । अभयले पनि दसैं खर्च, पेश्की र महिनाको तलब गरेर टन्नै पैसा बुझ्यो…अब दसैंको खरिदारी गर्न र भारी बोक्न सिर्जनालाई जाउं भन्यो दुबै गए, बेला अलि घर्की सकेकाले किनमेल गर्दागर्दै रात पर्यो। कुनै साधन नहुंदा पोको बोकेर सिर्जना अघि के बढेकी थिइन, अंध्यारोमा कसैले भन्यो “दिनु होस, यो पोको म पुर्याई दिन्छु जत्ती इच्छा लाग्छ दिनुहोला नि भनेर पोको लियो, कहाँ पुर्याउनु पर्ने ? “भनेर सोध्यो, अभयले अघि बढेर “भृकुटी चोकबाट दस मिनेट पश्चिम् भन्यो ।
करिब नौ बजे उनिहरु घर पुगे, जाडो पलाउन सुरु भइसकेको थियो, उसको शरीरमा भएको कपडा देखेर दुबैलाई माया लाग्यो र सिर्जनाले अभयको थन्क्याएर राखेको पुराना कपडा झिकेर दिइन, पैसा दिन खोज्दा लिनै मानेन, उनीहरु खाना खाएर अब सुत्ने तर्खरमा लागे। अभयले त्यो पोको बोक्नेसंग आएर भने “यति राती कहाँ जान्छौ, यहि तलको कोठा खाली छ रात बिताउ “भनेर केही बांकी रहेको खाना ख्वाए ।…उज्यालो भयो अभय तल आए र भने “तिमीलाई त नाम सोध्नै बिर्सिएंछु, के नाम हो ? भने, उसले सर मेरो नाम प्रकाश हो.. “.प्रकाश रम्तेल“ टोलाएझैं भयो अभय “बेकार दिएंछु बास बस्न भन्दै खाना खाएर अफिसतिर लाग्यो…सिर्जनाले प्रकाशलाई खान दिइन औधी खुसी भएर घरमा रहेको करेसा बारि र आंगनमा रहेको फूल बारीको कांडा झारहरु उखेलेर सफा पार्यो उसले, घरको सबै सफाइको काम सिध्याएकोमा सिर्जना नि औधी रमाईन अनि सोधिन तिम्रो बारेमा भन भन्दा उसले सुरु गर्यो “म क्वालिटी बिस्कुट फैक्टरी दुहबीमा काम गर्थें घर चाहिँ धनकुटा ।“एकदिनको कुरो, मेरो अभागी कर्म, बिस्कुट बनाउने मैदामा अलि बढी पानीले मुछिएछ, मैदा गीलो भयो अनि त के मलाई कामबाट पैसै नदिइ निकाल्यो साहुले, बुवाले बुकुरो भएको ठाउंको जग्गा बेंकमा राखेर मलाई मलेसिया पठाउनु भयो, त्यहाँ पुगेर मेरो मेडिकल टेस्ट भयो, म अनुपयुक्त भएं, बेंकले जग्गा लिलाम गर्यो “भनेर लामो सास तानेर आकाश तिर हेर्यो, आकाशमा काला बादल पानी बोकेर उत्तर्तर्फ जाँदै थिए ।
उसले सिर्जनाको अनुहार हेर्यो, अबोध बालकले झैं अपलक उसलाई हेरिरहेको देखेर उसले फेरि भन्न थाल्छ “मेडम बिस्कुट फेक्टरीभन्दा पहिले मैले सोनापुरको अरिहन्त मल्टी फाइबरमा काम गर्थें, त्यहां पांचसय मजदुरको म प्यारो थिएं, मजदुरको ज्याला वृद्धि र बोनसको सवाल लिएर ठूलो आन्दोलन भयो, भोक हडतालसम्म भयो, केन्द्रिय मजदुर नेताहरु नि प्रतिनिधि भएर आए, मिल मालिक र केन्द्रिय प्रतिनिधिको बिच के वार्ता भयो ? हामी मुख्य मुख्य मजदुरलाई बोलाइएन, हामी तीन जना साथीलाई अराजक गतिविधि गरेको ? मजदुर भडकाएको आरोपमा,निश्कासनमा पारे “उसको आंखामा सिर्जनाले हेरिन,सत्यताले उसको अनुहार भरिएको पाइन । अनि अभयसंग तुलना गर्न थालिन,कहाँ प्रकाशको निश्चल मन अनि कहाँ अभयको कपटपूर्ण ? अभय उनीसंग खुलेर नबोलेको महिनौं भइ सकेको थियो,के अब उनीप्रतिको आकर्षण उसले रित्याएको हो ? यिनै प्रश्नहरु बिच एउटा अठोट लिन्छिन । अनुहारमा बिश्वास र भरोसाको भाव प्रष्ट देखिन्थ्यो उनको ।…….
अभय अफिसबाट आउंछ,आंगनमा पस्नासाथ उसले देख्छ, फूलबारीमा झार, कांडा उखेलेर सफा पारेको,घर पछाडिको करेसाबारी पनि खनेर झार फ्यांकेको यो कसले गरेको भनेर बुझ्न उसलाई गाह्रो भएन। “हन अझै गएको छैन त्यो….? “छैन, अब जान नि नदिने,भन्दै सिर्जनाले माथ्लो तल्लाको ढोका उघारिन,यति सहयोगी,यति सरल मान्छे अचेल कहाँ पाउनु भन्छिन, अभयलाई यो सब मन नपरेको भान उसको अनुहारले भनिरहेको थियो र पनि प्रकाशको काम देखेर उ चुप लाग्न बाध्य हुन्छ…….
दुई महिना भइ सकेको हुन्छ, प्रकाश त्यहाँ बसेको, आंगनमा सयपत्री र गोदावरी ढकमक्कै फूलेका छन, करेसाबारीमा धेरै प्रकारका तरकारीका बोट बिरुवाले हरियाली छाएको छ। के भएर हो ? प्रकाशलाई सांझदेखी ज्वरो आउँछ निकै नै हनहनी, अभय न थाहा पाए झैं गर्छ तर सिर्जनालाई भने दुख को पहिरो नै गएको भान भइरहेको हुन्छ, सिर्जनाले जीवनका जतिपनी सुख दुखका भोगाइ छन प्रकाशसंग कुरा गरेकी हुन्छिन, प्रकाश पनि सिर्जनालाई कुनै पनि शारीरिक काम गर्न नदिने गरेपनी आफू सहभागी हुने जहिले नि हांसेर मात्र बोल्ने, त्यत्रो चोट खाएको जीवन अचम्म लाग्थ्यो उनलाई…राती आच्छु आच्छुको आवाजले उनी उठ्छिन र बाक्लो सिरक लिएर तल झर्छिन, घर्याक ढोका खोलेको आवाजले अभय ओछ्यानबाटै को हो तल ? “भनेर चिच्याउंछ।सिर्जनाले सिरक ओढाएर माथी आउंछिन अभय त्यतिखेर केही बोल्दैन । भोलिपल्ट अफिस जाने बेलामा सिर्जनालाई बोलाएर भन्छ “यसलाई हटाउ यहांबाट मलाई ठिक लागिरहेको छैन, तिमी नि हिजो राति किन गएकी तल ? “बिहान जान सक्दिन थियौ ? “भनेर झ्वांकिदै बाटो लाग्छ। कस्तो निच सोच! मानवता हराएको मान्छे, उनी भुतभुताउंछिन अब एउटा निर्णयमा पुग्नै पर्छ भन्ने विचारले पकड जमाउंदै गयो उनको मनमा ।…….
अभय अफिसबाट फर्कन्छ,उनी हातमा चियाको कप बोकेर भन्छिन“म नि काम खोज्ने हो यसरी घरमा कोच्चिएर के बस्नु ? “उनको कुराले अब अभयको मन बहुलाउन खोज्छ…ला पालेको सुगा उड्छ कि क्या हो ? एकछिन नि नसोची उसले “हुन्न “भनेर नकारात्मक प्रतिक्रिया दिन्छ । सिर्जनाले दुई महिना अघि नै जागिरकालागी होण्डा कंपनीमा अनलाइन आवेदन भरेर बायोडाटा पठाइ सकेकी हुन्छिन, उनले त अब पनि केही मेरो निम्ति माया अभयले सांचेको छ कि भनेर परिक्षण मात्र गरेकी थिइन, उत्तर के आउँछ भन्ने नि उनलाई थाहा थियो…यति मात्र होइन यो मान्छे मेरो शरीर र घरेलु कामको निम्ति मात्र मसंग प्रेमको नाटक गर्दो रहेछ रआफू कसरी फसियो भन्ने पूरा बोध भयो उनलाई…खोइ समानता ? केमा बराबरी ? उनले आफ्नो प्रश्नको उत्तर पाए जस्तो गर्छिन र मुसुक्क मुस्कुराउंछिन ।…….
दुई दिनपछी नै उनको नियुक्ती पत्र अनलाइन मार्फत पाउंछिन, उनी अब पूरै युद्ध-मोर्चामा खटिएको सैनिक जस्तो देखिन्छिन…बिहानै अभयको बेड टि को समयमा अभय नेर आउंछिन र भन्न सुरु गर्छिन “मैले तिमी फर्किन्छौ कि भन्ने बाटो, मेरो अन्तिम निर्णयसम्म कुरें तर …तर तिमी फर्केनौ, अभय ! हो,मलाई सिर्फ एउटा मांसल देह मात्र संझियौ,म सिर्जना… भित्रको नारी मनलाई तिमीले कहिले बुझ्ने प्रयास गरेनौ…ईच्छा हुंदा आफू खुसी खेल्ने मात्र काम तिम्रो निरंतर जारी रह्यो…त्यसैले अभय आज अहिलेबाट म जांदैछु…मलाई नखोज्नु,तिमीसंग मेरो कुनै साइनो छैन“ भन्दै ढोकाबाट बाहिर निस्किन, गेटको ढोकामा पुग्दा मस्तले फक्रीएको गुलाफले बाइ-बाइ गरेर हल्लिरहेको थियो,गेटको पल्लाले ढ्याङ गरेको आवाज आयो…एकैछिनमा उनी चोक पुगिसकेकी थिइन, “ए ! रिक्सा दुई जनाको एअरपोर्ट गएको कति लिने हो ?” भृकुटी चोकको दायाँ बायाँ बाटामा उनीहरुको स्वागतकालागी,सिरिषका राता फूलहरु ढपक्कै फूलेर, रुखहरु ठिङ्ग लामबद्ध अनुशाशित भइ उभिएका थिए…रिक्सा अत्यन्तै स्वभाविक ढंगले अगाडि बड्दै गयो…अगाडि बड्दै गयो।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि